नागरिकको आर्थिक सुरक्षाको जिम्मेवारी राज्यले लिन्छः अर्थमन्त्री खतिवडा
मान्छेको क्षमताको पहिचान संकटका बेलामा हुन्छ । जतिसुकै संकट र समास्या आएपनि हाम्रो टिमले समाधान गर्न सक्छ भन्ने मलाई लागेको छ । म एउटा विकासवादी चिन्तन गर्दै आएको व्यक्ति हुँ । मेरा केहि मान्यताहरु छन्, ती समकालिन अभ्यासहरु भन्दा धेरै टाढा छैनन् । समय, परिस्थिती र राजनीतिक प्रणालीले अघि सारेका नयाँ कुराहरु बाहेक हामीले धेरै कुराहरु हिजोकै निरन्तरताका रुपमा अघि बढाउने हो । हामीले गर्ने नयाँ काम बारे प्रधानमन्त्रीको निर्देशनपछि अघि बढाऔंला । आज कार्यभार सम्हालिरहँदा मेरा केहि योजनाहरु छन् । हामीलाई आर्थिक नीतिको स्वरुप कस्तो हुन्छ भनेर बहस गर्नुपर्ने अवस्था छैन् । संबिधानमा उल्लेख गरिएका मौलिक हक र संबिधानमा लेखिएका राज्यका निर्देशक सिद्धान्तहरुको कार्यान्वयन हाम्रो दायीत्व हुनेछ । दोश्रो कुरा अहिले हामी बाम गठबन्धनका तर्फबाट सरकारमा सहभागी भएका छौं । हामीले चुनावी घोषणा पत्रमा जनतासँग गरिएका प्रतिवद्धताहरु पुरा गराउनुपर्नेछ । हाम्रा केहि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिवद्धताहरु छन् । निश्चित समयमा निश्चित उपलब्धि हासिल हुन्छ भनेका छौं । त्यो लक्ष्य पुरा गराउन लागिपर्नु पनि हाम्रो दायीत्व हुनेछ । अहिलेको संबिधानले मार्ग निर्दिष्ट गरे अनुसार सरकारका भूमिकाहरु निश्चित छन् । हामीले लोक कल्याणकारी राज्य हुँदै समाजवाद उन्मुख राज्य निर्माणको बाटोमा अघि बढ्नुपर्नेछ । तत्कालका लागि राज्यको भूमिकालाई अग्रणी, नेतृत्वदायी र अभिभावकिय बनाउन्ै पर्नेछ । साच्चै भन्ने हो भने सबै नागरिकको आर्थिक रुपमा सुरक्षा दिने जिम्मेवारी राज्यले लिन्छ र त्यसका लागि निजी क्षेत्र, सहकारी र सामुदायीक क्षेत्रसँग सहकार्य गर्छ । ती सहकार्यहरु परिपुरक हुनेछन् । हामी सबैसँग सहकार्य गरेर अघि बढ्न चाहान्छौं । अर्थतन्त्रमा केहि समस्याहरु छन्, केहि विकृतिहरु प्नि छन् । सरकारी वित्त व्यवस्थापनमा रहेका विकृतिहरुको अन्त्य गराउनुपर्नेछ । म आफैं पनि वित्त अनुशासनको पक्षपाती मान्छे हुँ । आर्थिक क्षेत्रका अनियमिताहरुको अन्त्य भएन भने समृद्धि तर्फ जान सकिँदैन् । त्यसले गरिबी निवारणका हाम्रा लक्ष्य पुरा हुन पनि दिँदैन् । त्यसकारण हामी सरकारी वित्त प्रणालीमा अनुशासन र पारदर्शिता ल्याउँछौं । खर्चको प्रभावकारीता ल्याइनेछ । समग्रमा भन्ने हो भने वित्त व्यवस्थापनमा कुशलता र पारदर्शिता ल्याइनेछ । वित्तिय प्रणालीमा पनि धेरै काममा स्थायीत्व ल्याउनुपर्नेछ । साधन श्रोतलाई उत्पादनशिल क्षेत्रमा लगाउनुपर्नेछ । काम र उत्पादनका अवसरहरुको सृजना गराउनुपर्नेछ । हामीसँग भएको सिमित श्रोत साधन त्यस तर्फ लगाएनौं भने निर्यातले आयातको सात आठ प्रतिशत पनि धान्न नसक्ने अवस्था छ । त्यसले भुक्तानी असन्तुलनको अवस्था सृजना भैरहनेछ । यो बाह्य कारणले उत्पन्न भएको होइन । हाम्रो ढंगले आर्थिक व्यवस्थापन गर्न नसकेकाले यस्तो समस्या आएको