बैंक ब्याजदर बढ्दै गएपछि चितवनका व्यवसायी अाक्राेसित, भित्रभित्रै उद्यमी सकिँदै 

चितवन । बैंकहरुले ब्याजदर बढाउँदै लगेपछि उद्योगी व्यवसायी प्रभावित बनेका छन् । शुरुमा बैंकले ऋणीसँग सम्झौता गर्दा भएको ब्याजलाई क्रमशः बढाउँदै लगेपछि उद्योगी व्यवसायी मर्कामा परेका हुन् । ब्याज वृद्धिको प्रभाव मुख्य रुपमा उत्पादन क्षेत्रमा परेको उद्योगीहरु बताउँछन् ।  उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडी आफूले होटल सञ्चालनका लागि आठ प्रतिशत ब्याजदरमा ऋण लिएको तर अहिले वृद्धि भएर १३ प्रतिशत पुगेको बताए । चालीस करोड ऋणको पाँच प्रतिशत ब्याज वृद्धिले वार्षिक दुई करोड रूपैयाँ नोक्सान व्यहोर्नु परेको भन्दै उनले भित्रभित्रै उद्योगी व्यवसायी सकिँदै गएको बताए । “नेपालमा उद्योग खोल्नु भनेको सुकुम्वासी हुनु हो, ब्याजदर नघटेमा धेरै उद्योग टाट पल्टने स्थिति छ,” उनले भने । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं ३ का उपाध्यक्ष राजन गौतम सरकारले अन्य क्षेत्रको सिण्डिकेट तोड्ने प्रयास गरे पनि पूँजी बजारमा नहेर्दा उद्योगी व्यवसायी मर्कामा परेको बताए । उत्पादन क्षेत्रमा सात प्रतिशत सम्ममा प्रवाह भएको ऋण १४ प्रतिशतसम्म पुगेको भन्दै उनले दोब्बरसम्म ब्याज वृद्धि हुँदा उद्योगी व्यवसायीले धान्ने अवस्था नरहेको बताए । “जसरी बैंकको ब्याजदर बढेको छ त्यसैगरी मुनाफा बढ्न सक्दैन, यो तालमेल नमिल्दा धेरै उद्योगी व्यवसायी धाराशयी हुने अवस्थामा पुगेका छन्,” उनले भने । बैंकहरुले सिण्डिकेट गरेर ब्याजदर बढाउनु आफैमा खराब भएको भन्दै गौतमले स्प्रेड दर पाँच प्रतिशतलाई घटाएर दुई प्रतिशतमा झार्नुपर्ने बताए । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान सम्झौताको बेलाको ब्याजदर अन्तिमसम्म कायम हुनुपर्ने बताउँछन् । अहिले दोब्बरसम्म ब्याज बढेको भन्दै उनले यसले उद्योग व्यवसाय चल्न नसक्ने अवस्थामा पुगेको बताए । बैंकहरुले गरेको सिण्डिकेटका कारण यसको प्रत्यक्ष प्रभाव सेवाग्राहीमा परेको र उद्योग व्यवसाय गर्न चाहनेलाई अहिलेको ब्याजले निरुत्साहित बनाएको बताए । स्थिर सरकारसँगै उत्पादन र व्यवसायको क्षेत्रमा काम गर्ने धेरैको चाहना रहेको भए पनि अहिलेको ब्याजदरले उनीहरुलाई निरुत्साहित बनाएको छ । ब्याज बढ्दै गएपछि कतिपयले बैंक नै परिवर्तन गर्न थालेका छन् । नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्षसमेत रहनुभएका त्रिलोचन कँडेल आफ्नो ऋणको ब्याजदर झण्डै चार प्रतिशत वृद्धि भएपछि बैंक नै परिवर्तन गर्नुपरेको बताउछन् । पोल्ट्री व्यवसायी कँडेल ब्याजदरको वृद्धिले आफू जस्ता धेरै किसान प्रभावित भएको बताए । बैैंकको पूँजी बिना व्यावसायिक पोल्ट्री गर्न नसकिने बताउँदै उहाँले बैंकले पनि एकाएक ब्याजदर बढाउन थालेपछि किसान विस्थापित हुने अवस्थामा पुगेको बताए । प्राइम कमर्शियल बैंक भरतपुरका प्रबन्धक पदम पौडेल बैंकहरुमा लगानीयोग्य रकम अभाव भएसँगै निक्षेपमा ब्याजदरको प्रतिस्पर्धा हुँदा ऋणको ब्याजदर बढेको स्वीकार्छन् । उन सरकारी खर्च समयमा नहुने, संविधान बनेपछि उद्योग व्यवसाय गर्नेको संख्या बढेसँगै ऋणको माग बढ्नु, जलविद्युत् जस्ता ठूला र लामो समय ऋण असुली नहुने क्षेत्रमा लगानी बढ्नु लगायतका कारण ब्याजदर उच्च भएको बताए । ब्याजदर उच्च हुँदा यहाँ उत्पादित वस्तुले भारतलगायत तेस्रो मुलुकबाट आयात हुने वस्तुसँग प्रतिस्पर्धा गर्न सकेका छैनन् । उद्योगी व्यवसायी निरुत्साहित भएका छन् । व्यापार क्षेत्रमा पनि ब्याजदर बढेपछि बढाउनुपर्ने नाफाका कारण यसको प्रत्यक्ष प्रभाव उपभोक्तामा परेको छ । रासस

