पश्चिमसेतीमा थ्री गर्जेजकाे पीपीए दर बढाउन र डलर जोखिम व्योहर्ने पुरानै अडान, सहमतीकाे संभावना न्युन
काठमाडौं । चाइना थ्री गर्जेज इन्टरनेसनले कर्पोरेशनले पश्चिम सेती आयोजनाको विद्युत खरिद दर (पीपीए) दर बढाउनु पर्ने र डलर जोखिम नेपाल विद्युत प्राधिकरणले व्यहोर्नुपर्ने अडान पुनः दोहर्याएको छ । लगानी बोर्डसंग आइतबार भएको छलफलमा चाइना थ्री गर्जेजले हाल निर्धारण भएको पीपीए दरले आयोजना आर्थिक रुपमा आर्कषक नहुने भन्दै यसलाई बढाउनु पर्ने आफनो भनाई पुनः दोहर्याएको हो । यस्तै डलर जोखिम प्राधिकरणले लिनुपर्ने, डलर भुक्तानीको समयसीमा बढाउनु पर्ने पहिलाको माग दोहरयाएको बोड स्रोतले जानकारी दियो । हाल भइरहेको अध्ययनका लागि चीनबाट लगानी ल्याउन नेपाल राष्ट्र बैंकको ऐन वाधक भएको भन्दै यसलाई सहजीकरण गर्न उसको माग थियोे । मुलुकको सार्वभौम र १७ प्रतिशत प्रतिफलको पनि प्रत्याभूति हुनुपर्ने अडान थ्री गर्जेको थियो । थ्री गर्जेजले पाकिस्तानमा दिएको सुविधाको बारेमा जानकारी गराउदै सोही अनुसारको व्यवस्था नेपालमा पनि हुनु पर्ने सुझाएको छ । “हामीले उसका कुरा सुन्यौ । सबै विषय प्राधिकरणसंग सम्बन्धित भएकाले सोमबार बैठक बसेर टुङाउन सुझाव दिएका छौ ।” स्रोतले भन्यो । सोमबार विद्युत प्राधिकरण र थ्री गर्जेजकाबीच पीपीए दर, डलर जोखिम वहनलगायतका विषयमा छलफल हुने भएको छ । ७५० मेगावाटको पश्चिम सेती जलाशययुक्त आयोजना बनाउन प्राधिकरणसँग संयुक्त लगानी सम्झौता (जेभीए)पछि भएको छलफलमा हालको विद्युत खरिद दर (पीपीए) ले पश्चिमसेती आयोजना आर्थिक रुपमा आर्कषक नहुने भन्दै यसलाई बढाउनु पर्ने बताएको छ । उसले पीपीए दर र डलर जोखिमको विषयमा अडान लिएपछि जेभीए बाहेक अन्य कुनै पनि विषयमा सहमति भएको छैन् । प्राधिकरण निर्धारण भएको पीपीए दर पुनरावलोकन गर्ने र डलर जोखिम सबै व्योहर्ने पक्षमा नभएको स्रोतको भनाई छ । यता सरकारले जलाशययुक्त आयोजनाको पीपीए दर तयार गरी मंसिर १५ देखि जेठ १५ सम्म प्रतियुनिट १२ रुपैयाँ ४० पैसा र जेठ १६ देखि मंसिर १४ सम्म वर्षादको ६ महिनामा प्रतियुनिट ७ रुपैयाँ १० पैसा निर्धारण गरेको छ । सुख्खायाममा न्युनतम ३५ प्रतिशत ऊर्जा उत्पादन भएको हुनुपर्ने नयाँ पीपीएमा व्यवस्था छ । जेभीएअनुसार आयोजनामा थ्री गर्जेजको ६५, विद्युत प्राधिकरणको २५ र आयोजना प्रभावित स्थानियबासिन्दाको १० प्रतिशत लगानी हुने गरी सेयर संरचना तयार पारिएको छ । ६५ प्रतिशत मध्ये १४ प्रतिशत नेपाली लगानीकर्तालाई थ्री गर्जेजले स्वामित्व बेच्न सक्ने व्यवस्था गरेको छ । आयोजना निर्माण भई सञ्चालनमा आएको ५ वर्षसम्म ५१ प्रतिशत स्वामित्वबाट घट्न नपाइने व्यवस्था गरिएको छ । आयोजना वेष्ट सेती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडमार्फत