रिलायन्सको सेयर मूल्य बढेपछि मुकेश अम्बानी एकै दिनमा बने एसियाकै सबैभन्दा धनी, सम्पत्ति ४४ अर्ब ३० करोड डलर पुग्यो

एजेन्सी । अलिबाबा ग्रुपका संस्थापक ज्याकमालाई पछि पार्दै भारतका पेट्रोकेमिकल्स र टेलिकम व्यवसायी मुकेश अम्बानी एसियाको सबैभन्दा धनी व्यक्ति भएका छन् । रिलायन्स इन्डष्ट्रिज लिमिटेडको सेयर मूल्य बढेपछि उनी एसियाको धनीमा सुचिकृत भएका हुन् । शुक्रबार रिलायन्सको सेयर मूल्य १.६ प्रतिशत बढेर प्रतिकित्ता १ हजार ९९ भारु पुगेको छ । साेही दिन उनकाे कुल सम्पत्ति ४४ अर्ब ३० करोड डलर पुगेको छ । ब्लुम्बर्ग बिलिनियर इन्डिेक्सका अनुसार अलिबाबाका ज्याकमाको सम्पत्ति ४४ अर्ब डलर मात्र छ । ज्याकमालाई एसियाको धनी हुन रिलायन्सको ई कमर्शले रोकेको भारतको फाइनान्सियल एक्सप्रेसले आफनो अनलाइन संस्करणमा लेखेको छ । फाइनान्सियल एक्प्रेसकाअनुसार यो वर्ष अम्बानीले ४ अर्ब डलर सम्पत्ति बढाएका छन् । ज्याकमाको यो वर्ष सम्पत्ति १ अर्ब ४० करोड डलर घटेको छ । रिलायन्सले पेट्रोकेमिकल्सलको क्षमता दोब्बर बढाएको छ । मुकेसले मोवाइल सेवा कम्पनी जिओ इन्फोकम लिमिटेड पनि सञ्चालनमा ल्याएका छन् । धनाढ्य अम्बानीले अघिल्लो महिना मोबाइल सेवाको ग्राहक बढाएर २१ करोड ५० लाख पुर्याउने योजना सर्वाजनिक गरेका थिए । धिरुभाई अम्बानीको निधनपछि मुकेश र भाइ अनिल सन् २००५ मा छुट्टिएका थिए ।