हो । जति पनि हाम्रा संरचनात्मक समस्या छन तिनको समाधान गरेर वित्तिय स्थायीत्व ल्याइनेछ । अर्काे कुरा भनेको उच्च आर्थिक वृद्धिदर कायम गराउनु पर्नेछ । त्यसको आधार भनेको निजी क्षेत्र नै हो । आन्तरिक तथा बाह्य निजी क्षेत्रको लगानी भित्र्याएर उच्च दरको आर्थिक वृद्धिदर कायम गराइनेछ । हामीले परिकल्पना गरेका विकास र पुर्वाधारका आयोजनाहरुको कार्यान्वयन, समाजिक न्याय सहितको विकासका लागि निजी क्षेत्रलाई प्रोत्सहन गरिनेछ । नीतिगत सुधारहरुलाई अनुकुल बनाइनेछ, प्रशासनिक सुधारलाई तिब्रता दिइनेछ । लगानी बोर्डलाई अझ सक्रिय र प्रभावकारी बनाइनेछ । नीजी क्षेत्रसँग सम्बन्धित निर्णय प्रक्रियालाई अझै सहज बनाइनेछ । हामीले जति सुकै जे भने पनि अन्तराष्ट्रिय सहयोग र लगानी बिना उल्लेख्य प्रगति गर्न सक्दैनौं । त्यसका लागि त्यस्ता अन्तराष्ट्रिय सहयोग र प्रबिधी हस्तान्तरणहरुलाई हाम्रो राष्ट्रिय स्वार्थ अनुकुलु भित्र्याउने र उपयोग गर्नुपर्छ । श्रम बजारको सम्बन्धलाई पनि त्यसै अनुरुप विस्तार गरिनेछ । अन्तराष्ट्रिय सहयोगलाई राष्ट्रिय प्राथमिकताका आधारमा उपयोग गर्नेछौं । ऋण तिर्न सक्ने र क्षमता विकास गर्न सक्ने तथा हाम्रो अन्तराष्ट्रिय शाख बढाउने गरि काम गर्छाै । बढि भन्दा बढि अन्तराष्ट्रिय सहयोग भित्र्याउने गरि काम गर्छाै । आजै धेरै कुरा नगरौं, हामीले योजना बनाउने हो र सबैसँगै मिलेर देश बनाउने बाटोमा अघि बढ्ने हो । अहिले अर्थतन्त्रमा देखिएका समस्याहरु अल्पकालिन हुन् । यीनलाई दिर्घकादिन नबनाऔं भन्ने मेरो आग्रह हो । (नव नियुक्त अर्थमन्त्री डा. खतिवडाले कार्यभार सम्हालेपछि दिएको मन्तव्य)
नवनियुक्त अर्थमन्त्री डा. खतिवडाले भने- वामपन्थी गठवन्धनको योजना कार्यान्वयन गर्नेछु
काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले वामपन्थी गठवन्धनले तयार पारेको घोषणापत्र कार्यान्वय आफनो प्रमुख दायित्व भएको बताएका छन् । मन्त्रालयमा पदभार ग्रहणपछि अर्थमन्त्री खतिवडाले सरकारको भावी योजना सार्वजनिक गर्दे वामापन्थी गठवन्धनको चुनावी घोषणापत्र कार्यान्वयन सरकारको पहिलो प्राथमिकता भएको बताएका हुन् । संविधानमा उल्लेखित निर्देशित सिद्धान्तमा रहेर योजना कार्यान्वनमा ल्याउने प्रतिवद्धता उनले व्यक्त गरेका छन् । उनले आर्थिक विकासका लागि ५ बुदे प्रतिवद्धतापत्र पनि सार्वजनिक गरेका छन् । यस्ता छन वामपन्थी गठवन्धनका योजना वामपन्थी गठवन्धनले आगामी २५ वर्ष्भित्र नेपाललाई सम्मुनत बनाई युरोप र अमेरिकाको स्तरमा पर्याउने महत्वकाँक्षी लक्ष्य लिएको छ । विभिन्न आर्थिक विकासका कार्यक्रम कार्यन्वयन गरेर यो शताब्दीभित्रै अर्थात वि.