१४ करोड कुम्ल्याएर अध्यक्ष भागेपछि सहकारी सञ्चालक नै पीडित !
काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी १४ करोड रुपैयाँ रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् । दौपदा बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष तथा पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक रामेछापको गुन्सीभदौरे–७ घर भई बनेपामा बस्दै आएका ३० वर्षीय कुमार गौतम दुई सहकारीबाट १४ करोड रुपैयाँ लिएर फरार भएपछि दुवै सहकारीका सञ्चालक नै पीडित बनेका छन् । दौपदाका अन्य सञ्चालकका अनुसार उक्त सहकारीको करिब पाँच करोड रकम अपचलन भएको छ । सोही सहकारीका सञ्चालक समितिका उपाध्यक्ष झम्कप्रसाद गौतमको ६५ लाख र उनका दाजु देवीप्रसाद गौतमको ५१ लाख रुपैयाँसमेत गौतमले लिएर फरार भएको बताइएको छ । गौतम प्रमुख कार्यकारी अधिकृतसमेत रहेको पुण्यश्वर सहकारीको चौँरीदेउराली र पाँचखाल सेवा केन्द्रमा बचत गर्ने बनेपा नगरसहितका सात हजार दुई सय सदस्यको नौ करोड रुपैयाँ रकम गौतमले नै खर्च गरेर महिनौँदेखि बेपत्ता भएको पीडितको निवदेनमा उल्लेख छ । गौतमका साथै सो सहकारीका सचिव गङ्गाबहादुर तामाङ, अमृत गौतम, टीकालाल श्रेष्ठलगायत ३१ बचतकर्ताले बनेपा नगरपालिका कार्यालय, सहकारी विभाग, जिल्ला प्रशासन, प्रहरी कार्यालयलगायतका स्थानमा उजुरी दिएका छन् । विसं २०७९ पुस २६ गते जिल्ला प्रशासन कार्यालयमा पुण्यश्वर सहकारीले बचत फिर्ता नदिई कार्यालयसमेत बन्द गरेर भागेकाले आवश्यक गरिपाउँ भनी निवेदन दिएको पाइएको छ । पीडितले हेटौँडास्थित बागमती प्रदेशको सहकारी मन्त्रालयमा समेत निवदेन दिएका छन् । सोही निवेदनका आधारमा मन्त्रालयले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई खोजकार्य तथा आवश्यक कारबाहीका लागि पत्राचार गरेपछि फरार गौतम तथा सहकारीबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ । रासस
पुँजी बढाउन विदेशी पाटर्नर भित्र्याउँदै प्रभु, नेपाल इन्स्योरेन्सलाई घरजग्गा बेच्न स्वीकृति दिइँदै
काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएको प्रभु इन्स्योरेन्सले पुँजी बढाउन विदेशी पाटर्नर भित्र्याउने भएको छ । कम्पनी सम्बद्ध श्रोतका अनुसार कम्पनीले नेपाल बीमा प्राधिकरणबाट तोकिएको डेढ अर्ब रुपैयाँ बराबरको चुक्ता पुँजी पुर्याउन विदेशी पाटर्नर भित्र्याउनको लागि छलफल अघि बढाएको हो । ‘विदेशी पाटर्नर भित्र्याउनको लागि छलफल भइरहेको छ,’ कम्पनी उच्च श्रोतले विकासन्युजसँग भन्यो । उक्त श्रोतका अनुसार कम्पनीले सो विषयमा हाल छलफल मात्रै गरेको हो, तर निर्णय भने गरिसकेको छैन । प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउनको लागि प्रभु इन्स्योरेन्सले हाल दुई वटा विकल्प अघि सारेको छ । ‘यसमा कम्पनीले दुईवटा अप्सनलाई अघि बढाएको छ, एउटा विदेशी पार्टनर भित्र्याउने, अर्को मर्जरमा जाने,’ श्रोतले भन्यो- ‘योमध्ये एउटा विकल्प रोजेर छिट्टै पुँजी वृद्धिको प्रकृया अघि बढाउने तयारीमा छौं ।’ हाल प्रभु इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ३७ करोड रुपैयाँ छ । पुँजी वृद्धिको लागि विदेशी पार्टनर भित्र्याउने विषयमा हाल छलफल मात्रै रहेकोले के कति पुँजी थपिन्छ भन्ने बारे पनि कुनै टुंगो लागेको छैन । यता बीमा प्राधिकरणको जानकारीमा पनि प्रभु इन्स्योरेन्सले विदेशी पार्टनर ल्याउनको लागि छलफल गरिरहेको भन्ने छ । जसमा प्राधिकरण पनि सकारात्मक देखिएको छ । ‘कम्पनीले पुँजी थप्नको लागि पैसा हाल्न पायो, तर हकप्रद सेयर जारी गर्न पाएन,’ प्राधिकरण उच्च श्रोतले विकासन्युजसँग भन्यो । त्यस्तै, नेपालको पहिलो निर्जीवन बीमा कम्पनी नेपाल इन्स्योरेन्सले पुँजी थप्नको लागि घरजग्गा बेच्ने भएको छ । कम्पनीले काठमाडौंको न्यूरोडको भवन, नारायणगढ, वीरगञ्ज र विराटनगरको जग्गा बेच्न नेपाल बीमा प्राधिकरणसँग स्वीकृति मागेको हो । इन्स्योरेन्सले करिब एक महिनाअघि नै प्राधिकरणसँग उक्त स्वीकृति मागेको हो । जसको लागि हालसम्म कुनै प्रतिकृया नदिएको प्राधिकरण अब भने छिट्टै स्वीकृति दिने मुडमा छ । ‘सम्पत्ति बेचेर पुँजी वृद्धि गर्ने इन्स्योरेन्सको प्रस्तावलाई छिट्टै स्वीकृति दिँदैछौं,’ प्राधिकरणको उच्च श्रोतले भन्यो । हाल नेपाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४९ करोड रुपैयाँ छ । कम्पनीले सम्पत्ति बेचेर करिब ४४ करोड रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने योजना बनाएको छ । बोनस सेयरपछि कम्पनीको पुँजी करिब १९३ करोड रुपैयाँ पुग्ने छ । ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न बीमा प्राधिकरणले स्वीकृत दिने भएकोले त्यो सुविधा पनि उपयोग गरी पुँँजी २५० करोड पुर्याउने कम्पनीको योजना रहेको छ । निर्जीवन बीमा व्यवसाय गर्दै आएका यी दुई कम्पनी प्रभु र नेपाल इन्स्योरेन्स हाल नेपाल बीमा प्राधिकरणको विशेष निगरानीमा छ । मर्जरमा जान्छु भनेर सहमति गरेर पनि नगएका यी दुई कम्पनीलाई प्राधिकरणले पुँजी पुर्याउन थप तीन महिनाको समय दिएको छ । यससँगै कम्पनीहरुले आगामी असार मसान्तसम्ममा तोकिएको पुँजी पुर्याइ सक्नु पर्ने छ । यदि सो अवधिसम्ममा पुँजी नपुर्याएमा प्राधिकरणले कम्पनीलाई कारवाही गर्ने चेतावनी दिएको छ । ‘पुँजी नपुर्याउनेलाई केही समय थप गरेर पुँजी पुर्याउनको लागि अवसर दिन्छौं, त्यसमा पनि पुर्याएनन् भने की त फोर्स मर्जर गराउँछौं, कि त कारोबार घट्ने गरी कारवाही गर्छौं,’ अध्यक्ष सिलवालले विकासन्युजसँग भने । यस्तै पुँजी वृद्धिको प्रकृया अघि बढाएर पनि तोकेको पुँजी नपुर्याएका कम्पनीहरुले भने हकप्रद सेयर जारी गर्न पाउने भएका छन् । सम्बन्धित समाचार पुँजी वृद्धिको लागि समय थप्दै बीमा प्राधिकरण, अधिकांशले हकप्रद सेयर जारी गर्न पाउने पुँजी वृद्धिको समय थप्न बीमा कम्पनीहरुको माग, कारवाहीको तयारीमा प्राधिकरण
नेप्सेमा एशियन लाइफको ८.५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको मुल्य समायोजन भएको छ । नेप्सेले एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर मुल्य समायोजन गरेको हो । कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा बिहीबार कारोबार हुनेछ । कम्पनीको ८.५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ५६९.५९ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । बिहीबार इन्स्योरेन्स कम्पनीको सेयर प्रतिकित्ता ६१८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।