यूनाइटेड अजोडको हकप्रदमा आवेदन दिने समय लम्बियो, अब कहिलेसम्म पाइन्छ ?

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय लम्बिएको छ । चैत २६ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा अब लगानीकर्ताहरूले वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँको १० प्रतिशत अर्थात् १०० कित्ता सेयर बराबर नयाँ १० कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले २३ करोड १० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २३ लाख १० हजार कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँ​​​​​डपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत फागुन १७ गते बुकक्लोज गरेको थियो । त्यसैले फागुन १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् ।  कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै लक्ष्मी सनराइज बैंकको नारायणगढ चितवन, धनगढी कैलाली, जनकपुर धनुषा, इटहरी सुनसरी, दमक झापा, धरान सुनसरी, घोराही दाङ, बनेपा काभ्रेपलान्चोक र हेटौंडा मकवानपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । 

फाइनान्स कम्पनीहरूको नाफा २७३ प्रतिशतले वृद्धि, ३ कम्पनी घाटामा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ तेस्रो त्रैमाससम्ममा फाइनान्स कम्पनीहरूको वित्तीय अवस्थामा उल्लेख्य सुधार देखिएको छ । चैत्र मसान्तसम्ममा १५ फाइनान्स कम्पनीहरूले ७० करोड ४० लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा २७३.१८ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म फाइनान्स कम्पनीहरूले १८ करोड ८६ लाख ५९ हजार रुपैयाँ बराबरको नाफा आर्जन गरेका थिए ।  ९ महिनाको अवधिमा १५ फाइनान्स कम्पनीमध्ये १२ कम्पनीले नाफा आर्जन गरेका छन् भने बाँकी तीन कम्पनीले घाटा बेहोरेका छन् । प्रोगेसिभ फाइनान्स, जानकी फाइनान्स र नेपाल फाइनान्सले घाटा बेहोरेका हुन् ।  प्रोग्रेसिभ फाइनान्सले ९ महिनाको अवधिमा २ करोड ४७ लाख ४३ हजार रुपैयाँको घाटा बेहोरेको छ । गत आवको यही अवधिमा कम्पनीले ९ करोड ४ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको थियो । जानकी फाइनान्सले तेस्रो त्रैमाससम्ममा २ करोड ९० लाख ८९ हजार रुपैयाँ घाटा बेहोरेको छ । उक्त कम्पनीले गत आवको सोही अवधिमा पनि घाटा नै बेहोरेको थियो । गत आवको चैत्र मसान्तसम्ममा कम्पनीले १२ करोड ८३ लाख २५ हजार रुपैयाँ घाटा बेहोरेको थियो ।  त्यस्तै, नेपाल फाइनान्सले ७ करोड ८६ लाख २५ हजार रुपैयाँ घाटा बेहोरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  ९ महिनाको अवधिसम्म सबैभन्दा बढी मन्जुश्री फाइनान्सले नाफा कमाएको छ । उक्त कम्पनीले चैत्र मसान्तसम्ममा २१ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको तुलनामा २७.९३ प्रतिशत बढी हो ।  गत आवमा कम्पनीले १७ करोड ११ लाख १९ हजार रुपैयाँ नाफा कमाएको थियो । गत आवको तुलनामा सबैभन्दा बढी नाफा ग्रोथ गर्नेमा गुडविल फाइनान्स रहेको छ । कम्पनीले गत आवको तुलनामा ५६५.७२ प्रतिशतले नाफा कमाएको छ । कम्पनीले गत आवमा १ करोड ५२ लाख २२ हजार रुपैयाँ नाफा कमाएकोमा चालु आवको ९ महिनामा १० करोड १३ लाख रुपैयाँ नाफा कमाएको हो ।  दोस्रो धेरै नाफा आर्जन गर्नेमा गुर्खाज फाइनान्सले १२ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त कम्पनी गत आवमा ६ करोड २१ लाख रुपैयाँले घाटामा थियो।  त्यस्तै, चैत्र मसान्तसम्ममा पोखरा फाइनान्सले ७ करोड ३० लाख रुपैयाँ, वेस्ट फाइनान्सले ५ करोड ८७ लाख रुपैयाँ, गुहेश्वरी मर्चेन्ट बैंकले ४ करोड ५५ लाख रुपैयाँ, रिलायन्स फाइनान्सले ५ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका छन् । त्यसैगरी, सेन्ट्रल फाइनान्सले ३ करोड ६९ लाख रुपैयाँ, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले २ करोड ५३ लाख रुपैयाँ, मल्टीपर्पोज फाइनान्सले ५३ लाख रुपैयाँ र समृद्धि फाइनान्सले ७ लाख रुपैयाँ बरारबको नाफा कमाएका छन् ।

नेपाल माईक्रो इन्स्योरेन्सका अध्यक्ष आशीष श्रेष्ठ पक्राउ

काठमाडौं । नेपाल माईक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ ।  बीमा सम्बन्धी ऐन, २०७९ अन्तर्गतको कसूरमा संलग्न रहेको अभियोगमा ४६ वर्षीय श्रेष्ठ पक्राउ परेका हुन् । नेपाल बीमा प्राधिकरणको आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनले कम्पनीमा गम्भीर अनियमितता भएको देखाएपछि प्राधिकरणले गत वैशाख ८ गते अनुसन्धानका लागि प्रहरीमा पत्राचार गरेको थियो ।  सोही प्रतिवेदनको निष्कर्ष र सुझावका आधारमा श्रेष्ठमाथि अनुसन्धान सुरु गरिएको हो। उक्त निरीक्षण प्रतिवेदनमा नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी समेतको संलग्नतामा बीमा ऐन, २०७९ को दफा १४० को उपदफा (१) को खण्ड (छ) बमोजिमको कसूर भएको उल्लेख गरिएको छ ।  वारदातमा संलग्नता देखिएपछि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट वैशाख १४ गते पक्राउ अनुमति प्राप्त गरेको थियो ।  सोही अनुमति बमोजिम श्रेष्ठलाई आज वैशाख १५ गते काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका वडा नं. ५ बाट नियन्त्रणमा लिइएको हो ।  पक्राउ परेका श्रेष्ठमाथि हाल थप कानुनी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।