ठूला व्यवसायीले अर्बौं रकम घरमै राखेका छन् भन्ने सुनिन्छ : पूर्व गभर्नर क्षेत्री

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले ठूला व्यवसायीहरुले अर्बौं रकम घरमै राख्ने गरेको बताएका छन् । बिहीबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति विषयक छलफल कार्यक्रममा बोल्दै पूर्व गभर्नर क्षेत्रीले यस्तो बताएका हुन् । ‘ठूला व्यवसायीले अर्बौं रकम घरमै राखेका छन् भन्ने सुनिन्छ, उहाँहरुले बैंकिङ्ग प्रणालीमा रकम नपठाउँदा तरलता अभाव भयो, अब तरलता सहज गर्नका लागि सबै रकम प्रणालीमा ल्याउनु पर्छ,’ उनले भने । उनले ठूला व्यवसायीले अर्बौं रकम घरमा राखेर तरलता अभाव श्रृजना गरेको बताए । उनका अनुसार उत्पादन नहुने तर मूल्यवृद्धि बढ्ने अवस्था रहेको छ । अर्थतन्त्रमा साढे ६ खर्ब रुपैयाँ बराबरका नोट चलनचल्तीमा रहेको उनको भनाइ छ । ‘बोरामा तौलिएर भ्रष्टाचार हुन्छ रे, ६० प्रतिशत व्यापार भारतसँग भइरहेको बेला भारतसँगको विनिमय दर पेगलाई हटाउनु पर्छ भन्ने सुनिन्छ, त्यसको लागि आन्तरिक रुपले उत्पादनमा बलवान् हुनु पर्छ,’ उनले भने, मुद्दती निक्षेपमा ६० प्रतिशत बचत छ, यो रकम चलायमान गर्नु पर्छ ।’ युक्रेनबाट आएको भटमासमा गरिएको लगानी पनि कृषिमा गरिएको लगानी भनेर वितरण भइरहेको उनको भनाइ छ ।

सानिमा जिआईसीको सञ्चालकमा ६ जना निर्वाचित

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको सञ्चालक समितिमा ६ जना निर्वाचित भएका छन् । बिहीबार सम्पन्न कम्पनीको पाँचौ वार्षिक साधारण सभाले सञ्चालक समितिमा संस्थापक सञ्चालक ३ र सर्वसाधारण सञ्चालक ३ जना गरी कूल ६ जनालाई निर्विरोध निर्वाचित गरेको हो । नवर्निवाचित सञ्चालकहरुमध्ये संस्थापक सेयरधनीहरुको तर्फबाट कुनाल कयाल, दिलिप श्रेष्ठ र मिता मुरारका अग्रवालले संचालक समितिमा प्रतिनिधित्व गर्ने छन् । त्यस्तै, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट डा. हेमन्त कुमार दवाडी, प्रकाश मान श्रेष्ठ र सरस्वती गौतम (ज्ञवाली) ले संचालक समितिमा प्रतिनिधित्व गर्ने छन् । काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा सम्पन्न भएको उक्त सभाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरेको छ । त्यसैगरी आगामी आ.व. २०७९/०८० का लागि कम्पनीको वार्षिक लेखा परिक्षकमा श्री एन.अमात्य एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेण्टस्लाई नियुक्त गर्न संचालक समितिको प्रस्ताव सभाले सर्वसम्मत रुपमा पारित भएको छ । साथै, कम्पनीले आफ्नो् व्यवसाय थप विस्तार गरी देशको अर्थतन्त्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्न त्रियाशिल रहने प्रतिवद्धता व्यक्त गरेको छ ।

पुर्व गभर्नरको सुझाव : सरकारले गलत गरिरहेको छ, हस्तक्षेप गर्नुस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तिलक रावलले सरकारले गलत गरिरहेकाले मौद्रिक नीति मार्फत् हस्तक्षेपकारी भूमिका खेल्नु पर्ने बताएका छन् । बिहीबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति विषयक छलफल कार्यक्रममा बोल्दै पूर्व गभर्नर रावलले यस्तो बताएका हुन् । पछिल्लो समय अर्थतन्त्र सहज हुँदै गएकाले सन्तुलित मौद्रिक नीति आवश्यक हुने उनको भनाइ छ । ‘राष्ट्र बैंकले अहिलेको समयमा सन्तुलित मौद्रिक नीति ल्याउनु पर्छ, हस्तक्षेपकारी भुमिका खेल्नु पुर्छ, अन्तर्राष्ट्रिय र आन्तरिक वातावरणको अध्ययन गरेर मौद्रिक नीति ल्याउन आवश्यक छ,’ उनले भने, ‘शोधान्तर स्थिति चापमा छ, मुद्रास्फीति बढेको छ भने विस्तारित मौद्रिक नीति आवश्यक हुन्छ तर, अहिले त्यस्तो आवश्यक छैन ।’ उनले अर्थमन्त्रीले अर्थतन्त्र सुधार गर्ने बजेट नल्याएको उनको भनाइ छ । अर्थमन्त्रीको काम करका विषय चलाउने काम मात्रै भएको उनको भनाइ छ । ‘आज प्याजको पैसामा भ्याट लगाएको छ, अर्थमन्त्री कर मात्रै हेर्छन्, उत्पादन बढाउन तर्फ लाग्नु पर्नु हो तर, करका विषय चलाउने काम मात्रै भयो,’ उनले भने । उनले मर्जर एफपिओमा कर लगाउनु जायज नभएको बताए । यस विषयमा उच्चस्तरीय समिति गठन गर्नु पर्ने उनको भनाइ छ । साथै, राष्ट्र बैंकको पनि यस्ता मुद्धामा भूमिका हुनु पर्ने उनले बताए । ‘मर्जर एफपिओमा कर लगाउनु जायज होइन, यस विषयमा उच्चस्तरीय समिति गठन गर्नु पर्छ, यस्तो मुद्दामा राष्ट्र बैंकको भूमिका हुनु पर्छ, अडान लिन सक्नु पर्छ, तपाईले जित्नु भएको छ, यस्ता विषयमा लड्नुस्,’ उनले भने ।