निर्माण हुनेछ । विद्युत प्राधिकरणले लगानी गर्नुपर्ने २५ प्रतिशत स्वपँजी (इक्विटी) का लागि थ्री गर्जेजले चाइना निर्यात–आयात (एक्जिम) बैंकबाट सहुलियत दरमा कर्जा उपलब्ध गराउने सहमति भएको छ । प्राधिकरणले लगानी गर्ने स्वपुँजीको व्यवस्था थ्री गर्जेजले गर्ने भएको छ । ०६९ भदौमा भएको समझदारीपत्र (एमओयू) भएको हो । आयोजना निर्माणका लागि १ खर्ब ६० अर्ब रुपैयाँसम्म लगानी सरकारबाट ल्याउन स्वीकृति पाइसकेको छ । आयोजनाबाट वार्षिक ३ अर्ब ३३ करोड युनिट बिजुली उत्पादन हुने सम्भाव्यता अध्ययनले देखाएको छ । आयोजना सुदूरपश्चिमका डोटी, डडेलधुरा, बैतडी र बझाङ जिल्लामा पर्छ । आयोजा निर्माणपछि खपत केन्द्रसम्म बिजुली पु¥याउन आवश्यक ४ सय किलोमिटर लामो ४ सय केभीए क्षमताका प्रसारणलाइन बनाउन थप ४० अर्ब रुपैयाँ बढी लगानी लाग्ने छ । सरकारले जलासययुक्त आयोजनाको पीपीए दर सार्वजनिक गरिसकेको छ । आयोजना अघि बढाउन २ हजार ३२० हेक्टर क्षेत्रफल अधिग्रहण गर्नुपर्ने देखिएको छ ।
४० अर्ब मास्ने राष्ट्र बैंकको योजनामाथी अख्तियारको अंकुश, अघि बढ्यो छानबिन
काठमाडौं । कर्मचारीको भत्ता १८ प्रतिशत बढाउने र निर्ब्याजी ४५ लाख रुपैंयाँ घर मर्मतका लागि सापटी दिने नेपाल राष्ट्र बैंकको योजनामाथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । राष्ट्र बैंकले कर्मचारीको भत्ता १८ प्रतिशत बढाउने र घर मर्मतका लागि ४५ लाख रुपैंयाँ निर्ब्याजी उपलब्ध गराउने निर्णय गरेको भन्दै आयोगमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा आयोगले छानविन प्रक्रिया अघि बढाएको हो । अख्तियारले सो सम्बन्धमा आफ्नो राय प्रतिक्रिया मागेर अर्थमन्त्रालयलाई पत्राचार समेत गरेको छ । आयोगले अर्थमन्त्रालयको वित्तिय क्षेत्र व्यवस्थापन महाशाखालाई पत्र लेखेर आवश्यक छानविन गरि राय प्रक्रिया तत्काल पठाउन भनेको छ । श्रोतका अनुसार राष्ट्र बैंक सञ्चालक समितिले सञ्चालक रामजी रेग्मीको नेतृत्वमा गठन गरेको कर्मचारको सेवा सुबिधा पुनरावलोकन समितिले सो प्रस्ताव सञ्चालक समितिमा पेश गरेको छ । तर निर्णय भने भैसकेको छैन् । ‘सञ्चालक समितिले निर्णय नै गरिसकेको चाँही होइन तर रामजी रेग्मी नेतृत्वको समितिले त्यस्तो प्रस्ताव तयार पारेर सञ्चालक समितिमा पेश गरेको छ’, राष्ट्र बैंक श्रोतले भन्यो । रेग्मी नेतृत्वको समितिले १८ प्रतिशत भत्ता र ४५ लाख निर्ब्याजी ऋण उपलब्ध गराउने प्रतिवेदन पेश गर्दा कर्मचारीबाट पैसा असुलेको आरोप पनि उजुरीमा लगाइएको छ । आयोगले सो सम्बन्धमा पनि छानविन गरि पठाउन मन्त्रालयलाई भनेको छ ।
अर्थमन्त्रीको एक बोलीले सेयर बजारमा पहिरो, नेप्से परिसूचक वर्षकै न्यूनतम बिन्दुमा, सोमबार के होला ?
