बैंकर्सले भने-मध्यावधी समिक्षाले राहत दियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समिक्षा मार्फत राहत दिएको प्रतिक्रिया बैंकर्सहरुले दिएका छन् । बैंकर्स एसोसियसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले सीसीडी रेसियो गणनाको सुबिधाले बैंक तथा वित्तिय संस्थाहरुले राहत महसुश गरेको बताए । ‘समसामयिक रुपले मौद्रिक नीति आएको छ, सीसीडी रेसियोको दैनिक गणना तर मासिक हर्जनाको सुबिधाले राहत पाएका छौं’, नेपाल बंगलादेश बैंकका सिईओ समेत रहेको बैंकर्स संघका अध्यक्ष ढुंगानाले विकासन्युजसँग भने । उनले सरकारी संस्थानहरुले बाणिज्य बैंकमा खाता खोलेर रकम जम्मा गर्ने व्यवस्थाबारे अध्ययन अघि बढाउने कुराले पनि बैंकिङ क्षेत्रमा उत्साह थपेको प्रतिक्रिया पनि दिए । गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले पनि मौद्रिक नीतिको मध्यावधि समिक्षाबाट राहत नै मिलेको बताए । उनले लगानी योग्य पुँजीको अभावले बैंक तथा वित्तिय संस्थाहरु निरुत्साहित भैरहेको अवस्थामा मध्यावधि समिक्षाले केहि उत्साह थपिदिएको प्रतिक्रिया दिए ।

विदेशी व्यक्तिसँग ५ लाख डलरसम्म ऋण लिन पाइने, तरलता संकटमा राहत

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी व्यक्ति तथा संस्थाहरुसँग पाँच लाख अमेरिकी डलरसम्म ऋण लिने सुबिधा उपलब्ध गराएको छ । अब नेपाली नागरिकहरुले विदेशी व्यक्ति वा संस्थाहरुसँग नेपाल राष्ट बैंकको पुर्व स्वीकृति लिएर पाँच लाख डलरसम्म ऋण लिन सक्नेछन् । भारतीय मुद्राको हकमा भने पाँच करोड भारुसम्म ऋण लिन सकिनेछ । तर त्यस्तो ऋण वा सापटी लिनु अघि नेपाल राष्ट्र बैंकसँग स्वीकृति भने लिनुपर्नेछ । मुलुकमा देखिने गरेको तरलता अभावको समस्या समाधानका लागि यो नीति फलदायी हुने केन्द्रिय बैंकको दावी छ । यस्तो नीतिले अजेयराज सुमार्गीलाई समेत लगानी भित्र्याउने बाटो सहज गरिदिएको देखिन्छ । उनले विदेशबाट ऋणका रुपमा भित्र्याउन खोजेको अरबौं रकम केन्द्रिय बैंकले अड्काएको थियो । गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले विदेशबाट ऋण ल्याउन सकिने व्यवस्था गरिएको भएपनि फिर्ता लैजानेबारे भने कुनै ठोस व्यवस्था नगरिएको बताए ।

कमोडिटिज एक्सचेञ्जः विदेशी कम्पनीको आवेदन, लगानी जुटाउँदै स्वदेशी

काठमाडौं । नेपालमा कमोडिटिज एक्सचेञ्ज सेवा सञ्चालनका लागि एउटा विदेशी कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिएको छ । यस अघि सेवा सञ्चालन गरिरहेका तीन वटा नेपाली कम्पनी भने लगानी जुटाउने अन्तिम कसरतमा छन् । हाल मर्कन्टाइल एक्सचेञ्ज, नेपाल डेरिभेटिभ एक्सचेञ्ज र डेरिभेटिभ एक्सेचञ्ज नेपाल गरि तीन वटा कम्पनीले कमोडिटिज एक्सचेञ्जको काम गरिरहेका छन् । तर मंसिर ९ गतेपछि भने यी कम्पनीहरुले नयाँ कारोबार गर्न पाएका छैनन् । धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेका अनुसार बेलायतको जिमेक्स कम्पनीसँगको सहकार्यमा नेपाल कमोडिटिज एक्सचेञ्ज कम्पनीले पुर्व स्वीकृतिका लागि निवेदन दिएको हो । एक महिना अघि निवेदन दिएको कम्पनीमाथी हाल बोर्डले आवश्यक अध्ययन गरिरहेको छ । डेरिभेटिभ एक्सचेञ्ज नेपालका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र बाँस्कोटाले पनि लगानी जुटाउने काम अन्तिम चरणमा पुगेकाले आगामी २ हप्ताभित्रै धितोपत्र बोर्डमा निवेदन दिने जानकारी दिए ।‘लगानीक जुटिसकेको छ, कागजात तयारी गर्दैछौं, एकाध हप्तामै अनुमतिका लागि बोर्डमा निवेदन दिन्छौं’, सिइओ बाँस्कोटाले भने । त्यस्तै, नेपाल डेरिभटेटिभ एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत रविशंकर सिंहले पनि आगामी हप्ता धितोपत्र बोर्डमा स्विकृतिका लागि निवेदन दिने बताए । ‘केहि एनआरएन, केहि वित्तिय संस्था र पुरानो कम्पनी मिलेर लगानी जुटाएका छौं, केहि दिनभित्रै निवेदन दिन्छौं’, एनडेक्सका सिइओ सिंहले विकासन्युजसँग भने । धितोपत्र बोर्डले मंसिर ९ गतेदेखि कमोडिटिज् मार्केट्स सम्बन्धी नियमावली कार्यान्वयनमा ल्याएको थियो । सो नियमावली अनुसार कमोडिटिज सम्बन्धी कारोबार गर्ने कम्पनीले ५० करोड पुँजी पुर्याएर २५ हजार दस्तुरसहित कम्पनी दर्ताका लागि धितोपत्र बोर्डमा निवेदन दिनुपर्छ । बोर्डका सहायक प्रवक्ता घिमिरेका अनुसार कमोडिटिज मार्केट सञ्चालन गर्न चाहने कम्पनीले प्रबन्ध पत्र, सम्भाव्यता अध्ययन रिपोर्ट, तीन बर्षको व्यवसाय सञ्चालन योजना, लगानीको श्रोतसहितको विवरण खोलेर निवेदन दिनपर्छ । बोर्डले पुर्व स्वीकृति दिएपछि मात्रै कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गर्न पाइन्छ । बोर्डले वस्तु विनिमयबजार सञ्चालन गर्ने संगठित संस्थाको चुक्तापुँजी ५० करोड रुपैयाँ, वेयर हाउसको १५ करोड, राफसाफ तथा फस्र्यौट व्यवसायको सात करोड, लगानी व्यवस्थापकको पाँच करोड, लगानी परामर्शदाताको एक करोड तथा वस्तु कारोबार दलालको ५० लाख रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ ।