बिपिडब्लु लघुवित्तको आईपीओ आजदेखि निष्काशन, १ हजार कित्तासम्म खरिद गर्न पाइने

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले आज फागुन १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले सर्वसाधारण लगानीकर्ताका लागि फागुन १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । लघुवित्तले लघुवित्तले जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशत अर्थात् ९७ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९७ हजार कित्ता निष्काशन गरेको हो । जसमध्ये ९ हजार ७ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ भने १ हजार ५ सय कित्ता कर्मचारी र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओमा लगानीकर्ताले छिटोमा फागुन २३ गते र ढिलोमा चैत २ गतेसम्म आवेदन दिन सक्नेछन् । लघुपित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स रहेको छ । लघुवित्तको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओलाई इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

पूँजी बढाएर मात्र हुँदैन, बजारमा राम्रो छवि राख्न सक्नुपर्छ : अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुले चुक्ता पूँजी मात्र बढाएर बढाएर मात्रै नहुने बताएका छन् । बुधबार सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीचको एकीकृत कारोबार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘कम्पनीहरुले लोगो परिवर्तन गरेर, पूँजी बढाएर मात्रै हुँदैन, पूँजी अनुसारको व्यवसाय गर्नु पर्यो, बजारमा सकारात्मक इमेज राख्न सक्नु पर्यो, बीमा दाबी भुक्तानी समयमा दिनु पर्यो, यदि समयमा दाबी भुक्तानी गरीएन भने ग्राहकले सराप्ने गर्छन्,’ उनले भने । अध्यक्ष सिलवालले बीमा कम्पनीहरु काठमाडौं केन्द्रित भएको बताउँदै अब काठमाडौं बाहिर गएर पनि कम्पनीहरुले बिजनेस गर्नुपर्ने बताए । उनले कम्पनीका कर्मचारीलाई बिजनेस गर्न र दाबी परेपछि तिर्न पनि सिकाउनु पर्ने बताएका छन् । यस्तै, उनले बीमा प्राधिकरणले मर्जर गर्ने कुनै पनि दवाव नदिएको बताएका छन् । उनले कम्पनीलाई आफै पूँजी थप्न वा मर्जरका माध्यमबाट पूँजी बढाउन सक्ने दुई विकल्प दिइएकोमा अधिकांशले मर्जर बाटो रोजेको बताए । ‘थप पूँजी आफै बजारमा ल्याउनुभन्दा अहिले भएको पूँजीलाई नै एकीकृत गर्नुपर्ने विकल्प उचित हो,’ उनले भने । साथै, उनले कम्पनीहरुले नियामकको नीति निर्देशनमा बसेमा प्राधिकरणले जुनसुकै अवस्थामा पनि सहजिकरण गर्ने समेत बताएका छन् ।

समयमा एकीकृत कारोबार गर्न सफल भयौं : सीईओ क्षेत्री

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीरेन्द्र बैदवार क्षेत्रीले निर्धारित समयमा एकीकृत कारोबार गर्न सफल भएको बताएका छन् । बुधबार सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीचको एकीकृत कारोबार कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले कम्पनीले जटिल प्रक्रियालाई सहज ढंगले गर्न सफल भएको बताएका छन् । बीमा क्षेत्रलाई स्वतस्फूर्त विस्तार गर्न र विकास गर्न मर्जर आवश्यक रहेको पनि उनको भनाई छ । यस्तै, मर्जर कमिटी संयोजक रामेश्वर बस्यालले मर्जर पश्चात् सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बीमा क्षेत्रमा ठूलो कम्पनीको रुपमा उभिने बताएका छन् । ‘मर्जरपछि सशक्त बन्दै कम्पनी अघि बढ्छ,’ उनले भने । उनले कम्पनीले सिनर्जी ल्याएर लगानीकर्तालाई पनि राम्रो प्रतिफल दिने बताए । सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीचको यो मर्जर निर्जीवन बीमा क्षेत्र कै तेश्रो हो । तर बीमा क्षेत्रमा भने यो चौथो मर्जर हो ।