सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई चिरायु हस्पिटलमा छुट
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्टिस्टच्यूटबीच सम्झौता भएको छ । बैंक र हस्पिटलबीच बैंकका ग्राहक, कर्मचारी र कर्मचारीलाई हस्पिटलको विभिन्न सेवामा छुट दिने सम्झौता भएको हो । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूटको तर्फबाट निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूट प्रा। लि ले बैंकका ग्राहक महानुभाव, कर्मचारी तथा कर्मचारीका परिवारहरुलाई विभिन्न किसिमका बेड चार्ज, डायगोनेस्टिक प्रोस्डियर, फार्मेसी एनड हेल्थ प्याकेज सेवा लगायतका माग अनुसारका अन्य स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरिकाबाट प्रदान गर्नेछ । स्वास्थ्य चेक जाँचमा बैंकका ग्राहकहरुलाई १५ प्रतिशत छुटका साथ उपलब्ध गराइने व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
बैंकहरुको निक्षेप ५५ खर्ब नजिक, सीडी रेसियो ८४.८२ प्रतिशतमा झर्याे
काठमाडौं । पछिल्लो समय अर्थतन्त्र सहज बन्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन पनि बढेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप झण्डै ५५ खर्ब रुपैयाँ पुगेको छ । गत जेठ ४ गते बैंक तथा वित्तीय संस्थाहरुको ७ अर्ब रुपैयाँ निक्षेप वृद्धि भएर ५४ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो दिन अर्थात् जेठ ३ गते बैंक तथा वित्तीय संस्थाहरुसँग ५४ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप थियो । अघिल्लो दिनको तुलनामा बैंकहरुले एकै दिन ७ अर्ब रुपैयाँ निक्षेप बढाएका हुन् । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकको ७ अर्ब रुपैयाँ बढेर ४८ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । अघिल्लो दिन बैंकहरुसँग ४८ खर्ब ३८ अर्ब रुपैयाँ थियो । यस्तै, अन्य बैंक तथा वित्तीय संस्थासँग ६ खर्ब ४९ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार बैंकहरुले एक अर्ब रुपैयाँ कर्जा बढाएका छन् । गत जेठ ४ गते ४८ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाहरुले जेठ ३ गते ४८ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । वाणिज्य बैंकहरुले ४२ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो दिन ४२ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । अन्य बैंक तथा वित्तीय संस्थाहरुले भने ५ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकहरुको निक्षेप संकलनमा वृद्धि भइ कर्जा प्रवाहमा कमी आउँदा कर्जा निक्षेप अनुपात (सीडी) रेसियो पनि सहज हुँदै गएको छ । पछिल्लो तथ्याङ्क अनुसार बैंकहरुको सीडी रेसियो ८४.८२ प्रतिशत रहेको छ । अन्तर बैंक ब्याजदर ७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग एपमा थप नँया सुविधा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो मोबाइल बैंकिङ्ग एपमा नँया सुविधाहरु थप गरेको छ । डिजिटल बैंकिङ्गलाई सधै प्राथमिकतामा राख्दै आएको यस बैंकले हाल मोबाइल बैंकिङ्ग एप मार्फत नियमित प्रदान गर्दै आइरहेको सेवाहरुको अतिरिक्त अन्य उपयोगी सेवाहरु थप गरेको हो । बैंकले विशेष ग्राहकलाई लक्षित गरी मोबाइल मार्फत प्रिभिलेज बैंकिङ्ग सेवा सुरु गरेको छ । यस अघि बैंकले विभिन्न प्रिभिलेज काउन्टरहरु मार्फत प्रिभिलेज बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोमा अब मोबाइल बैंकिङ्ग एप मार्फत नै प्रिभिलेज सेवाहरु प्रदान गर्नेछ । यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकका तोकिएका सम्पर्क अधिकृतहरु मार्फत बिना झन्झट बैंकिङ्ग सेवा प्राप्त गर्न सकिनेछ । यसै गरि बैंकले, आफ्नो एप मार्फत नेपालपे को क्युआर सञ्चालनमा ल्याएको छ । अब बैंकका ग्राहकले फोनपेका अतिरिक्त नेपालपे को क्युआर कोड समेत स्क्यान गरी भुक्तानी गर्न सकिनेछ । यसका साथै, बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी ग्राहकहरुले चेक रोक्का राख्ने लगायतका थप सुविधा पनि प्राप्त गर्न सकिनेछ । बैंकले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ६५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।