सातै प्रदेशका प्रमुखहरु पदमुक्त, नयाँ नियुक्ति छिट्टै गर्ने सरकारकाे तयारी

काठमाडौं । सरकारले सात वटै प्रदेशका प्रमुखहरुलाई पद मुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सात वटै प्रदेशका प्रमुखहरुलाई पद मुक्त गर्ने निर्णय गरेको कानुन मन्त्री शेरबहादुर तामाङले जानकारी दिए । बैठकले २०७४ भदौ १४ गतेपछि तत्कालिन शेर बहादुर देउवा सरकाले गरेका सबै राजनीतिक नियुक्तका निर्णयहरु बदर गर्ने निर्णय गरेसँगै सात वटै प्रदेशका प्रमुखहरु पद मुक्त भएका हुन् । ‘प्रदेश प्रमुखहरु नियुक्त गर्ने देउवा देउवा सरकारको निर्णय पनि अब रद्द भएको छ, उनीहरु पनि राजनीतिक नियुक्तीका थिए, अब नयाँ प्रदेश प्रमुखहरु नियुक्त हुनेछन्’, कानुन मन्त्री तामाङले विकासन्युजसँग भने । माघ ३ गते बसेको शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो । देउवा सरकारले प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो । सातै प्रदेश प्रमुखकाे नयाँ नियुक्ति छिट्टै गर्ने सरकारकाे तयारी छ ।

३२ ठूला बस किन्न एडीबीले दिने अनुदानको म्याद सकियो, माइक्रोमै यात्रु कोच्दै कीर्तिपुरका बस व्यवसायी

