फेरी पेट्रोलियमको भाउ बढ्यो, पेट्रोल प्रतिलिटर १०६, डिजेल ८७ रुपैयाँ
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले मंगलबारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।पेट्रोलको भाउ बढेर प्रतिलिटर १०६ रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको भाउ बढेर प्रतिलिटर ८७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलमा २/२ रुपैयाँ भाउ बढाएको हो । इन्डियन आयल कर्पोरेशन लिमिटेडले भाउ बढेको मूल्यसुचि पठाएपछि निगमले बढाएको हो ।
जेठको दोस्रो सातादेखि होङसी शिवमले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने, सिमेन्टको मूल्य के होला ?
काठमाडौं । आउँदो जेठको दोस्रो सातादेखि नेपाली बजारमा ६ हजार टन सिमेन्ट उत्पादन थप हुने भएको छ । नेपाल र चिनियाँ संयुक्त लगानीको होङ्सी शिवम् सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन थाल्ने भएपछि बजारमा ६ हजार टन सिमेन्ट आपूर्ति बढ्ने भएको हो । यसअघि फागुनदेखि नै सिमेन्ट उत्पादन थाल्ने लक्ष्य लिएको होङसीले कारखाना परीक्षणलगायत अन्य प्राविधिक काम बाँकी भएपछि सिमेन्ट उत्पादन २ महिना ढिलाइ हुन पुगेको हो । होङसीले सिमेन्ट उत्पादन थालेपछि आपूर्ति बढ्न गई बजारमा मूल्य घट्ने अनुमान गरिएको छ । आउँदो चैतसम्म सिमेन्ट कारखानाको सबै काम पुरा र परीक्षण उत्पादन पुरा गरेपछि वैशाखसम्म उद्योग सञ्चालनमा आउने तयारी थियो । यसअघि गत फागुनदेखि नै उद्योगले सिमेन्ट उत्पादन थाल्ने तयारी गरेपनि २ महिना ढिलाइ गरी सिमेन्ट उत्पादन थाल्ने भएको हो । उद्योगले सिमेन्ट उत्पादन मे महिनाको अन्त्यदेखि शुरु गर्ने पुष्टि गरेको छ । उद्योगले हेटौडादेखि नवलपरासीसम्म १५२ किलोमिटर टाढाबाट सिमेन्ट उत्पादन गर्न आवश्यक दैनिक ३ हजार टन चुनढुङा आपूर्ति अप्रिल १४ तारिखदेखि गर्ने भनेको छ । उसले चुनढुङा आपूर्तिका लागि काम शुरु गरिसकेको जानकारी दिएको छ । होङसीले उत्पादन थालेपछि नेपालमा दैनिक ६ हजार टन सिमेन्ट थप हुनेछ । होङसी नेपालमा सञ्चालनमा रहेका मध्ये सबैभन्दा ठूलो सिमेन्ट उद्योग हो । उद्योगले गत वर्षको मार्चदेखि कारखाना निर्माण शुरु गरेको हो । कारखाना बनाउने काम शुरु गरेको १ वर्षमा होङसीले सिमेन्ट उत्पादन थाल्ने भएको छ । पहिलो चरणमा दैनिक ६ हजार टन र केही वर्षभित्र उत्पादन दोब्बर बढाएर १२ हजार टन पुर्याउने योजना उद्योगको छ । गत भदौ १८ गते लगानी बोर्ड र होङसीबीच परियोजना लगानी सम्झौता (पीएनए) भएको थियो । सम्झौताअनुसार कम्पनीले नवलपरासीमा सिमेन्ट कारखाना स्थापनाको लागि ३६ अर्ब ७५ करोड रुपैयाँ (करिब ३५ करोड ९१ लाख अमेरिकी डलर) लगानी गर्नेछ । कारखानाका लागि आवश्यक खानी पाल्पाको ज्यामिरेमा छ । चीनको होङसी सिमेन्ट ग्रुपको सहायक कम्पनी हङकङ रेडलायन सिमेन्ट ३ लिमिटेडको लगानी रहेको छ । कारखानामा नेपालको विभिन्न व्यवसायीक समुह शिवम् होल्डिङसको ३० र होङसीको ७० प्रतिशत लगानी छ । बजारमा उच्चगुणस्तरको सिमेन्ट उपलव्ध गराउनुका साथै नेपालमा गुणस्तरीय सिमेन्टका लागि प्रतिस्पर्धा समेत सृजना गर्न सहयोग पुर्याउने उनको भनाई छ । कम्पनीको उत्पादन बजारमा आएपछि सिमेन्टको मूल्य घट्ने र सिमेन्ट उत्पादक कम्पनीहरूबीच गुणस्तरमा प्रतिस्पर्धा हुने सरकारी अधिकारीहरूको विश्लेषण रहेको छ । चिनियाँ लगानीमा थप ३ हजार टन सिमेन्ट उत्पादन हुने भएको छ ।
सरकारलाई सबैभन्दा बढी लाभांश बुझाउनेमा राष्ट्र बैंक र टेलिकम, दुई संस्थाले दिए १४ अर्ब २४ करोड
काठमाडौं । सरकारलाई सबैभन्दा बढी लाभांश बुझाउनेमा नेपाल राष्ट्र बैंक भएको छ । राष्ट्र बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सरकारलाई ७ अर्ब २५ करोड रुपैयाँ लाभांश बुझाएको छ । राष्ट्र बैंकपछि बढी लाभांश बुझाउनेमा नेपाल टेलिकम रहेको छ । टेलिकमले ६ अर्ब ९९ करोड ९२ लाख रुपैयाँ लाभांश सरकारलाई बुझाएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । त्यसपछि र कृषि विकास बैंकले ३८ करोड ६२ लाख रुपैयाँ लाभांश बुझाएको महालेखाले आफनो प्रतिवेदनमा उल्लेख गरेको छ । सरकार स्वामित्वको १०८ संस्थानमध्ये १० संस्थाबाट १५ अर्ब ५ करोड ८५ लाख लाभांश प्राप्त भएको छ । बाँकी ९८ संस्थाबाट लाभांश प्राप्त भएको छैन । लगानीको तुलनामा प्रतिफल न्यून रहेको परिप्रेक्ष्यमा सरकारी संस्थानको दक्षता अभिवृद्धि हुनुपर्ने सुझाव महालेखाको छ । महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त विवरणअनुसार सरकारले हालसम्म सार्वजनिक संस्थान लगायतका १०८ संस्थामा १ खर्ब ८१ अर्ब ९१ करोड ३५ लाख रुपैयाँ शेयर लगानी छ । सरकारको .३३ अर्ब ४६ करोड २४ लाख शेयर लगानी भएका १२ सार्वजनिक संस्थानले आर्थिक वर्ष २०७२÷०७३ मा ३ अर्ब ४१ करोड ६९ लाख रुपैयाँ नाफा प्राप्त गरे पनि सरकारलाई लाभांश घोषणा गरी बुझाएका छैनन् । लाभांश नबुझाउनेमा नेपाल नागरिक उडड्यन प्राधिकरण, एनआईडीसी डेभलपमेन्ट बैंक, नेपाल पावरवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेड, नागरिक लगानी कोष, राष्ट्रिय बीमा संस्थान, हेटौडा सिमेन्ट उद्योग लिमिटेड, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, कृषि सामाग्री कम्पनी लिमिटेड, राष्ट्रि बिउँविजन कम्पनी लिमिटेड, गोरखापत्र संस्थान, राष्ट्रिय बीमा कम्पनी लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष रहेका छन् । अन्तर्राष्ट्यि संस्थामा गत वर्षसम्म ७ अर्ब ३८ करोड ९९ लाख रुपैयाँ लगानी गरेकोमा यो वर्ष २ अर्ब ८३ करोड ३१ लाख थप गरी १० अर्ब २२ करोड ३० लाख रुपैयाँ पुगेको छ । सोमध्ये सार्क विकास कोषमा २ अर्ब ६८ करोड ८४ लाख, एसियाली विकास बैंक (एडीबी) ३६ करोड ९५ लाख, विश्व बैकमा २२ करोड ५० लाख र अन्तर्राष्ट्यि मुद्रा कोषमा ६ अर्ब ५८ करोड ७६ लाख रुपैयाँ लगानी छ । यो कोषमा २०७३÷७४ मा २ अर्ब ८३ करोड ३१ लाख थप लगानी गरेको थियो ।