बैंक तथा वित्तीय संस्थाहरुले छिट्टै ब्याजदर घटाउने छन् : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाहरुले छिट्टै ब्याजदर घटाउने बताएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले चर्को ब्याजदर असुली गरिरहेको गुनासो आईरहँदा अर्थमन्त्री महतले सो आश्वासन दिएका हुन् । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ, काठमाडौंले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने विश्वास समेत व्यक्त गरे । अर्थमन्त्री महतले कोभिडलगायतका समस्याका कारण मारमा परेका उद्योगी, व्यवसायीहरुलाई बैंकको ब्याजदर घटने कुराले ठूलो राहत हुने बताए । ‘यो अहिलेको जुन ब्याजदर छ, त्यो ज्याँदा छ, त्यसकारण त्यसकारण यो पोलिसी रेट घटाउने र यो पुनर्ताजकीकरण गर्नका लागि पनि त्यो सुविधा दिनुपर्छ भन्ने कुरा पनि मैले नेपाल राष्ट्र बैंकमा राखेको छु, सायद केही न केही सम्बोधन होला, त्यसले गर्दाखेरी यो ब्याजदर घटेर त्यसबाट पनि जो ऋण लिएर ठूलो लगानी यो क्षेत्रमा भएको छ, केही न केही राहत पुग्नेछ भन्ने मलाई लागेको छ,’ डा. महतले भने । अर्थमन्त्री महतले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको उल्लेख गर्दै आन्तरिक वस्तुहरुको खपतमा जोड दिनु पनि आम उपभोक्तालाई आग्रह गरे । उनले कृषिबस्तुको खपत र रोजगारी सृजनाको क्षेत्रमा राम्रो काम गरेको भन्दै क्याटरिङ व्यवसायीहरुको पनि प्रशंशा गरे । अर्थमन्त्री महतले सरकारले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी प्रोत्साहनको नीति लिएको पनि दोहोर्याए । उनले कृषि अनुदान दुरुपयोग हुन नदिन सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादनको आधारमा अनुदान दिने व्यवस्था गरेको पनि स्मरण गराए । अर्थमन्त्री महतले भने, ‘अहिले हामीले बजेट प्रस्तावमा आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने । चाँहे उद्योग व्यवसाय होस् । चाहे कृषिजन्य व्यवसाय होस् । त्यसलाई प्रोत्साहन दिने । हरेक चिज हामी आयातित वस्तुमा मात्रै निर्भर हुने जुन परिस्थिति छ । त्यसलाई अन्त्य गरेर देश भित्रका कृषकहरु, कृषि व्यवसायमा लागेकाहरुलाई प्रोत्साहन गर्ने हामीले नीति लिएका छौं । एक तहको संरक्षण दिने नीति लिएका छौं । र, अनुदान पनि हामीले उत्पादनको आधारमा दिने व्यवस्था गरेको छौं । त्यसको दूरपयोग भयो भनेर उत्पादन जसले गरेर देखाउँछ, त्यसको आधारमा अनुदान दिने नीति पनि लिएका छौं ।’ अर्थमन्त्री महतले सरकारले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने चाहेको र सोही अनुसारको व्यवस्था बजेटमा नै उल्लेख गरिएको दावी समेत गरे ।

अप्पर तामाकोशीले साढे १० अर्ब बढीको हकप्रद जारी गर्ने, बोर्डले दियो स्वीकृति

काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरले हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको हो । बोर्डले कम्पनीलाई प्रतिकित्ता एक सय रुपैयाँका दरले एक बराबर एक कित्ताले हुन आउने १० करोड ५९ लाख कित्ता सेयर हकप्रद जारी गर्न स्वीकृति दिएको हो । यससँगै हाइड्रोले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर साविकका सेयरधनीहरुलाई बिक्री गर्ने छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट र सनराइज क्यापिटल रहेको छ ।

