८ विमानस्थल बनाउँदै नागरिक उड्डयन, यस्ता छन् नयाँ बन्ने विमानस्थलहरु

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशका विभिन्न दुर्गम क्षेत्रमा हवाइसेवा सञ्चालन गर्न ८ वटा नयाँ विमानस्थल निर्माण गर्ने भएको छ । प्राधिकरणले साना र ठुला गरी ८ वटा विमानस्थल निर्माण गर्न लागेको हो । प्राधिकरणले सोलुखुम्बुको गुदेल, हुम्लाको भदनाखोल, पाँचथरको चिहान डाँडा, उदयपुरको जोगी डाँडा, धनकुटाको बेलहारा, धरानको गोपाल डाँडा, तेह्रथुम र अर्घाखाँचीमा विमानस्थल निर्माण गर्न लागेको हो । अधिकांश स्थलमा साना ‘स्टोल’ एयरपोर्ट बन्ने एरोड्रम इन्जिनियरिङ विभागका उपप्रबन्धक नलविक्रम थापाले बताए । स्टोल एयरपोर्टमा तीन वटाम्म विमान अट्न सक्छन् । बन्ने नयाँ विमास्थलमा १६ देखि १८ सिट क्षमताको टिविनेटर, ड्रोन सञ्चालन गर्न सकिने थापाले जानकारी दिए । धरानको गोपाल डाँडामा ठुलो विमानस्थल बन्नेछ । यसमा ३५ देखि ४२ जना क्षमताको विमान अवतरण गर्न सक्नेछ । ‘नयाँ विमानस्थल निर्माण गर्ने कुराले स्थानीय वासिन्दा हर्सित भएका छन्, कतिपय स्थानमा जनताहरु आफैंले विमानस्थल निर्माण गर्न र जग्गा समेतको प्रबन्ध गर्ने गरेका छन्’ इन्जिनियर थापाले विकासन्यूजसँग भने । नयाँ निर्माण हुने विमानस्थलको धमाधम काम अगाडी बढिरहेको छ । केही विमानस्थलको वातावरणिय प्रभाव मूल्याङ्कन भैसकेका छन् भने केही यसको प्रक्रियामा रहेका छन् । प्रधिकरणले साना विमानस्थल निर्माणको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) का लागि बोलपत्र नगरिकन परामर्श दातालाई सिधै छनोट गर्न सक्छ । यसैगरी नेपालको सबैभन्दा धेरै विमानस्थल रहेको सोलुखुम्बु जिल्लामा बन्ने गुदेल माहाकुलुङ विमानस्थलको निर्माण कार्य अघि बढेको छ । प्रधिकरणले सो स्थानमा निर्माण हुने विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कनको लागि स्थानीय वासिन्दालाई फागुन १९ गते सार्वजनिक सुनुवाई कार्यक्रम राखेको छ । यस्तो बन्नेछ गुदेल माहाकुलुङ विमानस्थल गुदेल विमानस्थल सोलुखुम्बु जिल्लाको माहाकुलुङ गाँउपालिका वडा नम्बर ४ मा रहनेछ । विमानस्थल समुन्द्र सतहदेखि २०६० मिटरमा अवस्थित रहनेछ । सो स्थलको लम्बाई ७५० मिटर लम्बाई र चौडाई १०० मिटरको हुनेछ । यस विमानस्थलको निर्माण सम्पन्न गर्न १ अर्ब १६ करोड रुपैंया खर्च लाग्नेछ । यस विमानस्थलमा ३ वटा विमान अट्ने क्षमता राख्दछ । यस विमानस्थल ६० हेक्टर जमिनमा फैलनेछ । सोलुखुम्बुमा हाल ५ वटा विमानस्थल रहेका छन् ।

