सिटिजन्स बैंकका ग्राहकलाई ड्रिम इन्टरनेसनल र होटेल दा फ्लामीङगोमा छुट
काठमाडौं । सिटिजन्स बैंक र ड्रिम इन्टरनेसनल होटेल र होटेल दा फ्लामीङगोबीच समझदारी भएको छ । बैंक र कालिकापथ, बुटवल स्थित ड्रिम इन्टरनेसनल होटेल तथा योगिकुटी र होटेल दा फ्लामीङगोबीच सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका ग्राहकले ड्रिम इन्टरनेसनल होटेल र होटेल दा फ्लामीङगोमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४३ वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख भन्दा बढि ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
लघुवित्तको वित्तीय सेवा डिजिटल प्रणालीमा लैजानुपर्छ : डा. ढुङ्गाना
काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यबाहक गभर्नर डा. निलम ढुङ्गानाले लघुवित्तले गरिबी न्यूनिकरण र महिला उत्थानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएकी छिन् । आइतबार साना किसान लघुवित्त र आरएमडिसी लघवित्तको एकीकृत कारोबार सुरू गर्न आयोजित कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै ढुङ्गानाले लघु वित्तहरुको वित्तीय सेवा डिजिटलाइज्ड गर्दै जानुपर्ने बताइन् । अबको दिनमा वित्तीय सेवा डिजिटल प्रणालीमा हुने भएकाले संस्थाहरुले आइटी क्षमताको विकास गर्नु पर्ने डा. ढुङ्गानाले बताएकी हुन् । कतिपय विषयमा राष्ट्र बैंकले दिँदै आएको नियामकीय सुबिधा र छुट सधै दिन नसक्ने भएकाले संस्थाहरूले आफ्नै सक्षमता विकास गर्दै जानुपर्ने उनले बताइन् । संस्थाहरु एक आपसमा मर्जरमा जादा संस्थाको जोखिम कम हुने, पुँजी वृद्धी भई खर्च समेत घट्ने भएकाले लघुवित्तहरुले यस विषयमा ध्यान दिनुपर्ने उनको भनाई छ ।
गरिमा क्यापिटलको सञ्चालक समिति सदस्यमा हेरफेर
काठमाडौं । गरिमा क्यापिटलको सञ्चालक समिति हेरफेर भएको छ । कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रूपमा महेश प्रसाद काफ्ले र नगीमा श्रेष्ठ नियुक्त भएका छन् । यस्तै कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंकलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरु यादव कुमार श्रेष्ठ र रमा कान्त बरालको राजीनामा स्वीकृत भएको छ । साथै, गरिमा विकास बैंकलाई प्रतिनिधित्व गर्ने गरी राम प्रसाद श्रेष्ठ र अनिल रेग्मी सञ्चालकको रुपमा नियुक्त भएको क्यापिटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सञ्चालक समितिमा सदस्यहरुको हेरफेर पश्चात् सञ्चालक समितिको अध्यक्षमा दीपक पाण्डे कायम भएका छन् । यस्तै सञ्चालकहरुमा माधव प्रसाद उपाध्याय, अनिल श्रेष्ठ, राम प्रसाद श्रेष्ठ र अनिल रेग्मी भएका छन् भने स्वतन्त्र सञ्चालकहरुमा महेश प्रसाद काफ्ले र नगीमा श्रेष्ठ रहेका छन् ।