मेगा क्यापिटल मार्केट्सले सुरु गर्याे २०:८० लगानी व्यवस्थापन सेवा
काठमाडौं । मेगा क्यापिटल मार्केट्सले नयाँ वर्षको अवसरमा २०:८० लगानी व्यवस्थापन सेवा सुरु गरेको छ । नयाँ वर्ष २०८० को अवसरमा ग्राहक वर्गलाई न्यूनतम लागतमा मेगा क्यापिटल मार्केट्सले २०:८० लगानी व्यवस्थापन सेवा सुरु गरेको हो । उक्त सेवा अन्तर्गत ग्राहकले लगानी पोर्टफोलियोमा हाल विद्ममान मुद्दती निक्षेपमा प्राप्त गर्न सकिने अधिकतम १२ प्रतिशत ब्याजदर भन्दा बढी नाफा भएको खण्डमा मात्र बढी नाफाको २० प्रतिशत नाफा साझेदारी मेगा क्यापिटलले लिने गरी वार्षिक सञ्चालन सेवा शुल्क मा शतप्रतिशत छुट प्राप्त गर्न सक्ने छन् । न्यून जोखिम आय उपकरणमा प्राप्त हुने आम्दानी सम्ममा सेवा शुल्क नलाग्ने हुनाले ग्राहक वर्गले न्यून लागतमा व्यवसायिक लगानी व्यवस्थापकको सेवा प्राप्त गर्न तथा सेयर बजार तर्फ लगानी प्रारम्भ गर्न मद्दत पु¥याउने क्यापिटलले जनाएको छ । क्यापिटलको अनुसार न्यूनतम ३ लाख नगद वा सेयर हस्ताणतरण गरेर उक्त सेवा न्यूनतम १ वर्षको लागि लिन सकिने छ र उक्त सेवा २०८० बैशाख महिनाभरिको लागि मात्र लागु हुने र अपेक्षित प्रतिफल १५ देखि २० प्रतिशत हुने अनुमान गरिएको छ । सेयर बजारमा लगानी गर्ने इच्छा हुदाहुँदै पनि पर्याप्त समय दिन असमर्थ वा सेयर बजार सम्बन्धि जानकारी तथा अनुभव नभएको अवस्थामा क्यापिटलले विशेषज्ञहरुबाट व्यावसायिक तवरले लगानी व्यवस्थापन सेवा दिने जनाएको छ ।
९२ अंकले बढ्यो नेप्से परिसूचक, डेढ महिनायताकै उच्च कारोबार
काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक ९२.२२ अंकले बढेको छ । लामो समय पछि परिसूचक ४.९३ प्रतिशतले बढेर १९६३.५५ बिन्दुमा पुगेको छ । त्यस्तै, बजारमा कारोबार रकममा पनि सुधार देखिएको छ । बजारमा एक अर्ब ९७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन डेढ महिनायताकै उच्च कारोबार हो । गत फागुन १५ गतेको बजारमा एक अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बैशाखदेखि वाणिज्य बैंकहरुको ब्याजदर घट्ने भएसँगै सेयर बजारमा एकाएक हरियाली छाएको हो । यससँगै कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । बजारमा सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ११ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । जसको अन्तिम कारोबार प्रतिकित्ता ४१३ रुपैयाँमा भएको छ । अधिकांश कम्पनीको सेयर मूल्य बढेको बजारमा ९ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा किनबेच भएको छ । जसको शीर्ष स्थानमा तीन म्युचुअल फण्ड रहेका छन् । सिद्धार्थ इक्वीटी फण्ड, सिटिजन्स म्युचुअल फण्ड १ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ को मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, आदर्श लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढको छ । त्यसैगरी, कालिञ्चोक दर्शनको ९.९८ प्रतिशत, गणपति लघुवित्त वित्तीय संस्थाको ९.९७, बलेफी हाइड्रोपावरको ९.६७ प्रतिशत र सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.५३ प्रतिशतले बढेको छ । यसकारण बढ्यो बुधबारको सेयर बजार नेपाल बैंकर्स संघले बैशाखदेखि वाणिज्य बैंकहरुको ब्याजदर घटाउने निर्णय गरेसँगै त्यसको सकारात्मक प्रभाव बजारमा देखिएको हो । बैंकहरुले बैशाख १ गतेदेखि लागू हुने गरी निक्षेपमा १.०१ प्रतिशत घटाएर ९.९९ प्रतिशतमा झारेको हो । बैशाखमा बैंकहरुले ब्यक्तिगत तर्फको मुद्दती निक्षेपमा ९.९९ प्रतिशत र संस्थागत तर्फको मुद्दती निक्षेपमा ७.९९ प्रतिशत ब्याजदर निर्धारण गरेका हुन् । यस्तै, साधारण बचत खातामा भने न्यूनतम ५.४० प्रतिशतदेखि ७.४० प्रतिशत प्रतिशतसम्म ब्याजदर निर्धारण गर्ने भएका छन् ।
नवनियुक्त ७४ जना कर्मचारीलाई १४ दिने तालिम दिँदै राष्ट्रिय वाणिज्य बैंक
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नवनियुक्त ७४ जना कर्मचारीलाई पूर्व सेवाकालिन तालिम दिइरहेको छ । बैंकले काठमाडौंमा बुधबारबाट चौध दिने पूर्व सेवाकालिन तालिम शुरु गरेको हो । बैंकले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशकालागि छनौट भएका प्रशासन सेवाका नवनियुक्त सहायक ७४ जना कर्मचारीहरुलाई तालिम दिन लागेको हो । तालिमको उद्घाटन गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले कर्मचारीले दश पाँचको जागिर मात्र नगरेर व्यवसायिक ढङ्गबाट काम गरेरमा ग्राहकहरु सन्तुष्ट भई संस्थाको उत्पादकत्व वृद्धि हुने बताए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराउँदै ग्राहकको बैंकप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्ने बताए । कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक प्रशासन सेवाका ७४ जना कर्मचारीहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए । त्यस्तै, कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विनयरमण पौडेल, विभागीय प्रमुख पद्यमा लक्ष्मी जि.सी, मानव संशाधन विभागका उपप्रमुख हरिवावु आचार्यलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६६ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ्ग, क्युआर कोड सेवा, पीओएस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्युआर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग तथा बिना ईन्टरनेट चल्ने यूएसएसडी मोबाईल बैंकिङ्गका सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।