शैक्षिक कर्जा तथा सेवालाई सहजिकरण गर्न नबिल बैंकले खोल्यो नयाँ शाखा

काठमाडौं । नबिल बैंकले शिक्षा हवका रूपमा नयाँ शाखा अर्थात २५६ औँ बैंकिङ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पुतलीसडकस्थित बन्दीपुर कम्प्लेक्समा नयाँ शाखाको उद्घाटन गरी शुक्रबारबाटै सञ्चालनमा ल्याएको हो । शाखा उद्घाटन नबिल बैंकका निर्देशक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रुपमा रिबन काटी गरेका थिए । सोे अवसरमा निर्देशक पौड्यालले परामर्श हबका रुपमा परिचित पुतलीसडकमा नबिलको शिक्षा हबले विद्यार्थी, अभिभावक तथा परामर्श केन्द्रहरुलाई उत्तम सेवा दिनेमा विश्वस्त रहेको बताए । शैक्षिक कर्जा लगायत चाहिने अरु सम्पुर्ण बैंकिङ सेवा एकै ठाउँबाट दिने उद्देश्यका साथ यो शाखा उद्घाटन गरिएको सीईओ ढुंगानाले बताए । उनले सेवाग्राहीको मागलाई सम्बोधन गर्नको लागि नयाँ शाखा विस्तार गरिएकोे जनाए । विद्यार्थीहरूका लागि शैक्षिक गतिविधि र उनीहरूको गन्तव्य देशको यात्राको लागि बैंकिङ पहुँच दिने र दायरा विस्तार गर्ने अन्य परिष्कृत सेवाहरू प्रदान गर्ने विषयमा बैंक प्रतिबद्ध रहेको उनले उल्लेख गरे । नयाँ शाखाको विशेष प्राथमिकता शैक्षिक कर्जामा हुने बताउँदै शाखा प्रमुख विनय देवकोटाले सेवाग्राही विद्यार्थी, अभिभावक तथा परामर्शदाताहरुलाई सरल बैकिङ सेवा प्रदान गर्न सधैं तत्पर रहने बताए । उद्घाटन समारोहमा फेकनका अध्यक्ष वासुदेव नेपाल, इरिनका अध्यक्ष हेमन्त भट्टराई, एरी नेपालका अध्यक्ष महेशबाबु तिमिल्सिना, इक्यानका अध्यक्ष प्रकाश पाण्डे, नाएरका अध्यक्ष प्रेम पाण्डे र नेकाका अध्यक्ष सन्तोष प्याकुरेलका साथै युनिभर्शल ल्याग्वेजका संस्थापक उत्तम पन्तको विशेष उपस्थिति थियो । नबिल बैंकलाई विस्तारित शाखाका लागि बधाई दिँदै उनीहरुले विद्यार्थीहरूका लागि शैक्षिक गतिविधिका लागि चाहिने बैंकिङ सेवा नबिलले सहज वातावरणमा सरल किसिमले प्रदान गर्ने आशा रहेको बताए । नियमित बैंकिङ सेवाहरूका साथै, शैक्षिक कर्जा चाहने सेवाग्राहीलाई एकद्धार सेवा प्रदान गर्ने लक्ष्य बैंकको छ । शिक्षा हबका रुपमा रहेको नबिल बैंकको यस शाखाले आइल्स, टोफेल, जिएरआई, एसएटी लगायतका परीक्षाको दर्ता शुल्क, भिसा प्रक्रिया शुल्कको, कलेज तथा विश्वविद्यालयहरूमा ट्युशन शुल्क र अन्य शुल्कहरूको लागि विदेशी मुद्रा विनिमय दिने लगायतका सुविधा दिने उल्लेख गरिएको छ । त्यस्तै विदेशी विद्यार्थीको स्वास्थ्य बीमाको भुक्तानी समेत गर्न सकिने बैंकले जनाएको छ । बैंकको कुल निक्षेप ३ खर्ब ७८ अर्ब तथा कुल कर्जा ३ खर्ब ४० अर्ब रहेको छ । जसको शाखा सञ्जाल २५६ रहेको छ भने देशभरि २८३ एटिएम मेशिनहरुबाट बीस लाख भन्दा बढी सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।