कालोबजारी गर्नेलाई बहिस्कार गर्न र तिनकाे नाम सार्वजनिक गर्न उद्योग वाणिज्य महासंघकाे अपिल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बिना दर्ता वा बील बिजक जारी नगरी कारोबार गर्ने, न्यून मूल्यमा तथा कम वा बढी परिमाण गरी हुने बस्तु तथा सेवाको कारोबार गर्ने/गराउने व्यवसायीलाई बहिष्कार तथा तीनको परिचय समेत सार्वजनिक गर्न सबै तह र तप्कालाई अनुरोध गरेको छ । उत्पादन, थोक तथा खुद्रातह एवं आम उपभोक्ताहरूले आफुले खरिद, बिक्री गरेको बस्तु र सेवाको यथार्थ परिमाण र यथार्थ भुक्तानी मूल्यको बील बिजक लिएर/दिएरमात्र कारोबार गर्न पनि महासंघ सबैलाई आग्रह गरेको छ । ‘निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघ मुलुकभित्र सधै स्वच्छ र पारदर्शी व्यापार व्यवसायको पक्षपाती रहदै आएको छ । साथै सरकारबाट समय समयमा बजार अनुगमन हुनुपर्दछ भन्ने कुरामा दृढ छ’ महासंघले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ–‘आफूले खरिद गर्ने सामानमा उत्पादन तथा उपभोग्य मिति उल्लेख भए/नभएको एकिन गरी खरिद बिक्री गर्न, उपभोग्य मिति गुज्रेको माल वस्तु बिक्री वितरण नगर्न, कानुनले तोकेको अत्यावश्यक बस्तुहरुको सिमाभित्र रहेर मूल्य र नाफा लिई सामान बिक्री वितरण गर्न, बील बिजक जारी गर्न, सबैले देख्ने गरी अत्यावश्यक बस्तुहरूको मूल्य सूची राखेर वा सकभर बस्तुमै मूल्य राखेर कारोबार गर्न/गराउन महासंघ सबै व्यवसायीहरूमा आग्रह गर्दछ ।’ महासंघले बजारलाई स्वच्छ र पारदर्शी बनाई आम उपभोक्तालाई गुणस्तरीय सेवा दिन निजी क्षेत्र सदैव तयार र प्रतिवद्ध रहेको जनाएको छ । गैह्र कानुनी कार्य गर्नेलाई सदैव कानुनको दायरामा ल्याउनु पर्ने र स्वच्छ व्यापार व्यवसाय गर्नेले निर्वाध व्यापार व्यवसाय गर्न पाउनु पर्नेमा महासंघले जोड दिएको छ । ‘जनतालाई सरकारबाट राहतदिने भनेकै करको माध्यमबाट हो । यथार्थ मूल्यमा आयात, निर्यात र कारोबार गराउन सरकारबाट पनि हालका बिद्यमान करका दरहरू न्यूनतम कायम गरी खुल्ला सिमानाबाट भैरहेको अनधिकृत व्यापार नियन्त्रणमा सुन्य सहनशिलता राख्न समेत अनुरोध गर्दछौ । यसका लागि सिमापारी करका दर कम रहेका बस्तुहरूमा स्वदेशमा लाग्ने कूल कर राजस्व समयमै समायोजनका लागि पनि अनुरोध गर्दछौ । साथै बजार अनुगमनका लागि विधि, प्रक्रिया तयार गर्ने र यस कार्यलाई व्यवस्थित र मर्यादित बनाउन मूल्यसूची, नापतौल, गुणस्तर आदि बारे गरिनु पर्ने सुधार बारे आ–आफ्नो तर्फबाट रचनात्मक सल्लाह सुझाव दिई सहयोग गर्न महासंघ सम्बन्धित सवैमा हार्दिक अपिल गर्दछ’ महासंघको विज्ञप्तीमा लेखिएको छ । महासंघ अध्यक्ष भवानी राणा सरकार/उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय/वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागबाट हाल जारी बजार अनुगमनलाई मर्यादित र व्यवस्थित गर्ने, स्वच्छ र पारदर्शी व्यापार व्यवसायलाई प्रवद्र्धन गर्ने सम्बन्धमा यही असार १५ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा सम्पन्न व्यवसायीसंगको बृहद अन्तरक्रियाबाट गठित समिति, समग्र अनुगमनका विषयमा विस्तृत सुझाव दिई सोको कार्यान्वयनका लागि सरोकारवालाहरू समेतसंग छलफलगरी अनुगमनका विधि, प्रक्रिया र हाल भैरहेको तीन तह र चौध निकायबाट हुने अनुगमनलाई एकिकृत, सरल र न्यूनतम जनशक्ति मार्फत स्वचालितरूपमा बजार ब्यवस्थित हुने अवस्था सृजनाका लागि गम्भीर गृहकार्य गरिरहेको पनि महासंघले जनाएको छ । महासंघले आफ्ना सबै व्यवसायिक सदस्य संघ/संस्था मार्फत मुलुकभर क्रियाशील व्यापारीहरूलाई स्वच्छ र पारदर्शी व्यापार व्यवसाय गर्न र यथार्थ मुल्यमा बील बिजक जारी गरेर मात्र व्यापार व्यवसाय संचालन गर्न आव्हान गरेको छ । महासंघले अहिलेसम्म सरकारी अनुगनमा यसरी खुलेर सहयोग गरेको थिएन । कतिपय अवस्थामा गैरकानुनी कारोबार गर्ने व्यवसायीहरुको पक्षमा महासंघ उभिदै आएको थियो ।

