विदेशमा दर्ता भएका सवारीसाधनले अब तेस्रो पक्ष बीमा गर्न मिल्ने
काठमाडौं । नेपालमा अस्थायी रूपमा सञ्चालन हुने विदेशमा दर्ता भएका सवारीसाधनले अब तेस्रो पक्ष बीमा (थर्ड पार्टी इन्स्योरेन्स) गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले यससम्बन्धी एक परिपत्र जारी गर्दै सो बारे जानकारी गराएको हो । प्राधिकरणका उपनिर्देशक केशवप्रसाद दाहालका अनुसार सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी विभिन्न प्रयोजनको लागि नेपालमा सञ्चालन हुन आउने विदेशमा दर्ता भएका सवारी साधनको नेपालभित्र सञ्चालन हुने अवधिसम्मको लागि तेस्रो पक्ष बीमा गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले जारी गरेको परिपत्र अनुसार सम्बन्धित निकायबाट स्वीकृति लिएर विभिन्न प्रयोजनका लागि नेपालमा सञ्चालन हुने विदेशी सवारी साधनले नेपालभित्र रहँदासम्म तेस्रो पक्ष बीमा गर्न सक्ने व्यवस्था गरिएको हो । प्राधिकरणका अनुसार उक्त व्यवस्था मोटर बीमा दर सम्बन्धी निर्देशिका, २०७३ बमोजिम लागू हुनेछ । यस व्यवस्थाले नेपालमा सञ्चालन हुने विदेशी सवारीसाधनबाट हुन सक्ने तेस्रो पक्ष क्षतिको जोखिम व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा प्राधिकरणले गरेको छ ।
९ महिनामा जीवन बीमा कम्पनीहरूको व्यवसाय १ खर्ब ४० अर्बमाथि, कुनको कति ?
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को ९ महिना (चैत महिना) सम्ममा जीवन बीमा कम्पनीहरूले १ खर्ब ४० अर्बमाथि कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले बिहीबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार १४ जीवन बीमा कम्पनीहरूले १ करोड १५ लाख ७१ हजार २० वटा बीमा पोलिसी बिक्री गरी कुल १ खर्ब ४० अर्ब ४५ करोड ७० लाख रुपैयाँको बीमाशुल्क संकलन गरेका हुन् । बीमा कम्पनीहरूले चैत्र महिनामा मात्रै ३ लाख ५५ हजार ४४६ बीमालेख जारी गरेर १५ अर्ब ७३ करोड ११ लाख रुपैयाँ आर्जन गरेका छन् । ९ महिनाको अवधिमा सबैभन्दा धेरै व्यवसाय गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले ३६ अर्ब ८६ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । दोस्रो धेरै व्यवसाय गर्ने कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्सले १७ अर्ब ७ करोड ९४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी नेपाल) ले १५ अर्ब १७ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, हिमालयन लाइफले १३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ११ करोड ८३ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ८ अर्ब ५५ करोड १५ लाख रुपैयाँ, एशियन लाइफले ७ अर्ब २४ करोड ७० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । त्यस्तै, सिटिजन लाइफले ६ अर्ब ६ करोड ७१ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ५ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ, आइएमई लाइफले ४ अर्ब ९५ करोड १३ लाख रुपैयाँ, मेट लाइफले ४ अर्ब ९० करोड ५४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ४ अर्ब ४४ करोड ९० लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब १९ करोड २२ लाख रुपैयाँ र सन नेपाल लाइफले ३ अर्ब १७ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जीवन बीमकको व्यवसाय (रकम रु. लाखमा)
पाल्पा सिमेन्ट र शिखर सिमेन्टको सेयर मूल्य १४.९९ प्रतिशतले बढे
काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७ अंकले घटेर २७८७ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ४६ कम्पनीको सेयर मूल्य बढ्दा २१६ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । ३४८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पििनिङको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, सोलु हाइड्रोको २६ करोड, आँखु खोलाको २६ करोड ५ लाख, होटल फोरेस्ट २२ करोड र नेसनल हाइड्रोको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबारको कारोबारमा पाल्पा सिमेन्ट र शिखर सिमेन्टको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।