हरियाली विस्तार र वित्तीय सचेतनामा महालक्ष्मी विकास बैंकको सक्रियता

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, दैवी प्रकोप व्यवस्थापन, सांस्कृतिक प्रवर्द्धन तथा मानव सेवासँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ । बैंकले लुम्बिनी वर्ल्ड पिस फोरमसँगको सहकार्यमा ‘दश लाख वृक्षारोपण तथा संरक्षण अभियान’ अन्तर्गत पृथ्वी दिवसको अवसर पारेर खप्तड छेडेदह गाउँपालिका–१ काँडामा दुई हजार वटा कागतीका बिरुवा रोप्न आर्थिक सहयोग गरेको छ । बैंकका अनुसार हरियाली क्षेत्र विस्तार, स्थानीय खाद्य सुरक्षा सुदृढीकरण, दिगो स्रोतको उपयोग तथा रोजगारी सिर्जना मार्फत दुर्गम र जलवायु जोखिमयुक्त क्षेत्रमा जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम गरिएको हो । त्यसैगरी, क्यान्सर रोगको प्रारम्भिक पहिचान, रोकथाम तथा उपचारबारे जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमलाई पनि बैंकले आर्थिक सहयोग गरेको छ । सो कार्यक्रमबाट संकलित रकम कान्ति बाल अस्पतालको क्यान्सर वार्डमा हस्तान्तरण गरिएको बैंकले जनाएको छ । ग्लोबल मनी विक २०२६ को अवसरमा बैंकले बाँकेको नेपालगञ्जस्थित श्री युद्ध संस्कृत माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । युवामाझ जिम्मेवार वित्तीय सचेतना र व्यवहारिक आर्थिक ज्ञान प्रवर्द्धन गर्न बैंकले सातौं नेपाल इकोनोमिक ओलम्पियाडलाई पनि आर्थिक सहयोग गरेको छ । यसैबीच, २०८२ चैत २ देखि ८ गतेसम्म मनाइएको ग्लोबल मनी विक २०२६ का अवसरमा बैंकले देशभरका शाखा तथा प्रादेशिक कार्यालयमार्फत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गलाई समेटेर वित्तीय साक्षरता, र्‍याली तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ । बैंकले यस्ता संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमले समग्र आर्थिक तथा सामाजिक विकासमा सकारात्मक टेवा पुग्ने विश्वास लिएको छ ।  

क्रेष्ट माइक्रो लाइफमा रोजगारीको अवसर

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले देशका विभिन्न १८ शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर र मार्केटिङका लागि कर्मचारी माग गरेको हो । कम्पनीले कलैया, खजुरा, राजविराज, सिन्धुली, बनेपा, मनहरी, विर्तामोड, दमौली, इलाम, फिदिम, सल्याण, ताप्लेजुङ, टिकापुर, तुलसीपुर, छिन्चु, हेटौडा, जनकपुर र तौलिहवाको लागि कर्मचारी मागेको कम्पनीले जनाएको छ ।  कम्पनीले मागेको पदको लागि न्यूनतम प्लस टु गरेको हुनुपर्नेछ । इच्छुक तथा योग्यता पुगेकाले कम्पनीमा सम्पर्क गरी आवेदन दिन सकिनेछ ।  

जीवन बीमा कम्पनीहरूको नयाँभन्दा पुरानो पोलिसीमै जोड, झण्डै ८० प्रतिशत व्यवसाय नवीकरणबाट