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेपछि आइतबार भारी गिरावट आएको छ । अर्थमन्त्री खतिवडाले बीबीसीसँगको अन्तरवार्तामा सेयर बजार र घरजग्गा अनुत्पादक रहेको र उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनु पर्ने अभिव्यक्ति दिएपछि यसको असर आइतबारको सेयर बजारमा देखिएको हो । आइतबार बजार घटेर राताम्यै भएको छ । बैंकको महंगो ब्याजदर र बढी आपूर्तिले सेयर बजार घटिरहेका बेला अर्थमन्त्रीको अनुत्पादक क्षेत्र भन्ने अभिव्यक्तिले आइतबार बजार घटेको लगानीकर्ताको भनाई छ । सेयर बजारप्रति अर्थमन्त्री खतिवडा सकारात्मक नभएपछि आइतबारको नेप्से परिसूचक वर्षकै न्यूनतम बिन्दुमा पुगेको छ । एकै दिन बजारमा परिसूचक ४१ अंकले घटेर १३०४.४३ अंकमा पुगेको छ । जुन एक वर्ष यताकै न्यूनतम बिन्दु हो । एक वर्षअघि अर्थात २०७३ फागुन २२ गते परिसूचक १३५४ अंकमा रहेको थियो । एक वर्षअघिकाे नेप्से परिसूचक एकैदिनको बजार तीब्र गतिमा घटेर ४१ अंकले ओरालो लागेपछि बजारका लगानीकर्ता निरास र त्रसित भएका छन् । पछिल्लो समयमा बजार निरन्तर घट्दै गएकोमा आइतबार भारी गिरावट आउदा बिक्रेता अतालिएका छन् । वामपन्थी सरकार सेयर बजारमैत्री नभएको आरोप लागिरहेका बेला अर्थमन्त्रीको भनाईले लगानीकर्तालाई हत्तोसाहित बनाएको ब्रोकरहरुको भनाई छ । साधारण सेयर (आईपीओ) हकप्रद, थप निष्कासन(एफपीओ) र सामुहिक लगानी कोष (म्युचअल फण्ड) को बढी आपूर्ति भएपछि बजार माथि जान नसकेको लगानीकर्ता बताउछन् । यस्तै बैंकको महंगो ब्याजदरले ठुला लगानीकर्ताको बजारमा प्रवेश नभएपछि खरिदकर्ताको कमी र आपूर्ति बढी भएपछि बजार निरन्तर घट्दै गएको छ । बैंकबाट १४ प्रतिशत ब्याजमा ऋण लिएर ६ प्रतिशत भन्दा कम प्रतिफल आउने भएपछि ठुला लगानीकर्ता अहिले बजारबाट बाहिरिएका छन् । बजारमा कारोबारमा आएका सबैसमूह राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह २८६ अंकले ओरालो लागेको छ । त्यस्तै, अन्य बाँकी समूहको सूचक दोहोरो अंकले घटेका छन् । त्यस्तै, आइतबार कारोबारमा आएका १५१ कम्पनी मध्ये १४९ कम्पनीको सेयर सेयर मूल्यमा गिरावट आएको छ । बाँकी दुई कम्पनी सूर्योदय र स्वदेशी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने क्रमशः ३.९३ र १.८६ प्रतिशतले बढेको छ ।