हेजिङ शुल्क नलाग्ने भएपछि बैंकलाई डलरमा भन्दा भारुमा ऋण लिन सस्तो

काठमाडौं । वाणिज्य बैंकहरुलाई अमेरिकी डलरमा भन्दा भारतीय रुपैयाँ (भारु) ऋण लिदा ५ प्रतिशतसम्म सस्तो पर्ने देखिएको छ । भारुमा ऋण लिँदा बैंकलाई विनिमय दरबाट हुन सक्ने नोक्सानीको हेजिङ खर्च ५ प्रतिशत घट्ने भएपछि सस्तो पर्ने देखिएको हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकलाई भारुमा पनि ऋण लिन बाटो खुला गरेको छ । डलरमा ऋण लिँदा हेजिङ शुल्क ५ प्रतिशतसम्म लाग्ने अनुमान बैंकर्सले गरेका छन् । विदेशी मुद्रा विनिमय दरमा हुने जोखिम लिने संस्थाले ५ प्रतिशत हेजिङ शुल्क मागेका छन् । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै गएको, हरेक वर्ष एक डलरको मूल्य ५ रुपैयाँ बढ्दै गएकाले हेजिङ शुल्क ५ प्रतिशतसम्म मोलमोलाई भएको नेपाल बैंकर्स एसोसियसनले जनाएको छ । वैशाखयता डलर मजवुत भई ११० रुपैयाँ पुगेको छ । यसले गर्दा डलरको जोखिम अझै बढाएको बैकर्सको भनाई छ । एसोसियसनले डलरमा ऋण लिँदा ब्याज, कमिशन, सेवा शुल्क, व्यवस्थापन खर्च, हेजिङ शुल्क र करसहित लागत १७.६४ प्रतिशत पुग्ने भन्दै संघले नेपालको भन्दा महंगो कर्जा लिन नसकिने भनेपछि राष्ट्र बैंकले भारुमा पनि ऋण लिन सक्ने व्यवस्था गरेको हो । बैंकर्सको भनाईलाई आधार मान्दा भारुमा ऋण लिदा १२ प्रतिशतसम्म ऋण लिन सकिने छ । विद्यमान व्यवस्थामा विदेशी मुद्रामा ऋण ल्याउन व्यवहारिक नभएको भन्दै बैंकर्स संघले आर्थिक विधयेक (बजेट)मा आवश्यक संशोधन गर्न माग गरेको छ । बैंकर्सले माग गरेकाले भारुमा ऋण लिन खुला गरेको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । नेपाली रुपैयासँग स्थीर विनिमय दर रहेकाले भारुमा ऋण लिदा विनिमय जोखिम नहुने भएकाले डलर भन्दा भारुमा सस्तो पर्ने उनको भनाई छ । “कर, सेवा शुल्क र अन्य शुल्क भारुमा पनि लाग्न सक्छ” उनले भने स्थीर विनिमय दरका कारण हेजिङ लागत भने हुँदैन । त्यसैले भारुमा सस्तो पर्ने देखिएको हो ।” बैंकर्स संघले असार १० गते अर्थमन्त्री युवराज खतिवडालाई पत्र लेख्दै विदेशी मुद्रामा ऋण लिने व्यवस्थालाई प्रोत्साहित गर्न र ऋणको व्याज तथा सेवा शुल्कमा लाग्ने आयकर छुट गर्न माग गरेको छ । बजेट संघीय संसदबाट पारित भएकाले करको दरमा पुनरावलोकन हुने संभावना छैन । यता १७ प्रतिशतभन्दा बढीको लागतमा विदेशी मुद्रामा ऋण लिएर नेपाललाई फाइदा नहुने बैंकर्सहरुले बताएका छन् । ‘नेपाली भित्रको निक्षेपमा ब्याज ११ प्रतिशत पुगेपछि सस्तो व्याजदरमा विदेशी मुद्रामा ऋण ल्याउने भनिएको हो । तर विदेशबाट लिने यस्तो ऋणको लागि १७ प्रतिशत भएपछि कसैलाई पनि फाइदा नहुने बैंकर्सको भनाइ हो । राष्ट्र बैंकले तोकेअनुसार लेइवर दरमा ३ प्रतिशतसम्म थप गर्दा वार्षिक व्याजदर ५ प्रतिशत हुनेछ । विदेशबाट ऋण लिनको लागि विचौलियाको काम गर्ने इन्भेष्टमेन्ट बैंकर्स वा पोर्टफोलिया म्यानेजरको सहयोग अनिवार्य आवश्यक हुन्छ । उनीहरुले कुल ऋण रकमको १ देखि २ प्रतिशत सेवा शुल्क लिने बैकर्स संघको तर्क छ । विदेशी मुद्रा विनिमय दरमा हुने जोखिम लिने संस्थाले ५ प्रतिशत हेजिङ शुल्क मागेका छन् । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै गएको, औषतमा हरेक वर्ष एक डलरको मूल्य ५ रुपैयाँ बढ्दै गएको तर्कसहित हेजिङ सुविधा दिनेले ५ प्रतिशतसम्म बार्गेनिङ् गरेको संघले जनाएको छ । त्यस्तै, विदेशी मुद्रामा प्राप्त ऋणमा भुक्तानी हुने व्याज तथा व्यवस्थापन बापतको एजेन्सी कमिशन भुक्तानीमा आयकर ऐन अनुसार आयकर १५ प्रतिशत लाग्ने छ । यसरी ब्याज, ब्रोकर कमिशन, हेजिङ शुल्क, आयकर र व्यवस्थापन शुल्कसहित जोड्दा विदेशी मुद्रामा लिने ऋणको लागत १७.६४ प्रतिशत देखिने संघको हिसाव छ । लगानीयोग्य पुँजीको अभाव भएपछि राष्ट्र बैंकले वाणिज्य बैंकलाई प्राथमिक पुँजीको २५ प्रतिशतसम्म परिवत्र्य विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेको छ । झण्डै आधा दर्जन बैंकले विश्व बैंक अन्र्तगतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) संग डलरमा ऋण लिनका लागि सम्झौता गरेका छन् । नेपाली बैंकले ७८ अर्ब रुपैयाँसम्म विदेशबाट ऋण लिन पाउने छन् । विदेशी मुद्रामा ऋण लिँदा लागत १७.६४ प्रतिशत पर्ने, बजेट संशोधन गर्न बैंकर्स संघको माग

