मानुषी लघुवित्तको केन्द्र प्रमुख गोष्ठी सम्पन्न
काठमाडौं । मानुषी लघुवित्तले वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तका अध्यक्ष पद्माशना शाक्यको सभापतित्वमा भएको कार्यक्रमको काठमाडौं महानगरकी उपप्रमुख सुुनिता डंगोलले उद्घाटन गरेकी हुन् । कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख डंगोलले महिला सशक्तीकरणमा लघुवित्तले उल्लेख्य भूमिका निर्वाह गरेको बताइन् । महिला उद्यमशीलताको विकासका लागि महानगरले गृहकार्य गरिरहेको उनको भनाइ थियो । कार्यक्रममा संस्थाको प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले संस्थाको विगत र वर्तमान अवस्थाबारे प्रकाश पारेकी थिइन् । कार्यक्रमका अन्य वक्ताले विद्यमान लघुवित्तको समस्या र त्यसको समाधानको विषयमा धारणा राखेका थिए । कार्यक्रममा उपस्थित केन्द्र प्रमुखहरूलाई लघुवित्तमा विद्यमान समस्या र समाधानका विषयमा छलफल चलाइएको संस्थाले जनाएको छ । त्यस्तै, गत वर्ष उत्कृष्ट कार्य गर्न सफल तीन केन्द्रलाई पुरस्कृत गरिएको कार्यक्रममा केही सदस्यले आफ्ना सफलताका कथासमेत सुनाएका थिए । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको लघुवित्तले हाल देशका १४ जिल्लामा ३६ शाखामार्फत ३४ हजार चार सयभन्दा बढी सदस्यलाई एक सय ३२ जना कर्मचारीमार्फत सेवा दिइरहेको जनाएको छ । हालसम्म संस्थाले ८४ करोड ८६ लाख रुपैयाँ बचत संकलन गरी एक अर्ब ५२ करोड रुपैयाँ लगानी गरेको उल्लेख छ ।
कमोडिटी मार्केट सञ्चालनको लागि बोर्डले पुनः माग्यो आवेदन, १० दिनभित्र दिइसक्नु पर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनको लागि पुनः आवेदन मागेको छ । यसअघि खुलाएको आवेदनमा सर्वोच्च अदालतमा रिट परेको र उक्त रिट खारेजी भएसँगै बोर्डले इच्छुक संस्थासमक्ष पुनः आवेदन माग गरेको हो । बोर्डले २०७९ चैत ३० गते एक सूचना जारी गर्दै आगामी १० दिनभित्र निवेदन पेश गर्न आग्रह गरेको छ । साविकको सूचना बमोजिम तोकिएको म्यादमध्ये बाँकी रहेको म्याद अनुसार उक्त १० दिनको मिति तोकिएको बोर्डले जानकारी गराएको छ । यदि निवेदन दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा इच्छुकले सोको लगत्तै कार्यालय खुलेको दिन कार्यालय समय भित्र निवेदन बुझाउन सक्नेछन् । बोर्डले २०७९ असोज २ गते एक सूचना जारी गर्दै धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्ने सिफारिसका लागि एवं कमोडिटी मार्केट सञ्चालन गर्न इच्छुक संस्थालाई निवेदन माग गरेको थियो । जसको समयावधि ४५ दिन तोकिएको थियो । तर सर्वोच्च अदालतबाट २०७९ कार्त्तिक ४ गते जारी भएको अल्पकालिन अन्तरिम आदेश अनुरुप बोर्डबाट अर्को निर्णय नहुँदासम्मका लागि उक्त निवेदन प्रकृया स्थागित भएको थियो । यससँगै अदालतले गत चैत २६ गते रिट खारेजी भएको फैसला गरेसँगै बोर्डले उक्त प्रकृयालाई पुनः अघि बढाउने निर्णय गरेको हो । जसअनुसार नै १० दिनको म्याद तोकिएको सूचनामा उल्लेख छ । ।
कुमारी सुनौलो लगानी योजनाको इकाई बाँडफाँड
काठमाडौं । कुमारी सुनौलो लगानी योजनाको इकाई बाँडफाँड भएकाे छ । कुमारी क्यापिटलको निष्काशन तथा विक्री प्रबन्धकत्वमा कुमारी सामूहिक लगानी कोष अन्तरगत सञ्चालन हुने कुमारी सुनौलो लगानी योजनाको इकाई बाँडफाँड भएको हाे । योजनाले प्रति इकाई १० रुपैयाँको दरले दश करोड इकाईको १५ प्रतिशत अर्थात एक करोड ५० लाख इकाई कोष प्रबद्र्धक कम्पनी कुमारी बैंकलाई सुरक्षित राख्छ । सार्वजनिक निष्काशन मार्फत ३५ करोड रकम बराबरको ३ करोड पचास लाख इकाइ चैत ९ देखि चैत २३ गते सम्म निष्काशन तथा विक्री खुल्ला गरिएकोमा १५ प्रतिशत विजपूँजी वापतको १,५०,००,००० इकाई कोष प्रवद्र्धक कुमारी बैंकलाई बाँडफाँड गरिएको जनाएको छ । बाँकी सर्वसाधारण तथा संघ–संस्थाहरुबाट प्राप्त आवेदकहरुलाई बाँडफाँड गर्न आज चैत २९ गते बुधबार विहान १०ः३० बजे कुमारी क्यापिटल, नागपोखरी १, नक्साल, काठमाण्डौमा आमन्त्रित सदस्यहरु तथा प्रतिनिधिहरुको उपस्थितिमा बैठक बसी जम्मा आवेदन दिने ३७,४३४ जना मध्ये रितपुर्वक आवेदन दिनुहुने ३७,४१२ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाईहरु बाँडफाँड गरिएको छ । साथै, दोहोरो आवेदन दिने २२ जना आवेदकहरुको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।