मध्य चैतमा १७ वटा ठुला बस, महिलालाई ड्राइभिङ गर्ने अवसर

काठमाडौं । राजधानीमा आउदो चैत १७ गते १७ वटा ठुला बस आइपुग्ने भएका छन् । दिगो सहरी यातायात प्रालिले २०७५ वैशाख १ गतेदेखि सञ्चालनमा आउने गरि ठुला बसहरु ल्याउने तयारी गरेकाे हाे । सञ्चालनमा आउने ठूला बसबाट ४० जनालाई रोजगारीको अवसर सिर्जना भएको छ । प्रालिले रोजगारीका लागि महिलाहरुलाई अवसर दिने जनाएको छ । ‘१७ बस सञ्चालनका लागि २० चालक र २० सहचालक आवश्यक छ, यदि ४० जना नै महिला चालक र सहचालक भेटियो भने हामी सबै सेवा महिलाबाट नै प्रदान गर्छौ’ आयोजनाका प्रमुख लालप्रसाद गुरागाइले बताए । ‘अहिले बस ड्राइभिङ गर्ने कर्मचारी पाउन गाह्रो छ, हामीले सरकारसँग पनि राय मागिरहेका छौं, विशेषगरी महिला चालक र सहचालकबाट हामीले सेवा दिन खोजेका हौं” उनले भने “यसले सवारी साधनमा हुने महिला हिंसामा पनि कमि आउँछ ’ अहिले यातायातले बसमा सामाजिक सचेतनाका लागि कस्ता किसिमको स्टीकर टाँस्ने भन्ने विषयमा छलफल भैरहेको जनाएको छ । सञ्चालनमा आउने १७ वटा बस पार्किङका लागि अहिले एसियाली विकास बैंक (एडिबी)ले ‘डिपो’ निर्माण गरिरहेको छ । बस खरिद गर्न प्रालीले १० करोड रुपैंया खर्च गरेको छ । खरिदका लागि नगर विकास कोषले ८० प्रतिशत ऋण दिएको छ भने एसियाली विकास बैंकले १५ प्रतिशत अनुदान दिएको छ । बाँकी ५ प्रतिशत दिगो सार्वजनिक यातायात प्रालीको लगानी रहेको छ । प्रालिले ५० लाख रुपैंया जम्मा गरेर नगर विकास कोषसँग ऋण सम्झौता गरेको हो । आयोजनाले पाइलट प्रोजेक्टका रुपमा अघि सारेको यो रुटलाई एस ५ नाम दिएको छ । बसमा यस्तो सुविधा हुनेछ ५० यात्रु क्षमताको बसमा २४ वटा पेसेन्जर सिट, एउटा ह्विचर बेस रहनेछ । ती बसहरुमा लोकेशन पत्ता लगाउने जिपिआरएस, सिसिटिभी, ट्राफिक सेन्सर जडान गरिएका हुनेछन् । बस गुड्ने रुट ५० यात्रु क्षमताका बस मात्रै गुड्ने रुट सिनामंगल–पुरानो बानेश्वर–मैतीदेवि–डिल्लीबजार–रत्नपार्क–लैनचौर–सामाखुसी–गंगबु हुँदै नयाँ बसपार्कसम्म सञ्चालन हुनेछ । यो रुट १०.२ किलोमिटरको हुनेछ । पुनः सोही बस नयाँ बसपार्कबाट गंगम्बु–गल्कोपाखा–लैनचौर–जमल–तिनधारा–कमलपोखरी–ज्ञानेश्वर–मैतीदेवि–पुरानो बानेश्वर हुँदै सिनामंगल पुग्नेछ । यसको लम्बाई भने ८ दशमलब ९ किलोमिटरको हुनेछ ।यो रुटको रत्नपार्क–लैनचौर–बसपार्क खण्डमा हाल २६ वटा माइक्रो सञ्चालनमा रहेका छन भने सिनामंगल–पुरानो बानेश्वर–रत्नपार्क खण्डमा ३५ वटा टेम्पो सञ्चालनमा छन् । विवाद मिलिसक्यो सो रुटमा चलिरहेको ३५ वटा टेम्पो र ३६ वटा माइक्रो सञ्चालकबिच विवाद मिलिसकेको प्रालिले जनाएको छ । ती माइक्रो तथा टेम्पोलाई प्रालीले पहिचान गरेको ६४ रुट मध्येको सी ग्रेडका रुटहरुमा स्थानान्तरण गरिनेछ । यस्तो छ प्रालिले पहिचान गरेको रुट एडिबीसँगको सहकार्यमा प्रालीले उपत्यकामा ए, बी र सी ग्रेड गरि ६४ वटा रुट पहिचान गरेको छ । १० मिटर भन्दा चौडा सडक भएको र दैनिक एक लाख यात्रु आवत जावत गर्ने सडकलाई ए ग्रेडमा राखिएको छ । त्यस्तै, ६ मिटरदेखि १० मिटरसम्म चौडाई भएको र ५० हजार देखि एक लाखसम्म यात्रु आवात जावत गर्ने सडक लाई बी ग्रेडमा राखिएको छ । ६ मिटर भन्दा कम चौडाई भएका साना गल्लीहरुलाई भने सी ग्रेडको सडकमा वर्गिकरण गरिएको छ । ए ग्रेडमा ठुला बस, बी ग्रेडमा मझौला बस र सी ग्रेडका सडकमा साना सवारी साधन सञ्चालन गर्ने तयारीका साथ योजनाले ६४ वटा सडकको तथ्यांक निकालेको हो । त्यसमा ६ वटा ए ग्रेडका रुट, १६ वटा बी ग्रेड र ४२ वटा सी ग्रेडका सडक छनौट गरिएका छन् ।

