जीवन बीमा पोलिसीको अवधि कम्तिमा ५ वर्षको हुनुपर्ने, बीमितलाई ९० प्रतिशतसम्म कर्जा

काठमाडौं । जीवन बीमा कम्पनीले जारी गर्ने बीमालेख अर्थात बीमा पोलिसीको अवधि कम्तिमा ५ वर्षको हुनुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले जारी गरेको ‘जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७९’ अनुसार कम्पनीहरुले जारी गर्ने विभिन्न पोलिसीको अवधि ५ वर्षभन्दा बढीको हुनुपर्ने भएको हो । तर, म्यादी जीवन बीमाको हकमा भने न्यूनतम बीमा अवधि एक वर्ष कायम गर्न सकिने छ । यदि कुनै विशेष अवस्थामा एक वर्षभन्दा कम अवधिको म्यादी जीवन बीमा प्रचलनमा ल्याउनुपर्ने भएमा प्राधिकरणको स्वीकृति लिनु पर्ने व्यवस्था छ । लुघ जीवन बीमालेखको हकमा भने लघु बीमा निर्देशिका अनुसार हुनु पर्नेछ । त्यस्तै, बीमक अर्थात बीमा कम्पनीले बीमाङ्क रकम निर्धारण गर्दा बीमा गर्न चाहने व्यक्तिको आर्थिक क्षमता र पुनर्बीमाको पर्याप्तताको आधारमा गर्नु पर्नेछ । बीमितलाई ९० प्रतिशतसम्म कर्जा जीवन बीमालेख निर्देशिका अनुसार बीमितले ९० प्रतिशतसम्म कर्जा पाउने भएका छन् । बीमापोलिसी अन्तर्गत तीन वर्षको बीमाशुल्क अर्थात प्रिमियम बुझाएका बीमितले ९० प्रतिशतसम्म कर्जा पाउने भएका हुन् । बीमा शुरु गरेको मितिबाट तीन वर्ष पूरा भएपछि तथा एकल बीमाशुल्क भुक्तानी गर्ने बीमालेखको हकमा समेत सोही अवधि पुरा भएपछि बीमालेख समर्पण गर्न तथा बीमालेख सुरक्षण राखी कम्पनीहरुले कर्जा दिने छन् । बीमकले बीमालेख सुरक्षण राखी कर्जा प्रदान गर्दा बढीमा समर्पण मूल्यको ९० प्रतिशत र घटीमा एक हजार रुपैयाँसम्म कायम गर्नुपर्ने निर्देशिकामा भनिएको छ । र, उक्त कर्जाको ब्याज बीमकको सञ्चालक समितिले समय समयमा निर्धारण गरे बमोजिमको हुनेछ । ५ प्रकारका कागजात बुझाउनु पर्ने बीमा कम्पनीले विभिन्न प्रकारका बीमापोलिसीहरु बनाउन सक्नेछन् । जुन बजारमा आएकाभन्दा फरकसँगै नेपालको परिवेश सुहाउँदो हुनु पर्नेछ । त्यस्तै, बचत प्रकृतिको तथा पेन्सन प्रकृतिको बीमालेख तयार गर्दा अनिवार्य रुपमा मृत्यु जोखिम समेत बहन गर्ने गरी तयारी गर्नु पर्ने हुन्छ । निर्देशिका अनुसार बीमा पोलिसी बनाउनु अघि विभिन्न प्रकारका कागजात तयार गर्नु पर्नेछ । जसमा बजार अनुसन्धान प्रतिवेदन, लागत लाभ विश्लेषण, जोखिमको पहिचान, आँकलन तथा न्यूनिकरण सम्बन्धी योजना, बीमालेख बजारीकरण योजना र तीन वर्षको वित्तीय प्रक्षेपणसहितको बीमालेखको व्यवसायिक योजनाहरु तयार गर्नुपर्ने निर्देशिकामा भनिएको छ । कम्पनीले तयार पारेको बीमापोलिसी स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्नुपर्ने छ । उक्त विवरण पेश गर्दा बुझाएका कागजातमा सम्बन्धित कम्पनीको कार्यकारी प्रमुख वा सो सरहको पदाधिकारीको हस्ताक्षर अनिवार्य हुनुपर्ने छ । यससँगै प्राधिकरणले स्वीकृत गरेको ६ महिनाभित्रमा कम्पनीले उक्त पोलिसीलाई सञ्चालनमा ल्याइसक्नु पर्छ । सो अघि बीमालेखको मुद्रित प्रति, प्रस्ताव फाराम, प्रचार प्रसार सम्बन्धी कागजात लगायतका कागजात प्राधिकरणमा बुझाउनुपर्ने छ । र, तोकिएको ६ महिनाभित्रमा बीमालेख सञ्चालनमा नल्याएमा उक्त पोलिसी स्वतः निष्किृय (काम नलाग्ने) हुनेछ । भ्रममा पारेर पोलिसी बिक्री गर्न नपाइने बीमा कम्पनीहरुले जोकोहिलाई भ्रममा पारेर कुनै पनि पोलिसी बिक्री गर्न पाउने छैनन् । त्यस्तै, पोलिसीको विज्ञापन गर्दा प्राधिकरणबाट स्वीकृति शर्तअनुसार मात्रै कम्पनीले विज्ञापन गर्न पाउने छन् । प्राधिकरणबाट स्वीकृत बीमालेख बीमालेखको शर्त, सुविधा तथा अपवाद स्पष्ट रुपमा खुल्ने विवरण कम्पनीले आफ्नो वेबसाइटमा अनिवार्य रुपमा राख्नुपर्ने छ । कम्पनीले सबै प्रिमियम नलिई पोलिसी गर्न पाउने छैनन् । त्यस्तै, ५ लाखभन्दा बढी वार्षिक वा एकल बीमाशुल्क तिर्ने गरी बीमालेख बिक्री गर्दा बीमाशुल्क भुक्तानी गर्ने बीमितको आम्दानीको श्रोत खुलेको कागजात अनिवार्य लिनु पर्नेछ । त्यस्तै, कम्पनीले पोलिसी अन्तर्गत बीमादर निर्धारण गर्दा समावेश गरेको बोनस लोडको दरमा कम्तीमा फ्युचर बोनस रिजर्भको व्यवस्था गर्नु पर्नेछ । कम्पनीहरुले कुनै पनि बीमितको दावीलाई इन्कार गर्न पाउने छैनन् । बीमालेख जारी भएको वा पुनर्जागरण भएको एक वर्षपछि बीमितले बीमा प्रस्ताव गर्दा कुनै कुरा नखुलाएको कारण देखाई बीमकले दाबी इन्कार गर्न सक्ने छैन । प्राधिकरणले बीमालेख स्वीकृतिको प्रकृयालाई सरलीकृत र व्यवस्थित बनाई एक रुपता कायम गर्न यो निर्देशिका लागू गरेको हो । यो निर्देशिकालाई तत्काल लागू गर्ने गरी प्राधिकरणले २०७९ चैत ११ गते स्वीकृत गरेको हो ।

