त्रिपुरेश्वर-कलंकी-नागढुंगा र चावहिल-जोरपाटी-साँखु सडक यथास्थितीमै कालोपत्रे

काठमाडौं । सरकारले त्रिपुरेश्वर-कलंकी-नागढुंगा र चावहिल-जोरपाटी-साँखु सडक यथास्थितीमै कालोपत्रे गर्ने निर्णय गरेको छ । सरकारले यस्ताे निर्णय गरेपछि सडक विस्तार आयोजनाले सोही बमोजिम कार्ययोजना समेत तयार पारिसकेको छ । सडक विस्तार सम्बन्धमा सर्वाेच्च अदालतको निर्णय, नागरिकले भोग्नु परेको सास्ती लगायतका कारण देखाई साउन १० गते बसेको मन्त्रिपरिषद बैठकले यथास्थितिमै सडक कालोपत्रे गर्ने निर्णय गरेको थियो । ‘मन्त्रीपरिषदको निर्णय बमोजिम सडक कालोपत्रे गर्ने योजना बनाउन हामीले सम्बन्धित ठेकेदारहरुलाई परिपत्र गरिसकेका छौं, चालु आर्थिक बर्षभित्र उपलब्ध चौँडाईमा कालोपत्रे भैसक्छ’, सडक विभागको सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्वविजय लाल श्रेष्ठले विकासन्युजसँग भने । त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक १२.४८ किलोमिटर लम्बाईको छ । त्यस्तै, चावहिल–जोरपाटी–साँखु–सडक पनि यथास्थितीमै कालोपत्रे हुँदैछ । सो सडक खण्ड पनि १२.५० किलोमिटर लामो नै रहेको छ ।यी दुई सडकको कुल लम्बाई २४.९८ किलोमिटर छ तर यसमा २७ सय ३५ वटा अवरोध रहेका छन् । त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडक खण्डमा १ हजार १४९ वटा अवरोध रहेका छन् । त्यस्तै, चावहिल–जोरपाटी–साँखु सडकमा १ हजार ५ सय ८६ वटा अवरोध रहेका छन् । २०७४ असोज २ गते सर्वाेच्च अदालतको फैसला र त्यसको पुर्ण पाठले सडक विस्तार अभियानमा झनै समस्या थपिदिएपछि सरकारले यथास्थितीमै कालोपत्रे गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले बताए । उनै प्रस्तावमा मन्त्रीपरिषदले त्रिपुरेश्वर कलंकी नागढुंगा र चावहिल जोरपाटी साँखु सडक यथास्तितिमै कालोपर्ने गर्ने निर्णय गरेको थियो ।१५ दिनभित्र यी दुबै खण्डलाई हिलो धुलो र खाल्डाखुल्डी मुक्त बनाउन निर्देशन दिईसकेका छन् ।

संचय कोषले ६ लाख संचयकर्ताको स्वास्थ्य बीमा सित्तैमा गरिदिने, भदौदेखि कार्यान्वयन ल्याउने तयारी

