पुसपछि बीमा कम्पनीलाई फोर्स मर्जर
काठमाडौं । बीमा समितिले पुस महिनापछि बीमा कम्पनीलाई फोर्स मर्जरमा पठाउने भएको छ । समितिले ठूला र बलिया बीमा कम्पनीहरु मार्फत गाउँ गाउँमा बीमा सेवा विस्तार गर्ने भन्दै फोर्स मर्जरको तयारी थालेको हो । संसदमा पेश गरेको नयाँ बीमा ऐनको मस्यौदामा पनि बीमा कम्पनीलाई मर्ज गराउने बिषय उल्लेख गरिएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले पुस महिनापछि पुँजी पुर्याउन नसक्ने तथा कमजोर अवस्थामा रहेका बीमा कम्पनीहरुलाई फोर्स मर्जरमा पठाउने बताएका हुन् । अध्यक्षले बीमा सहभागीता कुल नागरिकको ११ प्रतिशत पुगेको जानकारी पनि दिए । उनले हालसम्म जम्मा २ वटा जीवन बीमा कम्पनी र एउटा निर्जीबन बीमा कम्पनीले मात्रै पुँजी वृद्धि गरेको समेत जानकारी दिए । ३६ अर्ब पुँजी पुर्याउनुपर्ने १८ वटा जीवन बीमा कम्पनीको पुँजी हालसम्म २३ अर्ब ५६ करोड मात्रै पुगेको जानकारी दिए । असार मसान्तसम्ममा सबै बीमा जीवन बीमा कम्पनीहरुले २ अर्ब र निर्जीबन बीमा कम्पनीहरुले १ अर्ब पुँजी पुर्याउनुपर्ने थियो । तर हालसम्म जीवन तर्फ नेपाल लाईफ र नीर्जीबन तर्फ शिखर र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले मात्रै पुँजी पुर्याएका छन् । अध्यक्ष चापागाईँले असारपछि मर्जरका लागि प्रोत्साहन गर्ने र पुसपछि फोर्स गर्ने स्पष्ट पारे । बीमा समितिले बीमा बिटमा समाचार लेख्ने पत्रकारहरुका लागि आयोजना गरेको आवासिय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चापागार्इँले सो कुरा बताएका हुन् ।
ओलीले भनेः के के चाहियो सूची लिएर आउनुस्, बाँसबारी जुत्ता र धागो कारखाना सक्काउने होइन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीलाई के के चाहिएको हो त्यसको सूचि लिएर आउन भनेका छन् । नेपाल उद्योग परिसंघको १५ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यवसायीलाई आवश्यक पर्ने सुबिधा र सहुलियतहरुको सूचि लिएर आउन भनेका हुन् । तर उनले धागो कारखाना र बाँसबारी जुक्ता कारखना सक्काउने योजना भने नल्याउन सम्झाए । ओली सरकारका कारण नीजी क्षेत्र त्रसित बनेको र पूँजी पलायनको अवस्था सृजना भएको आरोप लागिरहेका बेला ओलीले भने सहुलियतको सूचि लिएर आउन भनेका हुन् । उनले धेरै नाफा र बोनसको मात्रै पछि नलाग्न पनि उद्योगीहरुलाई आग्रह गरे । संसारकै सस्तो कामदार नेपालमै पाइने दावी गर्दै ओलीले त्यसको सदुपयोग गरेर विश्व बजारमा नेपाली उत्पादन निर्यात गर्न सुझाव दिए । उनले नेपालको आँप रसिया निर्यात गर्न सकिने धारणा समेत राखेका थिए । पाँच बर्षको स्थायी सरकार आएकाले नीति परिवर्तनको आंशका नरहेको र पाँच बर्षभित्रै सुशासन सहित समृद्धिको अभियान धेरै अघि बढिसक्ने दावी पनि गरे । नेपाली मिडियाले गाली नगरेको मान्छे बन्नका लागि भाग्यमानी हुनुपर्ने समेत बताए । बार्षिकोत्सवमा नेपाल उद्योेग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालका उद्योगी व्यवसायी विश्वकै उत्कृष्ठ रहेको दावी गरेका थिए । लगानीको वातावरण बनाईदिन नेपाललाई नीजी क्षेत्रले समृद्ध बनाउन नेतृत्व गर्ने उनको भनाई थियो ।
साउन १ देखि मजदुरको नयाँ तलबः उद्योगीको बटमलाइन १२ हजार ५ सय, मजदुरको १६ हजार ५ सय
काठमाडौं । साउन १ गतेदेखि मजदुरहरुको नयाँ तलब तोकिँदैछ । तर पटक पटकका छलफलबाट पनि उद्योगी र ट्रेड युनियनका नेताबिच मजदुरहरुको न्युनतम तलब कति तोक्ने भन्नेबारे जुट्न सकिरहेको छैन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)का उपाध्यक्ष तथा न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य दिपक पौडेलका अनुसार उद्योगीहरुले १२ हजार ५ सय रुपैंयाँ तलब पुर्याउन सकिने बताएका छन् । तर मजदुर युनियनका प्रतिनिधीका रुपमा आफुहरुले १६ हजार ५ सय रुपैंयाँ भन्दा एक रुपैंयाँ कम पनि नमान्ने अडान राखिरहेको उनले स्पष्ट पारे । श्रम मन्त्रालयका सह सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा गठन भएको न्युनतम पारिश्रमिक निर्धारण समितिको बैठक एक दर्जनबाट बसिसकेको छ । बैठकको प्रारम्भमा उद्योगीहरु हाल कायम रहेको ९ हजार ७ सय रुपैंयाँमा १२ प्रतिशत मात्रै तबल बढाउन तयार भएका थिए । एक दर्जन पटकको बैठकपछि उनीहरु १२ हजार ५ सय पुर्याउन सहमत भएका छन् । मजदुर युनियनका नेताहरु पनि सुरुमा २५ हजारको अडानमा थिए । निरन्तरको छलफलपछि उनीहरु २० हुँदै अहिले १६ हजार ५ सय रुपैंयाँको अडानमा आईपुगेका छन् । आइतबार निर्णायक छलफल गर्ने तय भएको छ । ‘शुक्रबार राती १० बजेसम्म छलफल भयो, कुनै सहमति हुन सकेन्, उद्योगीहरुले आपसमा छलफल गरेर आउँछौं भनेका छन्, आइतबार निर्णायक छलफल हुनेछ’, समितिका सदस्य पौडेलले भने । उद्योगी व्यवसायीका तर्फबाट समितिमा नेपाल उद्योग बाणिज्य महासंघका तर्फबाट भरतराज आचार्य, नेपाल उद्योग परिसंघका तर्फबाट राजेश अग्रवाल सहभागी छन् । उनीहरुले शनिबार उद्योगी व्यवसायीहरुसँग व्यापक छलफल गरेर आइतबार निर्णायक छलफलमा सहभागी हुने बताएका छन् ।