सांग्रीला मोटोर्स प्राइभेटमा गाडी किन्ने ग्राहकलाई नबिल बैंकले कर्जा दिने

काठमाडौं । प्युजो र सिट्रोन आधिकारीक बिक्रेता सांग्रीला मोटोर्स प्राइभेटले बिक्री गर्दै आएको गाडीहरुमा नबिल बैंकले कर्जा दिने भएको छ । बैंक र सांग्रीला मोटोर्स बीच भएको सम्झौँता अनुसार अब प्युजो र सिट्रोनका गाडीहरुमा खरिद गर्ने ग्राहकहरुले नबिल बैंकबाट सहजै कर्जा लिन सक्नेछन् । दुई संस्था बीच भएको सम्झौँता पत्रमा बैंकको तर्फबाट प्रबन्धक सचिन अमात्य र सांग्रीला मोटोर्सको तर्फबाट सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौँतापछि प्युजो र सिट्रोनले उत्पादन गरेका गाडीहरुमा खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने जारी विज्ञप्तीमा उल्लेख छ । समझौता अनुसार, योजना सबै नबिल बैंकका सबै शाखाहरूबाट ग्राहकहरूलाई गाडीको लागि सुलभ ऋण सुविधाहरू सजिलो उपलब्ध हुनेछ। अहिले नबिल बैंकको देशभर रहेका २४८ शाखाबाट नै कर्जा सुबिधा ग्राहकले लिन सक्नेछन् । ऋणलाई नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशिका र निर्देशनहरूसँग समायोजन गरिएको छ । यो योजना सांग्रीला मोटोर्स प्राइभेटको आधिकारिक ब्रिक्रेता र नबिल बैंकका सबै शाखाहरुबाट नेपाल भरी लागु हुने कम्पनीले जनाएकाे छ।

नेपाल फाइनान्सले घरजग्गा र फ्ल्याट बेच्दै

काठमाडौं । नेपाल फाइनान्सले गैह्रबैंकिङ्ग सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । फाइनान्स कम्पनीले आफ्नो नाममा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति घरजग्गा लिलामीमा बिक्री गर्ने भएको हो । फाइनान्सले काठमाण्डौंको साविक जोरपाटी गा.वि.स. ८ स्थित कित्ता नम्बर १०९ को क्षेत्रफल ४१६ वर्गमिटर भएको जग्गा र भक्तपुरको साविक दधिकोट गा.वि.स. ९ स्थित कित्ता नं. २७०५ को क्षेत्रफल ३-३-०-० भएको जग्गा र सो जग्गामा बनेको घर बिक्री गर्ने भएको हो । साथै, काठमाण्डौं महानगरपालिका १४ कुलेश्वर स्थित कित्ता नम्बर २४९ को ओरियण्टल विल्डर्स एण्ड डेभ्लपर्सद्वारा निर्मित फल्याट पनि बिक्रीमा राखिएको छ । सो फ्ल्याटको क्षेत्रफल १ हजार ११४ वर्गफिटको तेस्रा तल्लामा छ । उक्त गैह्र बैंकिङ्ग सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति र फर्मरकम्पनी तथा संघ संस्थाहरुले १५ दिन अर्थात् बैशाख २० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त गैह्रबैंकिङ्ग सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अबस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने बताएको छ । साथै, साथ आफूले कबोल गरेको अंकको कम्तीमा १० प्रतिशत रकम दाखिला गर्नुपर्ने जनाएको छ । शिलवन्दी बोलपत्र १६ औं दिन अर्थात् बैशाख २१ गते केन्द्रिय कार्यालय कमलादीमा खोलिने छ ।