काठमाडौं टावरका निर्माता मनोज भेटवाल पक्राउ, के हुन्छ टावरको भविष्य ?
काठमाडौं । पुरानो बसपार्कमा धमाधम निर्माण भैरहेको २९ तल्ले काठमाडौं भ्यु टावरका निर्माता मनोज कुमार भेटवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सिआइबी)ले भेटवाललाई सोमबार पक्राउ गरेको हो । एपेक्स बैंक घोटाला प्रकरणमा संलग्न रहेको तथ्य फेला परेपछि उनलाई सोमबार पक्राउ गरि हिरासतमा राखेर थप अनुसन्धान अघि बढाईएको सिइआबीका प्रवक्ता जिवन श्रेष्ठले बताए । भेटवालले झापाको दमक नगरपालिका वडा नम्बर १७ को कित्ता नम्बरर ४८५ को ०६७७२.६३ वर्ग मिटर जमिन धितो राखेर ऋण लिएका थिए । कमसल धितो राखेर अधिक ऋण लिएको तथ्य फेला परेपछि उनी पक्राउ परेका हुन् । उनी पक्राउ परेसँगै काठमाडौं टावरको निर्माण भने अन्यौलमा पर्ने देखिएको छ । तर काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता नमराज ढकालले भने व्यक्ति पक्राउ पर्दैमा निर्माण प्रक्रिया नरोकिने बताए । ‘लगानी कर्ताका रुपमा भेटवाल एक्लै थिए भने समस्या हुन सक्थ्यो तर जोइन्ट भेञ्चरमा तीन वटा कम्पनीले काम गरेका हुन्, व्यक्ति पक्राउ परेर खासै ठुलो समस्या नआउला’, महानगरपालिकाका सयहाक प्रवक्ता ढकालले भने । काठमाडौं महानगरपालिकाले २०७१ फागुन ८ गते जलेश्वर स्वच्छन्द विकोई विल्डर्ससँग सार्वजनिक निजी साझेदारीमा २९ तले बहुउदेश्यिय काठमाडौं भ्यु टावर निर्माण सम्झौता गरेको थियो । २०७२ कात्तिक २५ गते उपराष्ट्रपति नन्द बहादुर पुनःले टावरको शिलान्यास गरेका थिए । कम्पनीले टावर निर्माणका लागि भन्दै २०७३ साल बैशाख २२ गते पुरानो बस पार्कलाई खुल्ला मञ्चमा सारेको थियो ।
यातायात व्यवसायी संघले बैशाख १२ र १३ गते सबै गाडी सडकमा छोड्ने, २१ देखि यातायात सेवा ठप्प पार्ने
काठमाडौं । सिण्डीकेट पक्षधर यातायात व्यवसायीहरुले बैशाख २१ गतेदेखि देशभर यातायात सेवा ठप्प पार्ने घोषणा गरेका छन् । राजधानीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले चरणवद्ध आन्दोलनका कार्यक्रम अघि सारेर बैशाख २१ देखि अनिश्चित कालिन यातायात बन्दको घोषणा गरेका हुन् । उनीहरुले २१ गते आफ्ना सवारी साधनहरुलाई घर ग्यारेजमा धन्क्याउने र २७ गतेपछि अनिश्चितकालसम्म यातायात सेवा ठप्प पार्ने बताएका हुन् । सिण्डीकोटको पक्षमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसन र ढुवानी व्यवसायी महासंघ नेपाल रहेका छन् । उनीहरुले बैशाख १२ र १३ गते सबै सवारी साधनहरुलाई सडकमा उतारेर सवारी आवागमन अस्तव्यस्त बनाउने लगायतका कार्यक्रम अघि सारेका छन् । त्यस्तै, बैशाख १४ र १५ गते कुनै पनि सवारी साधनलाई क्युमा सञ्चालन नगर्ने बताएका छन् । नेपाली व्यवसायीहरुको १० खर्बको लगानी र ४० लाख रोजगारी खोस्न सरकार लागि परेको आरोप समेत लगाएका छन् । संयुक्त आन्दोलनका संयोजक योगेन्द्र नाथ कर्माचार्यले बैशाख ७ गते प्रधानमन्त्री केपी ओलीलाई भेटेर आफ्ना समस्या राख्ने पनि बताए । यस्ता छन् यातायात व्यवसायीका आन्दोलनका कार्यक्रमहरु १. बैशाख ८ गते प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउने २. बैशाख ९ गते सबै राजनितिक दलका प्रमुखलाई भेटेर ज्ञापनपत्र बुझाउने ३. बैशाख १२ र १३ गते सबै सवारीलाई तालिका बिनै छोड्ने ४. बैशाख १४ र १५ गते काठमाडौं र प्रदेश राजधानीमा क्यू फ्रि छोड्ने ५. बैशाख २१ गते सबै सवारी ग्यारेजमा थन्क्याउने ६. बैशाख २७ गतेदेखि अनिश्चित कालिन यातायात बन्द गर्ने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन गरिने, जीडीपीमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पुर्याउने पयर्टनमन्त्रीको घोषणा
काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठको पहिलो सातादेखि नियमित २१ घण्टा सञ्चालनमा ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जेठको पहिलो साताभित्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । नेपाल पर्यटन पूर्वाधार विकास परिषद्ले मंगलबार मन्त्रालयमा आयोजना गरेको ‘पर्यटन नीति र पूर्वाधार विकास’ विषयक अन्तरक्रियामा मन्त्री अधिकारीले विमानस्थलको विद्यमान हवाई चाप (एयर ट्राफिक) व्यवस्थापन गर्न विमानस्थल २१ घण्टा सञ्चालन गर्न लागिएको बताएका हुन् । उनले ‘एयर स्पेस’ को उचित व्यवस्थापनमा लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा नै सञ्चालन गर्ने आफ्नो लक्ष्य रहे पनि तत्काल असम्भव रहेको भन्दै अहिले २१ घण्टा चलाई आन्तरिक विमानस्थलमा थप गन्तव्यमा रात्री उडानको व्यवस्था मिलाइने उल्लेख गरे । अहिले कैलालीको धनगढीमा शुरु गरिएको रात्रि उडान छिट्टै झापाको भद्रपुरमा पनि शुरु गरिने उनको भनाइ थियो । मन्त्री अधिकारीले कूल ग्रार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको कम्तीमा २५ प्रतिशत योगदान पु¥याउन सरकार र निजी क्षेत्रले प्रभावकारी प्रवद्र्धनात्मक काम अघि बढाइनुपर्नेमा जोड दिए । सरकारी तथ्यांकअनुसार हाल नेपालको कूल ग्रार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान दुई दशमलब आठ प्रतिशत रहेको छ । तर संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संघको पछिल्लो विवरणअनुसार ८.२ को योगदान रहेको देखाएको छ । मन्त्री अधिकारी हालको पर्यटनको योगदान होटल र रेष्टुरेन्टको मात्र भएको भन्दै पर्यटन क्षेत्रको तथ्यांकलाई पनि सही ढंगले अद्यावधिक गर्नुपर्ने आवश्यकता औँल्याए ।