राष्ट्र बैंकले स्वीकृति नदिँदा चैतमा वार्षिक साधारण सभा गर्न सकेनौं : नेष्डो समृद्ध लघुवित्त

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वीकृति नदिएपछि चैतमा वार्षिक साधारण सभा गर्न नसकेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले बताएको छ । एजिएम क्लियरेन्सका लागि राष्ट्र बैंकमा वित्तीय विवरण पठाएपनि स्वीकृति नपाउँदा चैत मसान्तसम्म वार्षिक साधारण सभा गर्न नसकेको लघुवित्तले बताएको हो । लघुवित्तको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले ७३.६८ प्रतिशत लाभांश वितरण घोषणा गरेको थियो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत बोनस सेयर, २० प्रतिशत नगद र ३.६८ प्रतिशत कर प्रयोजनका लागि गरी कूल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । राष्ट्र बैंकको स्वीकृतिपश्चात् मात्रै लघुवित्तले वार्षिक साधारणसभा बोलाउनेछ ।

प्रभु लाइफले चामुण्डा माईको जात्राका गर्यो सहयोग

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले काभ्रेको नालामा हुने चामुण्डा माई जात्रालाई सहयोग गरेको छ । विगत २० वर्ष देखि नेपाली नयाँ वर्षका अवसरमा आयोजना हुने रथ जात्रालाई प्रभु लाइफ इन्स्योरेन्सले सहयोग गरेको हो । प्रत्यक्ष रुपमा जात्रामा सहभागी हुनेहरुका लागि प्रभु लाइफका तर्फबाट टिसर्ट प्रदान गरी सहयोग गरिएको थियो । प्रभु लाइफले स्थानीय समुदायहरुसँग सहकार्य गर्दै यस्ता जात्रा, पर्व एवं संस्कृतीको जगेर्नामा सहयोग गर्दै आइरहेको कम्पनीले जनाएको छ । हाम्रा मौलिक जात्रा, पर्वहरु हाम्रा सम्पत्ती एवं पहिचान हुन्, त्यसैले यस्ता कार्यमा हातेमालो गर्न पाउनु गर्वको विषय हो, कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । जात्रा समिति संयोजक रविनसन श्रेष्ठले प्रभु लाइफले जात्रालाई विशेष सहयोग गरी जात्रा, महोत्सवलाई महत्वका साथ लिएकोमा हार्दिक धन्यवाद व्यक्त गरे । विगतमा भक्तपुरकै जात्रालाई मानेर आएकोमा २० वर्ष अघिबाट नालामा आफ्नै जात्रा सुरु गरिएको संयोजक श्रेष्ठले बताए । नालामा रहेका नेवार समुदायलाई समेटेर जात्रा सुरु गरिएको र हाल यो जात्राले छुट्टै पहिचान एवं महत्व बोकेको छ, संयोजक श्रेष्ठले थपे ।

बैंकिङ क्षेत्रको जागिर चुनौतीपूर्ण : पूर्व गभर्नर नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवी नेपालले व्यवस्थापन विषयको अध्ययन र बैंक तथा वित्तीय संस्थामा रोजगारी निकै चुनौतीपूर्ण रहेको बताएका छन् । राष्ट्रपतिका आर्थिक सल्लाहकारसमेत रहेका पूर्वगभर्नर नेपालले बैंकिङ क्षेत्रमा डिजिटलाइजेसनको प्रभावले चुनौती थपिएको उल्लेख गरे । उडान शैक्षिक केन्द्रले आयोजना गरेको कार्यक्रममा उनले क्रिप्टोकरेन्सी (डिजिटल करेन्सी)को प्रभाव बढेकाले यो क्षेत्रमा चुनौती थपिँदै गएको बताए । ‘बैंकिङ क्षेत्रको जागिर संसारमा सबैभन्दा चूनौतीपूर्ण बनेको छ, बङ्गलादेशको बैंकबाट फ्लटहरुले डिजिटलको माध्यमबाट पैसा निकालेको घटना होस् वा अन्य किसिमका गतिविधि किन नहुन्, चूनौतीपूर्ण बनिरहेको छ,’ उनले भने । उनले कुनै पनि क्षेत्रमा व्यावसायिक सफलताका लागि अध्ययन र व्यावसायिक योजना जरुरी रहेको खाँचो औँल्याए । आफ्नो क्षमता आफैले उजागर गर्नसके विद्यार्थीलाई नेपालको कुनै पनि क्षेत्रमा जागिर पाउन कठिनाइ नहुने उनको भनाइ छ । ‘क्षमतावान विद्यार्थीलाई नेपालको कुनै पनि क्षेत्रमा जागिर पाउन अप्ठ्यारो छैन तर, त्यसका लागि कोही पनि सबै कुरामा जान्ने हुँदैनन् भन्ने मान्यतालाई आत्मसात गरेर अध्ययनको कामलाई अघि बढाउनुपर्छ,’ उनले भने ।