गर्मीबाट पशुपालकलाई राहत, ७ जिल्लामा सुरु भयो सूचकांकमा आधारित विशेष बीमालेख
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले प्लान्ट स्याटसँगको प्राविधिक सहकार्यमा सूचकांकमा आधारित दूध उत्पादन बीमालेख सञ्चालनमा ल्याएको छ । तापक्रममा हुने वृद्धिका कारणबाट गाई तथा भैंसीको दूध उत्पादनमा हुने कमीबाट कृषकलाई पर्न सक्ने सम्भावित क्षतिबाट सुरक्षण प्रदान गर्न यो बीमालेख सञ्चालनमा ल्याइएको हो । कम्पनीका अनुसार २०८३ वैशाख ७ देखि भदौ ३१ गतेसम्म कुल १५० दिन सम्म भएको दैनिक अधिकतम तापक्रमका आधारमा गणना गरिने बीमालेखमा निर्धारित तापक्रमको तहमा आधारित रही बीमालेख तयार गरिएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले जानकारी दिए । कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र चितवन जिल्लाका गाई तथा भैंसीपालक कृषक, समूह तथा सहकारीलाई लक्षित गर्दै बीमालेख तयार पारिएको हो । हालसम्म विभिन्न सहकारी तथा समूहका कृषकहरू गरी कुल १ हजार ६२७ गाई तथा भैंसी यस बीमा योजनामा आबद्ध भइसकेका छन् । नेपाल बीमा प्राधिकरणबाट स्वीकृती प्राप्त यस बीमालेखको पुनर्बीमा नेपाल रि(इन्स्योरेन्स बाट गरिएको छ । यो बीमालेख तापक्रमका कारणबाट उत्पन्न गर्ने तनावमा आधारित छ भने तापक्रमका कारण गाई तथा भैंसीको दूध उत्पादनमा हुने ह्रासलाई मात्र रक्षावरण गर्नेछ । बीमालेखमा भएको तापक्रमको रेकर्डलाई आधार मानेर कायम गरिएको सीमा भन्दा वास्तविक तापक्रम माथि पुगेमा मात्रै क्षतिपूर्ति प्रदान गरिने र पूर्वनिर्धारित तहअनुसारको क्षतिपूर्ति निर्धारण हुने प्लान्ट स्याटका संस्थापक तथा सीईओ सुमन घिमिरेले जानकारी दिए । बीमालेखले सूचकांकमा आधारित ट्रिगर प्रणालीमार्फत कृषक दाबी योग्य भए/नभएको निर्धारण गर्ने भएकाले दाबी भुक्तानी प्रक्रिया पारदर्शी र छिटो हुने हुँदा कृषकले यसबाट लाभ उठाउन सक्ने सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड कृषि विभाग प्रमुख उमेश ढकाले जानकारी गराए । जल तथा मौसम विज्ञान विभागबाट प्राप्त आधिकारिक तापक्रम तथ्यांक प्रयोग गर्ने र दाबी ट्रिगर स्तरमा पुगेपछि बीमकले दाबी प्रक्रिया सुरु गर्नेछ । सम्बन्धित निकायबाट सूचकांक प्राप्त भएको ७ दिनभित्र भुक्तानी विद्युतीय माध्यमबाट सिधै लाभग्राही कृषकको बैंक खातामा पठाइने दाबी विभाग प्रमुख सुवाष दीक्षितले गरे ।
१४ मध्ये ४ निर्जीवन बीमा कम्पनीले मात्रै बिक्री गरे लघु बीमालेख
काठमाडौं । बीमा ऐन, २०७९ ले प्रत्येक बीमकलाई न्यून आय भएका वर्ग तथा पिछाडिएको क्षेत्रलाई लक्षित गरी लघु बीमा व्यवसाय सञ्चालन गर्न अनिवार्य गरे पनि यसको कार्यान्वयनमा भने कमजोर देखिएको छ । नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीमध्ये केवल ४ कम्पनीले मात्र लघु बीमालेख बिक्री गरेका छन् । बाँकी १० कम्पनीहरूले लघु बीमा बिक्री गर्न सकेनन् । चालु आर्थिक वर्ष २०८२/८३ को चैत्र मसान्तसम्मममा निर्जीवन बीमा कम्पनीहरूले लघु बीमालेख विक्रीवापत ९९ करोड ८२ लाख कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार ८ कम्पनीहरूले उक्त बीमा शुल्क आर्जन गरेका हुन् । जसमा ४ वटा निर्जीवन बीमा कम्पनी रहेका छन् भने ४ वटा माइक्रो इन्स्योरेन्स कम्पनी हुन् । यी कम्पनीहरूले ३ लाख ७९ हजार ७६० बीमालेख बिक्री गरी ९९ करोड ८२ लाख कुल बीमा शुल्क आर्जन गरेका हुन् । लघु बीमालेख बिक्री गरेका चार निर्जीवन बीमामध्ये नेको इन्स्योरेन्सले ३ हजार ६१६ बीमालेख बिक्री गरी १ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । शिखर इन्स्योरेन्सले १ हजार ४७० बीमालेख बिक्री गरी १ हजार ४७० बीमालेख बिक्री गरी २ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क संकलन गरेको छ । यो अवधिमा नेशनल इन्स्योरेन्स कम्पनीले ९ वटा बीमालेख बिक्री गरी ४८ हजार व्यवसाय आर्जन गरेको छ । त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ बीमा लेख बिक्री गरी १ हजार रुपैयाँ बराबरको कुल बीमा शुल्क संकलन गरेको छ । बीमा ऐन, २०७९ को दफा ७६ अनुसार लघु जीवन बीमा वा लघु निर्जीवन बीमा व्यवसाय मात्रै गर्ने उद्देश्यले बीमा कम्पनी स्थापना गर्न पाउने व्यवस्था छ । सोही व्यवस्थाअनुसार लघु निर्जीवन बीमा व्यवसाय गर्ने उद्देश्यले ४ वटा लघु बीमा कम्पनी खोलिएका छन् । चार लघु बीमा कम्पनीहरूमध्ये सबैभन्दा धेरै व्यवसाय प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १ लाख ८ हजार २६७ बीमाालेख बिक्री गरेर २७ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । प्रोटेक्टिभपछि नेपाल माइक्रो इन्स्योरेन्स ९२ हजार ४४ वटा बीमा लेख बिक्री गरी २४ करोड ८९ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । त्यसैगरी, स्टार माइक्रो इन्स्योरेन्सले १ लाख २ हजार १८१ बीमालेख बिक्री गरी २३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । ट्रस्ट माइक्रो इन्स्योरेन्सले ७२ हजार १७१ बीमालेख जारी गरी २२ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सरकारले लघु बीमा विस्तार गर्ने लक्ष्य लिए पनि कम्पनीहरूले नाफामुखी व्यवसायमा जोड, व्यवसायिक सोच तथा सञ्चालन लागत उच्च हुनेजस्ता कारणले यो क्षेत्र प्रभावकारी रूपमा अघि बढ्न नसकेको देखिन्छ । बीमा कम्पनीहरूका अनुसार लघु बीमा व्यवसायमा प्रिमियम सानो हुने तर प्रशासनिक तथा वितरण लागत तुलनात्मक रूपमा बढी हुने भएकाले कम्पनीहरूले यसतर्फ जोड दिन सकेका छैनन् । साथै ग्रामीण क्षेत्रमा पहुँच विस्तार गर्न आवश्यक पूर्वाधार र जनशक्ति अभाव पनि अर्को चुनौतीको रूपमा रहेको छ ।
नेपाल राष्ट्र बैंकद्वारा १ खर्ब २० अर्ब रुपैयाँको निक्षेप संकलन गरिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट १ खर्ब २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । बैंकले १९ दिनका लागि उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरेको हो । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ वैशाख ३० गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्नसक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।