नेपाल बैंककाे सेयर मूल्य २८० मा झर्यो, एफपीओ भर्ने १२ हजार लगानीकर्ता सेयर बाँडफाँड नहुँदै नोक्सानमा

काठमाडौं । नेपाल बैंंक लिमिटेडको सेयर मूल्य २८० रुपैयाँमा झरेको छ । बिहीबार यस बैंकको २८९ कित्ता सेयर प्रतिकित्ता २८० रुपैयाँमा कारोबार भएको छ । उक्त सेयर किनबेचको दुबै काम ब्रोकर नम्बर ५८ ले गरेको छ । बिहीबार नेपाल बैंकको अधिकांश कारोबार २८१ रुपैयाँमा भएको छ । अन्तिम कारोबार पनि २८१ रुपैयाँमा नै भएको छ । बैंकले प्रतिकित्ता २८० रुपैयाँमा थप सार्वजनिक निष्कासन (एफपीओ) गर्दा पर्याप्त आवेदन नपरेको बेलामा दोस्रो बजारमा पनि २८० रुपैयाँमा नै कारोबार भएको छ । एफपीओ बाँडफाँड पूर्व नै यस बैंकको सेयर मूल्य २७९ भन्दा तल आउने संकेत देखिएपछि उक्त बैंकको एफपीओ माग गर्दै आवेदन गर्ने १२ हजार २५८ जना लगानीकर्ता तनावमा परेका छन् । व्याजसहित हिसाव गर्दा लगानीकर्ता आजै नोक्सानमा परेका छन् । विगत तीन महिना यता बैंककाे सेयर मूल्यमा निरन्तर  गिरावट देखिएकाे छ । ८० वर्ष पुरानाे नेपाल बैंकले अहिलेसम्म सेयरधनीलार्इ एक पटक मात्र लाभांश बाँढेकाे पुराना लगानीकर्ता बताउँछन् । बैंकले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८० रुपैयाँका दरले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गरेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आजसम्म १३ लाख १ हजार ९९० कित्ता सेयरको लागि मात्र आवेदन परेको छ ।

मौद्रिक नीतिपछि सेयर बजार राताम्य, तीन नीतिकाे प्रभावमा दाेहाेराे अंककाे गिरावट

काठमाडौं । आर्थिक वर्ष २०७५/२०७६ को मौद्रिक नीति सार्वजनिक भएकाे भाेलिपल्ट सेयर बजार रातै भएकाे छ । बिहीबार सेयर बजार दोहोरो अंकले घटेकाे छ । बिहीबारको सेयर बजार १३.६६ अंकले घटेर ११९१ अंकमा झरेको छ । दिनभरको बजारमा १६३ कम्पनीको ४५ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी बीमा समूह १०७ अंकले ओरालो लागेको छ । सो दिन उत्पादन मूलक समूह बाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सेयर बजार सम्वन्धि तीन विषय मौद्रिक नीतिमा आएको छ । तर ती तीन वटै नीतिले सेयर बजारलाई सकारात्मक प्रभाग छोड्न सकेन । मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुले पुँजी कोषको २० प्रतिशतसम्म मात्र सेयर कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको छ । यसअघि पुँजी कोषको ४० प्रतिशत रकम सेयर कर्जा प्रवाह गर्न सक्ने नीति थियो । मौद्रिक नीतिमा सेयर कर्जा प्रवाह गर्दाको मूल्यमा २० प्रतिशत गिरावट आउँदासम्म मार्जिन कल गर्न नपर्ने व्यवस्था गरिएको छ । हाल व्यवहारमा बैंक तथा वित्तीय संस्थाहरुले ३० प्रतिशत गिरावट आउँदा पनि मार्जिन कल नगर्ने गरेकोले नयाँ मौद्रिक नीतिको प्रभाव कम परेको लगानीकर्ताहरुको बुझाइ छ । नियमत कर्जा प्रवाह गर्दाको भन्दा १० प्रतिशतभन्दा बढी सेयर मूल्य घट्दा मार्जिन कल गर्नु पर्ने व्यवस्था थियो । मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुलाई पनि ब्रोकर लाईसेन्स दिने व्यवस्था गरिएको छ । अनलाईन ट्रेडिङको तयारी पुरा हुन लागेको र ब्रोकरको कारण सेयर कारोबार संकुचित अवस्थामा नरहेको विश्लेषणसहित बैंकलाई ब्रोकरको काम गर्न दिदैमा बजार मूल्यमा प्रभाव नपर्ने देखिएको छ ।