काठमाडौं । कर्मचारी संचय कोषले भदौदेखि ६ लाख संचयकर्ताको स्वास्थ्य बीमा सित्तैमा गरिदिने भएको छ । कोषले वार्षिकोत्सवको अवसर पारेर संचयकर्ताको स्वास्थ्य बीमा योजना सार्वजनिक गर्ने भएको हो । भदौ अन्तिम साता कोषको वार्षिकोत्सव रहेको छ । वार्षिकोत्सवका अवसर पारेर संचयकर्तालाई दिने स्वास्थ्य बीमा योजना सार्वजनिक गर्ने तयारी भइरहेको कोषका प्रशासक तुल्सी गौतमले बताए । उनले स्वास्थ्य बीमाका लागि काम भइरहेको सुनाए । कोषले सरकार स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा संचयकर्ताको स्वास्थ्य बीमा गर्ने भएको छ । राष्ट्रिय बीमा सरकारी कम्पनी भएकाले उसैसंग बीमा योजना हुने उनको तर्क छ । संचयकर्ताको स्वास्थ्य बीमामा कोषले वार्षिक ६० करोड रुपैयाँ लगानी गर्ने भएको छ । एक जनालाई न्युनतम ५०० देखि अधिकतम १ हजार रुपैयाँ बीमा शुल्क लाग्ने अनुमान कोषले गरेको छ । कोषको आफनै आम्दानीबाट संचयकर्ताको बीमा गरिदिन लागेको हो । स्वास्थ्य बीमामा सबै रकम कोषले व्योहर्ने र संचयकर्ताको दायित्व नहुने भएको छ । “कोषले संचयकर्तालाई औषधी उपचार सुविधा दिइरहेको छ । यसलाई अझ व्यवस्थित गरी बीमामार्फत उपचार खर्चको व्यवस्था मिलाउन लागिएको हो” उनले भने । ठुला र जटिल रोग लागेकालाई उपचार खर्चमा राहत हुने उनको भनाई छ । रोगको प्रकृतिअनुसार क्षतिपूर्ति रकम फरक हुने छ । यो योजनाअन्र्तगत गम्भीर प्रकृतिको रोग लागेकालाई प्रतिकर्मचारी न्युनतम ८ लाखदेखि १० लाखसम्म उपचार बीमाबाट हुने व्यवस्था मिलाउन लागेको हो । यस्तै दुर्घटना बीमा न्युनतम ३ देखि ५ लाख र औषधी उपचार खर्च १ देखि २ लाख रुपैयाँसम्मको ब्योहर्ने गरी स्वास्थ्य बीमा योजना कार्यन्वयन गर्न लागेको हो । कोषले अहिले पनि संचयकर्तालाई औषधी उपचार खर्च दिदै आएको बताउदै उनले अब बीमाबाट ब्योहर्ने किसिमले आउन लागेको स्पष्टपारे । दुर्घटना क्षतिपुर्ति, औषधी उपचार र प्रसुति उपचारका लागि कोषले पैसा दिदै आएको छ ।

मनाङमा स्की र से फोक्सुण्डोमा लक्जरी रिसोर्टको सम्भावना खोजी सुरु

काठमाडौं । मनाङमा स्की र से फोक्सुण्डोमा लक्जरी रिसोर्टको सम्भावना खोजी सुरु भएको छ । लगानी बोर्डले मनाङमा स्की रिसोर्ट र से फोक्सुण्डोमा लक्जरी रिसोर्टको सम्भावना खोज्ने कम्पनीको छनौट सुरु गरेको हो । बोर्डले सार्वजनिक सूचना प्रकाशित गरेर सम्भाव्यता अध्ययनका लागि इच्छुक कम्पनीहरुलाई आव्हान गरेको हो । बोर्डले २१ दिनभित्र मनाङमा हिउँ खेल्ने स्की रिसोर्ट, डोल्पाको से फोक्सुण्डोमा लक्जरी रिसोर्ट, कुनै उपयुक्त ठाउँमा शिसा उद्योग, एकिकृत कृषि केन्द्र, शिक्षा, स्वास्थ्य तथा खेलकुद शहर निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने कम्पनी छनौट गर्न लागेको हो । पाँच करोड भन्दा बढी रकम विनियोजन गरिएको लगानी बोर्डका प्रवक्ता उत्तम भक्त बाग्लेले विकासन्युजलाई जानकारी दिए । सम्भाव्यता अध्ययनपछि डीपीआर निर्माणको बाटोमा अघि बढ्ने पनि उनले जानकारी दिए । न्युनतम ६० अंक ल्याउने उत्कृष्ठ ६ वटा आवेदकलाई प्रारम्भिक छनौटमा सहभागी गराइने पनि बोर्डले जनाएको छ । नेपाललाई हिमालयन पर्यटन गन्तव्यका रुपमा स्थापीत गर्न स्की रिसोर्ट र लक्जरी रिसोर्ट निर्माण गर्न लागिएको हो । त्यस्तै, शिक्षा स्वास्थ्य र खेलुकदको हबका रुपमा पनि नेपाललाई स्थापना गर्न सकिने देखेरै त्यस्तो शहरको अवधारणा अघि सारिएको पनि बोर्डले जनाएको छ । एकिकृत कुषि केन्द्र र शिसा उद्योगले पनि नयाँ आयाम थप्ने बोर्डको बुझाई रहेको छ ।