८४० सदस्यलाई उद्यमी बनाउने अभियान संचालन गर्दै किसान बहुउद्देश्यीय
काठमाडाैं । किसान बहुउद्देश्यीय सहकारी संस्थाले सदस्य लक्षित उद्यमशिलता विकास प्रशिक्षण अभियान सुरु गरेको छ । स्वावलम्बन विकास केन्द्र काठमाडौंको पहलमा नेपाल भरीका लघुवित्त संस्था र सहकारी संस्थाहरुगरी १८ वटा संस्थाहरु सँगको सहकार्यमा आगामी २ वर्षभित्र मुलुकभर करीब ५ हजार सदस्यलाई उद्यमी बनाउने योजना अनुसार अभियान सुरु गरिएको स्वावलम्बन विकास केन्द्रका चन्द्रकान्त पण्डितले जानकारी दिए । यस अभियान अन्तर्गत आफ्नाे कार्यक्षेत्र रहेका हरेक शाखाबाट २० जनाका दरले उद्यमी तयार गर्ने योजना रहेको जनाएको छ । सहकारीका ४२ वटा शाखा रहेका छन् । संस्थाले यस अभियानकाे पहिलाे चरण अन्तर्गत २० वटा शाखाकाे प्रमुखहरुलाई प्रशिक्षण दिइसकेकाे छ । दोस्रो चरणमा संस्थाले शाखा प्रमूखमार्फत सदस्यहरुलाई कृषि र गैरकृषि क्षेत्रमा उद्यमशिलता विकासका लागि तालिम दिने जनाएको छ ।
अजोड र यूनाइटेडले डाके विशेष सभा, मर्जरपश्चात् अजोडको ८२.५ कित्ता सेयर
काठमाडौं । मर्जर प्रस्तावलाई अन्तिम रुप दिन अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा बोलाएका छन् । दुवै इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैशाख ४ गते बसेको बैठकले बैशाख २५ गते विशेष साधारण सभा बोलाएका हुन् । अजोड इन्स्योन्सको सभा यूनाइटेड ट्रेड सेन्टर त्रिपुरेश्वर र यूनाइटेड इन्स्योरेन्सको अनमोल ब्याङ्क्वेट शंखमुल काठमाडौंमा बिहान ११ बजे बोलाएका हुन् । सभाले अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स एक आपसमा गाभ्ने तथा गाभिए पश्चात् यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट निर्जीवन बीमा व्यवसाय सुरु गरिने प्रस्ताव पारित गर्नेछन् । दुई कम्पनीबीच सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १०० बराबर ८२.५ मा मर्जरमा जाने सहमति भएको छ । अर्थात् अजोडको १०० कित्ता सेयर हुने सेयरधनीले युनाइटेडमा गाभिएपछि ८२.५ कित्ता सेयर पाउने छन् । गत पुस अन्तिममा प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले चैत १६ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । एकीकृत कारोबार पश्चात् अध्यक्षमा अजोड इन्स्योरेन्सका अध्यक्ष अजद श्रेष्ठ बन्ने छन् । विशेष साधारणसभा प्रयोजनार्थ अजोडले बैशाख १२ गते र यूनाइटेडले बैशाख १३ गते बुकक्लोज गर्ने निर्णय गरेको छन् । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुक क्लोजभन्दा अघिल्लो दिनसम्म कारोबार भइ कायम सेयरधनीहरु मात्र साधारणसभामा सहभागि हुन सक्नेछन् ।
मर्जर प्रस्तावसहित बेष्ट फाइनान्सले डाक्यो साधारण सभा, सेयरधनीको हात रित्तो
काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले २६औं वार्षिक साधारण सभा बोलाएको छ । फाइनान्सको सञ्चालक समितीको बैशाख ४ गते बसेको बैठकले बैशाख २९ गते प्रज्ञा प्रतिष्ठान काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो । फाइनान्सको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असारसम्मको वासलात, आर्थिक वर्ष २०७८÷७९ को नाफा नोक्सान हिसाब र आर्थिक वर्ष २०७९÷८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, कम्पनीको सभाले भविष्यमा कुनै बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने गाभिने ( एण्ड एक्विजिशन) सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तिायरी प्रदान गर्नेछ । फाइनान्सको साधारणसभा प्रयोजनार्थ बैशाख १२ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले बैशाख ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरु मात्र साधारणसभामा सहभागि हुन सक्नेछन् ।