३ लघुवित्तको वार्षिक साधारण सभा आज बस्ने, २१ प्रतिशतसम्म लाभांश पारित हुँदै

काठमाडौं । विभिन्न ३ लघुवित्त वित्तीय संस्थाको आज चैत्र २८ गते वार्षिक साधारणसभा बस्दैछ । नयाँ सारथी लघुवित्त, किसान लघुवित्त र विजय लघुवित्तको वार्षिक साधारणसभा आज बस्दैछ । किसान लघुवित्तको चौँथो वार्षिक साधारण सभा र्याकेट इभेण्ट्स, सुन्दरबस्ती, बुढानिलकण्ठ ८, काठमाडौंमा विहान ११ बजे बस्नेछ । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद गरी कूल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, नयाँ सारथी लघुवित्तको १४ औँ वार्षिक साधारणसभा होटल जुगल मिरावलचोक धुलिखेल, काभ्रेपलान्चोकमा दिउँसो १ बजे बस्नेछ । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले विजय लघुवित्तँग १ः१ को स्वाप रेसियोमा मर्जरमा जाने प्रस्ताव समेत पारित गर्नेछ । यस्तै, विजय लघुवित्तको १० औँ वार्षिक साधारणसभा विजय स्रोत केन्द्र गैँडाकोट नवलपरासीमा बिहान ११ः३० बजे बस्नेछ । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । तीनै लघुवित्तको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असारसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

फोनपेको नयाँ वर्ष अभियान : क्युआर मार्फत भुक्तानी गर्दा स्कुटर र १ तोला सुन उपहार

काठमाडौं । फोनपेले नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा ‘फोनपे गर्ने हो १ क्युआरमा उपहार जित्ने हो १’ योजना ल्याएको छ । चैत २९ देखि वैशाख ५ गतेसम्म नेपाल अधिराज्यभर लागू गरिएको यस योजनामा व्यवसायी तथा ग्राहकहरू सहभागी भई १ तोला सुन र स्कुटर प्राप्त गर्न सक्ने फोनपेले जनाएको छ । योजना अवधिभित्र मोबाइल बैंकिङ एप वा वालेटबाट फोनपेको क्युआर प्रणाली प्रयोग गरी भुक्तानी गर्ने ग्राहकहरूले ‘लक्की ड्र’मार्फत इप्लुटो ब्रान्डको विद्युतीय स्कुटर जित्न सक्नेछन् भने भुक्तानी प्राप्त गर्ने व्यवसायीले ‘लक्की ड्र’मार्फत १ तोला सुन जित्न सक्नेछन् । फोनपेको नेपालमा डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने र प्रयोगकर्ताहरूलाई क्युआर भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्य अनुरूप योजना ल्याइएको फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले बताए । यसको लक्ष्य प्रयोगकर्ता र व्यवसायीहरूलाई समान रूपमा डिजिटल भुक्तानीको सजिलो, छिटो र सुविधाजनक माध्यम अपनाउन प्रोत्साहित गर्ने भएको उनले बताए ।

बिजनेसमा शिखरलाई पछ्याउँदै सलिको र सिद्धार्थ प्रिमियर, नेको र हिमालयन एभरेष्टबीच टक्कर

काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीमध्ये शिखर इन्स्योरेन्सको अग्रता कायमै रहेको छ । पछिल्लो समय कम्पनीहरु धमाधम मर्ज हुँदा पनि मर्जरमा नगएको शिखर इन्स्योरेन्सको बीमाशुल्क सबैभन्दा बढी छ । नेपाल बीमा प्राधिकरणका अनुसार शिखरले गत फागुनसम्ममा ३ अर्ब ३४ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो महिनाको तुलनामा १२.२३ प्रतिशतले बढी हो । माघमा कम्पनीले २ अर्ब ९८ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । शिखरलाई मर्जरमा गई बनेको नयाँ कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी अर्थात ‘सलिको’ले पछ्याएको छ । समीक्षा अवधिमा इन्स्योरेन्सले ३ अर्ब १० करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जुन गत माघको तुलनामा १०.४८ प्रतिशतले बढी हो । त्यस्तै, मर्जरपछि बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा व्यवसाय पनि सोही प्रतिशत अर्थात १०.६७ प्रतिशतले बढेको छ । कम्पनीले फागुनसम्ममा २ अर्ब ९८ करोड बराबरको प्रिमियम उठाएको छ । त्यसैगरी, बढी प्रिमियम संकलन गर्नेको चौथो स्थानमा नेको इन्स्योरेन्स छ । इन्स्योरेन्सले गत माघको तुलनामा १२.६८ प्रतिशतले बिजनेस बढाई १ अर्ब ९७ करोड रुपैयाँ पुर्याएको छ । सबैभन्दा पहिला मर्ज भई एकीकृत कारोबार गरेको हिमालयन एभरेष्ट इन्स्योरेन्स बीमाशुल्कको आधारमा पाँचौ स्थानमा छ । समीक्षा अवधिमा इन्स्योरेन्सले १ अर्ब ९१ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । त्यस्तै, अन्य ७ कम्पनीले एक अर्ब माथिको प्रिमियम संकलन गरेका छन् । गत माघमा करोडको क्लबमा रहेको नेपाल र प्रभु इन्स्योरेन्स फागुनमा अर्ब क्लबमा प्रवेश गर्न सफल भएका छन् । एक महिनामा यी कम्पनीले क्रमशः १२.८१ प्रतिशत र १०.८५ प्रतिशतले प्रिमियम बढाएका छन् । प्रतिशतको आधारमा हेर्दा बिजनेश व्यवसाय बढाउनेमा सानिमा जिआईसी आक्रमक देखिएको छ । कम्पनीले पछिल्लो एक महिनामा सबैभन्दा बढी प्रतिशत अर्थात १८.१६ प्रतिशतले आफ्नो व्यवसाय बढाएको छ । समीक्षा अवधिमा कम्पनीले एक अर्ब ४१ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । यता करोडको क्लबमा बाँकी ४ कम्पनी रहेका छन् । जसमा दि ओरिएन्टल, प्रुडेन्सियल, युनाइटेड र नेशनल इन्स्योरेन्स रहेका छन् । समग्रमा निर्जीवन बीमा व्यवसाय एक महिनामा १२.१७ प्रतिशतले बढेको छ । गत माघमा २३ अर्ब ६ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका निर्जीवन बीमा कम्पनीले फागुनसम्ममा २५ अर्ब ८७ करोड रुपैयाँ प्रिमियम उठाएका छन् । एक महिनामा कसको कति बढ्यो ?