सिटिजन्स बैंकले संञ्चालन गर्यो बालिका शिक्षा तथा बाल विवाह न्युनिकरण मुद्धती खाता
काठमाडौं । सिटिजन्स बैंकले नेपालगञ्ज शाखा र नेपालगञ्ज उप–महानगरपालिका बाँकेबीच ‘बालिका शिक्षा तथा बालविवाह न्यूनिकरण मुद्धति खाता योजना’ नामक कार्यक्रमका लागि सम्झौता भएको छ । सो योजनाको मुख्य उदेश्य बालिकाहरुलाई बाल विवाह हुनबाट बचाउने र शिक्षामा निरन्तरता कायम राख्ने रहेकोले बालिका शिक्षा तथा बाल विवाह न्यूनिकरण मुद्धतिखाता योजना कार्यान्वयनका गर्ने छ । नेपालगञ्ज उप–महानगरपालिका विविध कोष अन्तर्गत बालिकाहरुको नाममा मुद्धति खाता खोली कार्यविधि बमोजिमको रकम खातामा जम्मा गर्ने रहेको छ । बालिकाहरुको लागि बैंक खाता खोल्ने र उपलब्ध सबै भन्दा अनुकूल ब्याज दरमा पच्चीस हजार रुपैयाँको मुद्दती निक्षेप राख्ने सहमति भएको छ । यस कार्यक्रमले बालविवाह घटाउन र यस क्षेत्रका युवा छात्राहरूको प्राथमिक, माध्यमिक र उच्च माध्यमिक शिक्षा पूरा गर्न महत्तवपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ । कोषको उचित सदुपयोग सुनिश्चित गर्न, खातावालाहरूले नेपालगन्ज उपमहानगरपालिका, बाँकेबाट सिफारिस पत्र प्राप्त गरेपछि मात्र रकम झिक्न सक्नेछन् । आफ्नो शिक्षा सफलतापूर्वक पूरा गर्ने र २० वर्षको उमेर अघि विवाह नगर्ने बालिकाहरुलाई मात्र सो पत्र जारी गरिनेछ । बैंकले देशैभरी फैलिएका आफ्ना १८४ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४१ वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
समृद्धि फाइनान्सको नयाँ शाखा महोत्तरीको औरहीमा
काठमाडौं । समृद्धि फाइनान्सको औरही शाखा उद्घाटन भएको छ । समृद्धि फाइनान्स कम्पनीको दसौं शाखाको रुपमा शाखा कार्यालय औरही, महोत्तरीको समुद्घाटन कार्यक्रम बुधबार औरही नगरपालिकाका मेयर प्रदिप कुमार खड्का र समृद्धि फाईनान्स संचालक दुर्गा थापाले संयुक्त रुपमा गरे । फाईनान्सको संचालक दुर्गा थापाको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा औरही नगरपालिकाको मेयर प्रमुख अतिथि रहेको थियो । अन्त्यमा संस्थाका संचालकले यस ठाउँका बासिन्दाहरुको आवश्यकता बमोजिम वैकले आफ्ना सेवाहरु लाई परिमार्जन गर्दै गुणस्तरिय सेवा दिने कुरा विश्वस्त पार्दै कार्यक्रमको समापन गरे । उक्त नयाँ शाखा सहित देशभरि फाइनान्सको शाखा सञ्जाल दस वटा पुगेको छ । संस्थाले यसै हप्ता थप २ नयाँ शाखाहरु उद्घाटन गर्ने योजना रहेको जनाएको छ । संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।
एक महिनापछि बिक्री हुँदै कृषि बीमालेख, सरकारले अनुदान नदिए पुनः बन्द गर्ने चेतावनी
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले बन्द गरेका कृषि सम्बन्धी बीमालेख पुनः जारी गर्ने भएका छन् । गत जेठ ७ गतेदेखि बन्द गरिएको उक्त बीमालेख करिब एक महिनापछि अर्थात असार ४ गतेदेखि सुचारु भएको हो । कम्पनीहरुले बारम्बार पहल गर्दा पनि सरकारले दिनुपर्ने अनुदान रकम नदिएको भन्दै उनीहरुले गत जेठ ७ गतेदेखि उक्त बीमालेखको बिक्री बन्द गरेका थिए । हाल भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीमकहरुलाई केहि आँशिक रकम उपलब्ध गराउने प्रतिवद्धता गरेकोले संघले बिक्री खुला गर्ने निर्णय गरेको हो । गत जेठ ३० गते कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भसालको अध्यक्षतामा मन्त्रालयका दुबै सचिवहरुको संयुक्त सहभागितामा बसेको बैठकमा अनुदान रकम तत्काल उपलब्ध गराउने प्रतिवद्धता भएको छ । यससँगै बीमक संघले आगामी असार मसान्तसम्मको लागि बीमालेख जारी गर्ने कार्य सुचारु गर्ने नेपाल बीमक संघले निर्णय गरेको छ । यदि उक्त समयभित्रमा पनि सरकारले अनुदान रकम नदिएमा पुनः बीमालेख बन्द गरिने संघको चेतावनी छ । नेपाल सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमाशुल्कमा क्रमशः अनुदान दिँदै आएको छ । बीमक संघका अनुसार सरकारले २०७७ सालदेखिको कृषि बीमाको अनुदान बापत करिब ३ अर्ब रुपैयाँ दिन बाँकी रहेको छ ।