काठमाडौं । रत्नपार्क कीर्तिपुर अन्तर्गतको एस-३ रुटमा ठूला बस मात्रै सञ्चालन गर्ने सरकारको योजना असफल भएको छ । दुई व्यवसायीहरुबीच सहमति हुन नसक्दा योजनाको समय अवधि सकिएको हो । कीर्तिपुर मिनीबस समिति र विशालनगर माइक्रोबस व्यवसायीलाई एसियाली विकास बैंक (एडीबी)ले दिने भनिएको १५ प्रतिशत अनुदान रोकिएको छ । व्यवसायीहरुबीच सहमति हुन नसकेपछि योजनाको म्याद सकिएको यातायात व्यवस्था विभागका इन्जिनियर शरद आचार्यले बताए । उनका अनुसार अब सो कार्यक्रमलाई ल्याउने की नल्याउने सरकारले निर्णय गर्नेछ । व्यवसायीहरुलाई एक वर्ष अघिनै सहमति गरी बस सञ्चालन गर्न आग्रह गरेपनि व्यवसायीहरुबीच सहमति हुन नसकेको हो । योजना अन्तर्गत सो रुटमा चलिरहेको ७६ वटा माइक्रोबसलाई विस्थापन गरी ३२ वटा ठूला बस सञ्चालन गर्ने तयारी रहेको थियो । व्यवसायीहरुलाई बस किन्नका लागि सरकारले ५ प्रतिशत ब्याजदरमा ८० प्रतिशत रकम उपलब्ध गराउने, एडिबीले १५ प्रतिशत अनुदान दिने र बाँकी ५ प्रतिशत व्यापारीहरुले लगानी गर्नु पर्ने रहेको थियो । एस ३ रुटलाई तीन भागमा विभाजन गरी ‘ए’ र ‘बी’ ग्रेडमा रुटमा छुट्याइएको छ । एस ३ ए अन्तर्गत कीर्तिपुरदेखि नारायणगोपाल चोकसम्म १३.९ किमी रहेको छ । त्यस्तै एस ३ ‘बी’ अन्तर्गत कीर्तिपुर गल्फुटारसम्म १५.४ किमी रहेको छ । यसैगरी एस ३ ‘ए’ अन्तर्गत नयाँ बजार कीर्तिपुर, बल्खु, कालीमाटी, त्रिपुरेश्वर, जय नेपाल सिनेमा, भाटभटेनी, धम्बाराई मार्ग, चप्पल कारखाना, नारायणगोपाल चोक हुँदै गुड्नेछ । यस्तै एस ३ ‘बि’ अन्तर्गतको रुट नयाँ बजार कीर्तिपुर, बल्खु, कालीमाटी, त्रिपुरेश्वर, जय नेपाल सिनेमा, भाटभटेनी, धुम्बाराई मार्ग, धुम्बाराही, मन्डीखाटापुर, गोल्फुटार र न्युरो हस्पिटल हुँदै गुड्नेछ । अहिले एस ३ रुटमा १९४ वटा साना ठुला बस सञ्चालनमा रहेका छन् । जसमध्ये कीर्तिपुर यातायात सेवा कम्पनीले ४१ वटा बस किर्तिपुर रत्नपार्क सञ्चालन गर्दै आएको छ । कीर्तिपुर मिनीबस समितिले २५ वटा मिनीबस र १० वटा माइक्रोबस सञ्चालन गर्दै आएको छ । यसैगरी विशालबजार माइक्रोबस समितिले २८ वटा माइक्रोबस सञ्चालन गर्दै आएको छ । विशालनगर माइक्रोबस व्यावसायीका सचिव दिवाकर अधिकारीले सवारीधनीहरुलाई सहमति गराउन नसकिएको बताए । सरकारले सिन्डिकेट अन्त्य गरिसकेकोले जुनसुकै व्यवासायीहरु आएपनि आफुहरु प्रतिस्पर्धा गर्न तयार रहेकाे बताए । उता केहि माइक्रोबस आफ्नो समितिले किन्ने प्रस्ताव गर्दा पनि सहमति हुन नसकेको कीर्तिपुर मिनीबस व्यवसायीका अध्यक्ष छविलाल विश्वकर्माले बताए । एस ३ रुटमा माइक्रो विस्थापन गर्न सके ट्राफिक व्यवस्थापन र यात्रुलाई सहज हुने विभागका प्राविधिक सल्लाहकार पदमबहादुर शाहीले बताए । हाल त्रिपुरेश्वर कालीमाटी लगायतका क्षेत्रमा धेरै समयसम्म  सवारी जाम हुने गरेको छ । एस ५ रुटमा सफल एस ५ रुट अन्तर्गत सिनामंगल-पुरानो बानेश्वर-मैतीदेवि-डिल्लीबजार-रत्नपार्क-लैनचौर-सामाखुसी-गंगबु हुँदै नयाँ बसर्पाकसम्म १७ बस सञ्चालन हुने भएकाे छ । यो रुट १०.२ किलोमिटरको हुनेछ । पुनः सोही बस नयाँ बसपार्कबाट गंगबु-गल्कोपाखा-लैनचौर-जमल-तिनधारा-कमलपोखरी-ज्ञानेश्वर-मैतीदेवी-पुरानो बानेश्वर हुँदै सिनामंगल पुग्नेछ । यसको लम्बाई भने ८.९ किलोमिटरको हुनेछ । यो रुटमा सञ्चालन गरिएको २६ वटा माइक्रो र ३५ वटा टेम्पोलाई अर्को रुटमा प्रतिस्थापन गरिएको छ । सो केही दिनमै बस सञ्चालन हुने दिगो शहरी यातायातका निर्देशक अनन्त आचार्यले बताए । सबै बस काठमाडौं आइसकेको छ तर प्राविधिक काम सकिएपछि सञ्चालनमा ल्याउने आचार्यले जानकारी  दिए ।