असार ३१ देखि एकीकृत कारोबार गर्दै विजय र नयाँ सारथी लघुवित्त
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले असार ३१ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेसँगै असार ३१ गतेदेखि एकीकृत कारोबार गर्ने जनाएका छन् । विजय लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु हुनेछ । दुवै लघुवित्त संस्थाले गत बैशाख ३० गते मर्जरमा जान अन्तिम सम्झौता गरेका थिए । दुई लघुवित्तले २०७९ मंसिर २६ गते मर्जरमा जानको लागि प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । त्यसपछि गत चैत २८ गते सम्पन्न दुबै लघुवित्तको वार्षिक साधारण सभाले पारित गरेको थियो । यससँगै दुई संस्था एक बराबर एकको स्वाप रेसियो अनुपातमा मर्ज हुने भएका हुन् । मर्जर पश्चात् लघुवित्तको अध्यक्षमा नयाँ सारथी लघुवित्तका अध्यक्ष लोक बहादुर खड्का र सीईओमा विजय लघुवित्तका सीईओ वसन्त लम्साल बन्नेछन् । मर्जर पश्चात् डीसीईओमा भने नयाँ सारथी लघुवित्तका सीईओ सरोज घिमिरे बन्नेछन् ।
असार २९ देखि एकीकृत कारोबार गर्दै लक्ष्मी सनराइज बैंक, २ दिन बैंक बन्द
काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबारको मिति असार २९ गतेका लागि तय भएको छ । दुई बैंकबीच असार २९ गतेदेखि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुने जनाएको छ । यसअघि मर्जरपछि बन्ने बैंकको कारोबार असार २४ गतेका लागि तोकिएको थियो । उक्त अवधिमा कर तिर्नका लागि बैंक बन्द नगर्नु पर्ने भएकाले असार २८ गतेदेखि एकीकृत कारोबार गर्ने भनेका थिए । पुनः सो समय पनि परिवर्तन गरेर असार २९ गतेका लागि समय निर्धारण गरिएको बैंकले जनाएको छ । एकीकृत कारोबार प्रयोजनका लागि दुवै बैंकको डाटा माइग्रेसनको काम गर्नु पर्ने भएकाले असार २७ गते र २८ गते दुई दिन दुवै बैंकको सम्पूर्ण सेवा बन्द रहनेछन् । राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेसँगै एकीकृत कारोबारका लागि बाटो खुला भएको हो । लक्ष्मी बैंकका सीईओ अजयबहादुर शाह मर्जरपश्चात् बन्ने बैंकको सीईओ नियुक्त हुने छन् । मर्जरपश्चात् पहिलो साधारणसभासम्मको लागि लक्ष्मी बैंकबाट ४ जना र सनराइज बैंकबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्नेछ । लक्ष्मी बैंकबाट हालका अध्यक्ष रमण नेपाल, सञ्चालकहरु डा। मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने छन् । तर, सञ्चालक दिनेश पौड्याल भने बाहिरिने छन् । मर्जरपश्चात् बस्ने पहिलो बैठकले बैंकको अध्यक्षमा रमण नेपाललाई चयन गर्नेछ । यस्तै, सनराइज बैंकबाट इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बन्ने छन् । सनराइज बैंकबाट हालका अध्यक्ष मोतिलाल दुगडलाई सञ्चालक पदका लागि सिफारिस भएपनि उनी सञ्चालक बन्न पाउने छैनन् । तर, मर्जरपछि बस्ने पहिलो बैठकमा भने दुगड उपस्थित हुनेछन् । त्यसपछि उनको सट्टा अन्य ब्यक्तिलाई सञ्चालक पदमा पठाउने कि रिक्त राख्ने भन्ने बैठकले निर्णय गर्नेछ । यदि अन्य ब्क्तिलाई सञ्चालक बनाएमा इन्जिनियर शैलेन्द्र गुरागाईं, शारदा शर्मा र दिपक नेपालमध्ये एक जना सञ्चालक बन्ने छन् । दुबै बैंकको गत असार ३ गते सम्पन्न साधारणसभाले मर्जरमा जाने विशेष प्रस्ताव पारित गरिसकेका छन् । दुवै बैंकबीच मर्जरमा जानका लागि गत जेठ ७ गते अन्तिम सम्झौता भएको थियो । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए ।
आईएमई लाईफको आईपीओमा १३ लाखको आवेदन, पौने ४ अर्बको सेयर माग
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमा १२ लाख ९० हजार लगानीकर्ताले आवेदन दिएका छन् । सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री गरेको सो कम्पनीको अन्तिम दिन अर्थात सोमबारसम्म १ करोड ५७ लाख कित्ता सेयरका लागि आवेदन परेको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जानकारी दिएको छ । लाईफ इन्स्योरेन्स कम्पनीहरुमा आईएमई लाईफले नेपालमै पहिलो पटक प्रिमियम मूल्यमा सेयर निष्काशन गरेको थियो । कम्पनीले १ सय ३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६ रुपैयाँ ९१ पैसा दरमा १ करोड २० लाख कित्ता सेयर निष्काशन गरेको थियो । जसमा कुल ३ अर्ब ७४ करोड रुपैयाँ बराबरको आवेदन परेको हो । कम्पनीले जारी गरेको कुल सेयरमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई वितरण गरिसकिएको छ । यस्तै ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामुहिक लगानी कोषलाई र अर्को ५ प्रतिशत अर्थात ६ लाख कित्ता सस्थाका कर्मचारीहरुलाई छुट्याएर बाँकी ९६ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गरिएको गरेको थियो ।