सानिमा जिआईसी इन्स्योरेन्सका अध्यक्ष कयालले लिए शपथ
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष कुनाल कयालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । अध्यक्ष कुनालले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष शपथ लिएका हुन् । जेठ ३२ गते सम्पन्न कम्पनीको पाँचौ वार्षिक साधारण सभापछि बसेको सञ्चालक समितिको बैठकले कयाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । असार १ गते भएको शपथ ग्रहण कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल, सानिमा जिआईसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय र कम्पनी सचिव तथा नायव महाप्रबन्धक सुवोध लाल श्रेष्ठको उपस्थिति थियो ।
सनराइज बैंकद्वारा नगद तथा चेक जम्मा गर्ने मेसिनको शुभारम्भ
काठमाडौं । सनराइज बैंकले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने सेवाको शुभारम्भ गरेको छ । बिहीबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले उक्त नयाँ सेवाको शुभारम्भ गरेका हुन् । बैंकले नवीनतम् सेवा सुविधा दिने उद्देश्यका साथ ग्राहकलाई बैंकमा रहेको आफ्नो वा अन्य ग्राहकको खातामा नगद रकम जम्मा गर्न क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको हो । यस सेवा अन्तर्गत ग्राहकहरूले बैंक कर्मचारीको सहयोग विनै कुनै भौतिक फारम नभरी केवल खाता नम्बरको आधारमा मेसिनबाट सोझै नगद जम्मा गर्न सक्ने छन् र त्यस्तो रकम तुरुन्तै ग्राहकको खातामा जम्मा समेत हुने बैंकले जनाएको छ । यसै गरी ‘किओस्क’ मेसिनको प्रयोग गरी ग्राहकहरूले कुनै पनि समयमा बैंक कर्मचारीको सहयोग विनै आफैं क्लियरिङ चेक जम्मा गर्न सक्नेछन् । चेकहरू ग्राहकहरूको आवश्यकता तथा छनोट अनुसार सामान्य वा एक्सप्रेस क्लियरिङ अन्तर्गत जम्मा हुनेछ । ग्राहकहरुले खाता मौज्दात, खाताको जानकारी, मिनी स्टेटमेन्ट र स्टेटमेन्ट प्रिन्ट पनि यसै किओस्क मसिनबाट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकले क्यास डिपोजिट मेसिन (सीडीएम) सेवा हालको लागि आफ्नो गैरीधारा शाखामा र क्यास डिपोजिट किओस्क सेवा गैरीधारा तथा न्यूरोड शाखामा सञ्चालनमा ल्याएको छ । अन्य शाखाहरूमा समेत यो सेवा विस्तार गर्ने योजना रहेको बैंकले जनाएको छ । यस्ता नयाँ प्रणालीहरुको प्रयोगबाट नगद तथा चेक जम्मा गर्ने लगायतका सेवाहरु प्राप्त गर्न भौतिक फारम भर्नु पर्ने तथा बैंकको काउन्टरमा लाइन बस्नु पर्ने हालको अवस्था अन्त्य भई ग्राहकलाई सहज सुविधा पुग्ने शर्माले बताए ।
प्रदेशका कम्पनीलाई प्राधिकरणले भन्यो : उधारो बीमा रोक्नुस्, दररेटलाई पूर्ण रुपमा पालना गर्नुस्
काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले बीमा कम्पनीहरुलाई उधारो बीमा रोक्नेदेखि दररेटलाई पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको छ । प्राधिकरणले निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुखहरूसँग छलफल गरी कम्पनीहरुलाई सो निर्देशन दिएको हो । उक्त छलफलमा स्थानीय तहसँग अन्तरक्रिया गर्ने, उधारो बीमालाई रोक्ने, दररेटलाई पालना गर्नेदेखि नगद फिर्ता गर्नेसम्मको निर्णय भएको बीमा प्राधिकरणको लुम्बिनी प्रदेश प्रमुख पुर्ण बहादुर थापाले बताए । स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम लुम्बिनी प्रदेशमा रहेका बीमा कम्पनीले कुनै एउटा स्थानीय तह, वडा कार्यालय, टोल समुदायमा कार्यक्रम गर्नुपर्ने भएको छ । सो कार्यक्रम गर्दा बीमा प्राधिकरणको एक जना प्रतिनिधिको रोहवरमा गर्नुको साथै सो कार्यक्रमको प्रतिवेदन सात दिनभित्र प्राधिकरणको प्रदेश कार्यालयमा अनिवार्य रुपमा पेश गर्नुपर्ने निर्णय भएको प्राधिकरणका प्रदेश प्रमुख थापाले बताए । उधारो बीमालाई पूर्ण रुपमा रोक्ने बीमा ऐन २०७९ को दफा ६४ को उपदफा (२) को व्यवस्था बमोजिम पुरा बीमाशुल्क प्राप्त भएपश्चात बीमालेख जारी गर्नु पर्ने व्यवस्थालाई पूर्ण रुपमा पालना गर्नुपर्ने भएको छ । दररेटलाई पालना गर्नुपर्ने प्राधिकरणको विभिन्न समयमा जारी गरिएको निर्देशिका तथा निर्देशनले तोकिए बमोजिमका दररेटलाई पूर्ण रुपमा पालना गर्ने निर्णय भएको छ । जुन बीमा ऐन २०७९ को दफा ६४ को उपदफा (१) को व्यवस्था बमोजिम हुने पर्ने छ । नगद फिर्ता कम्पनीले व्यवसाय लिए बापत नगद, जिन्सी तथा अन्य कुनै पनि माध्यमबाट सम्बन्धित बीमितलाई प्रभाव पार्ने गरेको पाइएको भन्दै सो कार्यलाई रोक्ने निर्णय भएको प्रदेश प्रमुख थापाले बताए । उनका अनुसार उक्त प्रचलनले कम्पनीको नाफा लगायत अस्वस्थ प्रतिस्पर्धा हुन गएकोले सो कार्यलाई रोक्नको लागि बीमकका लुम्बिनी प्रदेश प्रमुखहरुको सहमतिमा सो निर्णय भएको हो ।