डेढ महिनामा अमेरिकी डलर ३ रुपैयाँ महंगियो, राष्ट्र बैंकले तोक्यो १ डलर बराबर १०४.६०

काठमाडौं । डेढ महिनायता अमेरिकी डलर पुनः मजवुत भएको छ । डलर मजवुत भएर १ डलर बराबर १०४ रुपैयाँ ६० पैसाँ पुगेको छ । गत पुस मसान्तमा डलरसंग नेपाली रुपैयाँ मजवुत भएको थियो । त्यसबेला डलर १ को खरिद विनिमय दर १०१ रुपैयाँ ५२ पैसा थियो ।     डेढ महिनामा नेपाली रुपैयाँ डलरसंग ३ रुपैयाँ ८ पैसा कमजोर भएको छ । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले १ डलर बराबर १०४ रुपैयाँ ६० पैसा बिक्री मूल्य तोकेको छ । माघयता डलर कमजोर हुन थालेको हो । गत असारको तुलनामा पुस मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग १.३ प्रतिशतले अधिमूल्यन भएको थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर १.७ प्रतिशतले अवमूल्यन भएको राष्ट्र बैैंकले जनाएको छ । गत पुस मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १०१ रुपैयाँ ५२ पैसामा झरेको थियो । गत असार मसान्तमा उक्त विनिमय दर १०२ रुपैयाँ ८६ थियो । भारतीय अर्थतन्त्र कमजोर हुदै गएका कारण भारुको अवमूल्यन भएपछि यसको असर नेपाली रुपैयाँमा परेको हो । नेपाली रुपैयाँ र भारुबीच स्थिर विनिमय दर (फिक्सड पेग ) भएका कारण भारु कजोर हुनसाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ । रिजर्व बैंक अफ इन्डिया (आरबीआई) ले बिहीबार १ डलर बराबर ६५ रुपैयाँ १० पैसा भारु बिक्री मूल्य तोकेको छ । गत पुसको अन्तिमसाता भारु मजवुत भई १ डलर बराबर ६३ रुपैयाँ ४८ पैसामा झरेको थियो । डलर कमजोर हुँदाका फाइदा डलर कमजोर भएपछि आयातित वस्तुको लागत सस्तो हुन गई उपभोक्ता मूल्य घट्छ । यसले गर्दा उपभोक्तालाई फाइदा हुन्छ । गत आर्थिक वर्षमा उपभोक्ता मूल्यवृद्धि कम गराउने एउटा तत्व डलर कमजोर भएकाले हो । गत वर्ष उपभोक्ता मूल्यवृद्धि ४ प्रतिशत तल रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । सरकारले साढे ७ प्रतिशतमा सीमिति गर्ने भनेको थियो । यस्तै राज्यले विदेशी दातृनिकायसंग लिएको ऋणको भार पनि कम हुन्छ । डलर कमजोर भएका कारण गत आर्थिक वर्षमा विभिन्न दातालाई दिने सावाँ र ब्याज फिर्ता १६ अर्ब रुपैयाँ कम भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकट सस्तो हुने गरेको छ । विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि कम हुन्छ । गत वर्ष नोक्सान कम हुनुको एउटा कारण डलर कमजोर हुनु हो । डलर कमजोर हुदाका वेफाइदा आयात बढेर भुत्तानी सन्तुलनमा असर पर्छ । वैदेशिक रोजगारीमा जानेले पठाउने रेमिट्यान्स आप्रवाहमा कमी आउने र कामदारलाई नोक्सान हुने देखिन्छ । यस्तै विदेशबाट प्राप्त हुने पेन्सनवापतको रकम आप्रवाहमा कमी हुन्छ । निर्यातबाट प्राप्त हुने डलर आम्दानी कम हुन्छ । सरकारको भन्सार राजश्वमा कमी, पर्यटकलाई नोक्सान हुने देखिन्छ । यस्तै ठुला होटलको आम्दानीमा केही कमी हुन्छ ।