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को चैत्र मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले १ खर्ब ४० अर्ब ४५ करोड ७० लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । जसमा कम्पनीहरूले १ खर्ब ८ अर्ब ५८ करोड ६७ लाख रुपैयाँ नवीकरण बीमामार्फत आर्जन गरेको छन् भने ३१ अर्ब ८७ करोड २ लाख रुपैयाँमात्रै नयाँ व्यापार (प्रथम शुल्क) आर्जन गरेका छन् । बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार बीमा कम्पनीहरूको प्रथम बीमा शुल्कको बजार हिस्सा २२ प्रतिशत छ भने ७७.३० प्रतिशत भने नवीकरण बीमा शुल्कको बजार हिस्सा नवीकरण शुल्कबाट देखिएको छ । बीमा कम्पनीहरूको नवीकरण बीमा शुल्कको बजार हिस्सालाई हेर्ने हो भने बीमा व्यवसाय नवीकरणकै भरमा चलेको देखिन्छ । यो तथ्यांकले जीवन बीमा कम्पनीहरू नयाँ भन्दा पुराना पोलिसीमार्फत प्रिमियम संकलन गर्न सक्रिय देखिन्छन् । अर्को कारण बीमा कम्पनीहरूले पछिल्ला समयहरूमा पुराना पोलिसीलाई नवीकरण गर्न बीमितलाई क्यास ब्याक, उपहारलगायत विभिन्न छुटका योजना सार्वजनिक गरिरहेका छन् । यसले पनि बीमा कम्पनीहरूको नवीकरण शुल्क बढ्नमा मद्दत पुगेको देखिन्छ । चालु आर्थिक वर्षको ६ महिनामा नेपाल लाइफले नवीकरण बीमा शुल्कबाट २८ अर्ब ५५ करोड ८३ लाख रुपैयाँ संकलन गरेको छ । जुन कुल व्यवसायको २०.३३ प्रतिशत हिस्सा हो । नेपाल लाइफले ५.९१ प्रतिशत मात्रै नयाँ व्यवसाय भित्र्याएको छ । अर्थात ८ अर्ब ३० करोड ३६ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क संकलन गरेको छ। नेशनल लाइफले ९ महिनाको अवधिमा १२ अर्ब ५६ करोड १९ लाख रुपैयाँ नवीकरण शुल्कबाट आर्जन गरेको छ । यो कुल बीमा शुल्कको ८.९४ प्रतिशत हो । कम्पनीले सो अवधिमा ४ अर्ब ५१ करोड ७४ लाख रुपैयाँ अर्थात ३.२१ प्रतिशत प्रथम बीमा शुल्कबाट व्यवसाय संकलन गरेको छ ।  एलआइसी नेपालले १२ अर्ब ६९ करोड ८९ लाख रुपैयाँ बराबरको व्यवसाय नवीकरण शुल्कबाट संकलन गरेको छ । जुन कुल व्यवसायको ९.०४ प्रतिशत हिस्सा हो । कम्पनीले प्रथम बीमा शुल्कबाट भने २ अर्ब ४७ करोड १८ लाख रुपैयाँ आर्जन गरेको छ । त्यसैगरी, हिमालयन लाइफले ११ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब १२ करोड ५३ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ६ अर्ब ३५ करोड १० लाख रुपैयाँ, एशिएन लाइफले ५ अर्ब ४९ करोड २५ लाख रुपैयाँ, सिटिजन लाइफले ४ अर्ब ११ करोड ५९ लाख रुपैयाँ नविकरण शुल्कबापत व्यवसाय आर्जन गरेका छन् । कुल व्यवसायमा हिमालयन लाइफको ८.१८, राष्ट्रिय जीवन बीमाको ५.७८, सूर्यज्योति लाइफको ४.५२, एशिएन लाइफको ३.९१ प्रतिशत, सिटिजन्स लाइफको २.९ ३ प्रतिशत हिस्सा नवीकरण बीमा शुल्को छ । त्यस्तै प्रथम बीमा शुल्कतर्फ क्रमश १.२५ प्रतिशत, ०.७० प्रतिशत, १.५६ प्रतिशत, १.२४ प्रतिशत र सिजिटन्स लाइफको १.३८ प्रतिशत हिस्सा रहेको छ । त्यस्तै, नवीकरण बीमा शुल्कबाट सानिमा रिलायन्सले ३ अर्ब ९५ करोड ४३ लाख रुपैयाँ, आईएमई लाइफ ३ अर्ब १९ करोड ७९ लाख रुपैयाँ, मेट लाइफले ३ अर्ब ७४ करोड २६ लाख रुपैयाँ, रिलायबल नेपालले २ अर्ब ९८ करोड ६४ लाख रुपैयाँ, प्रभु महालक्ष्मीले २ अर्ब ९६ करोड ९९ लाख रुपैयाँ र सन् नेपाल लाइफले २ अर्ब ३३ करोड ३७ लाख रुपैयाँ संकलन गरेका छन् । प्रथम बीमा शुल्कबाट सानिमा रिलायन्सले १ अर्ब ४७ करोड रुपैयाँ, आईएमई लाइफले ३ अर्ब १९ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब १६ करोड, रिलायबल नेपालले १ अर्ब ४६ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब २२ करोड २३ लाख रुपैयाँ र सन नेपाल लाइफले ८३ करोड ८१ लाख रुपैयाँ संकलन गरेका छन् ।