स. २०९९ सम्म नेपाललाई हालको चीनभन्दा धनी मुलुक बनाउने योजना वामपन्थी गठवन्धनले ल्याएका छन् । यसको आधारका रुपमा आगामी ५ वर्षमा मुलुकलाई अल्पविकशितबाट विकासशीलमा स्तरोन्ती गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । आउदो १० वर्षमा नेपालीको प्रतिव्यक्ति आय हालको ७५२ डलरबाट न्युनतम ५ हजार डलर पुग्ने गरी राष्ट्रिय अर्थतन्त्रको विकास गरी नेपाललाई गरिवीमुक्त बनाउने महत्वकाँक्षी लक्ष्य लिएको छ । युरोप र अमेरिकाको स्तरमा पुर्याउन वाम गठवन्धनले आउदो २ वर्षमा नेपाललाई खाद्यन, मासु, माछा, अण्डा र दुधमा पुर्ण रुपमा आत्मनिर्भर बनाई ५ वर्षमा निर्यात गर्ने अवस्थामा पुर्याउने लक्ष्य लिएको छ । उत्पादन बढाउन कृषि क्षेत्रमा ठुलो रकम अनुदान लगानी गरी कृषिलाई औद्योगिकीकरण गर्ने योजना घोषणपत्रमा उल्लेख छ । यस्तै विद्युत सेवा नपुगेका जनसंख्यालाई आउदो २ वर्ष्भित्र सेवा उपलब्ध गराउने, ३ वर्ष्भित्र काठमाडौं उपत्यकामा विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याइने भएको छ । आउदो १० वर्षमा जलस्रोत, सौर्य, जैविक वायु र फोहर प्रशोधनलगायत वैकल्पिक स्रोतको प्रयोग गरेर २० हजार मेगावाट बिजुली उत्पादन गर्ने घोषणपत्रमा उल्लेख छ । काठमाडौ तराइ द्रुतमार्ग ४ वर्षमा सम्पन्न गर्ने योजना रहेको छ । सहकारीलाई अझ प्रवद्र्धन गरी गाउँटोलमा सहकारी र घरघरमा रोजगारी भन्ने नाराका साथ योजना ल्याइने भएको छ । संविधान प्रदत शिक्षाको हक कायम गर्न कुल बजेटको २० प्रतिशत खर्च गर्ने, माध्यमिक शिक्षा निःशुल्क गर्ने योजना घोषणापत्रमा उल्लेख छ । यस्तै सामाजिक सुरक्षा भत्ता हालको २ हजारबाट बढाई ५ हजार रुपैयाँ पुर्याउने योजना वामपन्थी गठनवन्धनको छ ।
डा. युवराज खतिवडा अर्थमन्त्री, गृह, रक्षा र उद्योगमन्त्री क्रमश: थापा, पाेखरेल र यादव
काठमाडौं । डा. युवराज खतिवडा अर्थमन्त्री भएका छन्। त्यस्तै, ईश्वर पोखरेल रक्षा मन्त्री, रामबहादुर थापा गृह मन्त्री र मातृका यादव उद्योग, वाणिज्य तथा आपूर्ति बनेका छन् । अर्थमन्त्री डा खतिवडा पहिलोपटक मन्त्री बनेका हुन्। यसअघि, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नरसमेत रहेका डा खतिवडा वाम गठबन्धन सरकारको अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका हुन् । यस्तै, गृहमन्त्री बनेका थापा तत्कालीन प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा रक्षा मन्त्री थिए । एमाले अध्यक्ष केपी ओलीले खतिवडालाई अर्थमन्त्री बनाउने निर्णय गरेका हुन् । ईश्वर पोखरेल पछि हटेपछि खतिवडालाई अर्थमन्त्री बनाउन लागिएको प्रधानमन्त्री केपी ओलीका राजनीतिक सल्लाहकार बिष्णु रिमालले बताए । अर्थमन्त्री बनाउनकै लागि खतिवडालाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरिएको थियो । तर सर्वाेच्च अदालतले राष्ट्रिय सभा सदस्यको सपथ भने नगराउन अन्तरिम आदेश दिएको छ । संघिय संसदको सदस्य नरहेको व्यक्तिलाई मन्त्री बनाउँदा ६ महिना भित्र संघिय संसदका सदस्य बनाउनुपर्ने सबैधानिक व्यवस्था रहेको छ । अर्थमन्त्री बन्न लागेका डा. खतिवडा प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापाका हुन् । उनी यस अघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकको गभर्नर बनिसकेका छन् । खतिवडालाई मौद्रिक अर्थतन्त्रको जानकारी मानिन्छ ।