त्रिशूली र देवीघाट जलविद्युत् सञ्चालन हुन अझै एक साता लाग्ने, ३५ मेगावाट बिजुली प्रणाली बाहिर

नुवाकोट । त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार अपराह्न लागेको आगोले पुर्याएको क्षतिको मर्मत गर्न अझै एक साता लाग्ने भएको छ । जलविद्युत् गृहबाट उत्पादित विद्युत्लाई टान्सफर्मरसम्म पुर्याउन प्रयोग गरिएको विद्युतीय तारमा जडान गरिएको बसबार र तीनवटा ब्रेकरमा आगोले क्षति पुर्याएपछि २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्र र १४ मेगावाटको देवीघाट जलविद्युत् केन्द्रको उत्पादन बन्द छ । विद्युत् उत्पादन गर्न सकिने भए पनि मर्मतका लागि बन्द गर्नुपर्ने बाध्यताले मंगलबार अपराह्नको आगलागीलगत्तै त्रिशूली र बुधबारदेखि देवीघाट जलविद्युत् केन्द्र बन्द गरिएको त्रिशूली जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले जानकारी दिए । आगलागीबाट क्षति पुगेका टर्बाइनको मर्मतमा नेपाल विद्युत् प्राधिकरणका १५ जनाभन्दा बढी प्राविधिक खटिएको भट्टले जानकारी दिए । उनका अनुसार आगोले क्षति पुगेका ब्रेकर भैरहवा सवस्टेशनमा मौजुदा रहेकाले त्यहाँबाट ल्याउन पहल भइरहेको छ । “पूर्णक्षति भएका उपकरणको लगत लिएर सामग्री मगाएका छौं।” उनले भने, “आगो निभाउन फायर एक्सटिनगुइसर ग्यास पर्याप्त नभएपछि दमकलमार्फत पानीसमेत प्रयोग भएकाले त्यसको कारण क्षति पुगेका उपकरण कति भन्ने यकिन हुन अझै बाँकी छ ।” उनका अनुसार प्रारम्भिक लगतको आधारमा १ करोडभन्दा बढी क्षति पुगेको छ । त्रिशूली जलविद्युत् केन्द्र मर्मतका लागि पानी बन्द गर्नुपर्ने भएकाले त्यसको निकास पानीबाट सञ्चालनमा रहेको देवीघाट जलविद्युत् केन्द्र पनि बन्द गरिएको हो । बन्द भएका दुई जलविद्युत् केन्द्रको उत्पादन क्षमता ३५ मेगावाट रहेको र सो अवरुद्ध हुँदा दैनिक ५० लाख रुपैयाँ भन्दा बढीको विद्युत् उत्पादन रोकिएको त्रिशूली जलविद्युत् केन्द्रका वितरण शाखा प्रमुख सन्तोष कुमारले जानकारी दिए।