सनराइज बैंकको १५ औं साधारण सभा सम्पन्न, लक्ष्मीसँग मर्जरमा जान बाटो खुल्यो

काठमाडौं । सनराइज बैंकको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभाले लक्ष्मी बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गरेको हो । सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव र मर्जर प्रयोजनको लागि मुल्याङनकर्ताले तयार गरेको बैंकको चल अचल सम्पत्ति तथा दायित्व मुल्याङ्गन (डीडीए) प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर आदान प्रदान अनुपात र अन्तिम सम्झौता पत्र पारित गरेको हो । यस्तै, बैंकको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असरा मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण प्रस्ताव पारित गरेको हो । साथै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गरेको छ ।

प्रभु महालक्ष्मी लाइफको लोगो सार्वजनिक, ९० करोडको एफपीओ जारी गर्ने

काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्ज भएपछि बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लोगो सार्वजनिक भएको छ । दुई कम्पनी एक भएसँगै कम्पनीले प्रभु महालक्ष्मी लाइफको नयाँ लोगो सार्वजनिक भएको छ । उक्त लोगो मर्ज भएका दुई कम्पनीले एकीकृत कारोबार गरेपछि मात्रै प्रचलनमा आउने छ । मर्जरको लागि दुबै कम्पनीलाई नेपाल बीमा प्राधिकरणले गत जेठ २९ गते अन्तिम स्वीकृति दिइसकेको छ । यससँगै कम्पनीले चालु आर्थिक वर्षको असार महिनाभित्रमा एकीकृत कारोबार शुरु गर्ने भएको छ । दुई कम्पनीको देशैभर १६७ शाखा तथा उपशाखा सञ्चालनमा भई ४४९ जना कर्मचारी कार्यरत छन् । प्रभु लाइफले बोनस सेयर जारी पछि नयाँ बन्ने कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ । यससँगै प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ बराबरको पुँजी पुर्याउन कम्पनीले एफपीओ जारी गर्दै छ । कम्पनीले ९० करोेड रुपैयाँ बराबरको पुँजी पुर्याउन प्रिमियम मूल्यमा एफपीओ जारी गर्न लागेको हो ।

राष्ट्रिय वाणिज्य बैंकले ब्याज भुक्तानी गर्दा ५ % छुट दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले असार महिना भित्र ब्याज भुक्तानी गर्दा ५% छुट दिने भएको छ । बैंकले राष्ट्रको व्यवसायीक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै मिति असार १ गतेदेखि ३१ गतेसम्म सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम सम्पूर्ण ऋणिहरुलाई छुट दिने जनाएको छ । ब्याज जुनसुकै प्रकारको कर्जाको वर्गीकरण (असल, सुक्ष्म निगरानी, कमशल, शंकास्पद, खराब), जतिसुकै अवधिको ओभरडिउ, नर्मल तथा पेनल ब्याजको आंशिक वा पूरा भुक्तानीमा समेत छुट प्रदान गरिने बैंकले जनाएको छ । ब्याज छुट रकम सम्बन्धित ऋणिको खातामा फिर्ता/जम्मा गरिनेछ । बैंक यो अवसरको लाभ लिन सम्बन्धित सम्पूर्ण ऋणिहरुलाई अनुरोध गरेको जनाएको छ ।