सबैको लघुवित्त सातौं वर्षमा प्रवेश, सातै प्रदेशमा सेवा दिँदै
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था सातौं वर्षमा प्रवेश गरेको छ । तनहुँको बन्दीपुरमा केन्द्रिय कार्यालय रहेको लघुवित्त आजदेखि ६ वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेको हो । लघुवित्त संस्थाले सातौं वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्य समेत गरेको छ । वि.सं. २०७४ असार २५ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न लघुवित्त संस्थाले अनुमति पाएको थियो । साथै, असार ३० गतेदेखि बन्दिपुर १ डुम्रेबजारमा आफ्नो कार्य सुभारम्भ गरेको लघुवित्तले जनाएको छ । बढ्दो प्रतिष्पर्धा, बैकिङ बजारमा देखिएको तरलता अभावमा पनि उल्लेखनीय प्रगति हासिल गर्न सफल भएको लघुवित्तले बताएको छ । हाल यस लघुवित्तको अध्यक्षको जिम्मेवारीमा नारायण प्रसाद जोशी रहेका छन् । यस्तै, सञ्चालकहरुमा जीवमुर्ती पन्त, प्रदिप सिग्देल, सुश्मा द्विवेदी र श्याम प्रसाद श्रेष्ठ छन् । लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी भने केशव कुमार पौडेलले सम्हालिरहेका छन् । ग्रामीण नेपालको उत्पादन र उत्पादकत्वमा बृद्धि गरी समग्र गरिबी न्यूनीकरण गर्न लघुवित्तले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । लघुवित्त संस्थाले सातै प्रदेशका ४३ जिल्लामा ९० शाखा कार्यालय मार्फत् आफ्नो सेवा प्रवाह गरिरहेको छ । लघुवित्तका अनुसार ७६ हजार ६३२ ग्राहक सदस्य छन् भने ३१४ जना कर्मचारी संस्थामा कार्यरत छन् । ३ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको लघुवित्त संस्थासँग १ अर्ब २२ करोड रुपैयाँ बचत छ ।
‘नियामकीय भूमिकामा राष्ट्र बैंक कमजोर भयो, सेयर र घरजग्गामा गरेको कडाई खुकुलो गर्नु पर्छ’
काठमाडौं । नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीले मूल्यवृद्धि नियन्त्रण र वित्तीय स्थायित्वलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याइने बताएका छन् । आर्थिक छलफल चौतारी नेपालले काठमाडौँमा आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शिवाकोटीले यस्तो बताएका हुन् । ‘नेपाल राष्ट्र बैंकले तोकेअनुसार नै मुख्यगरी २ वटा विषयलाई केन्द्रमा राखेर मौद्रिक नीति आउनेछ । मुद्रास्फीति नियन्त्रणमा राख्ने र वित्तीय स्थायित्व कायम गर्ने कुरा मुख्य हुन्,’ उनले भने । सरकारी राजस्व बढाउने, रोजगारी बढाउने जस्ता विषय मौद्रिक नीतिले प्रत्यक्षरूपमा नहेर्ने भए पनि केही वित्तीय व्यवस्थामार्फत ती क्षेत्रलाई सम्बोधन गर्न सकिने शिवाकोटीको भनाइ छ । चालु आर्थिक वर्षका लागि सरकारले राखेको लक्ष्यअनुसार अहिले राजस्व उठ्न सकेको छैन । तर, अहिले देखिएका मुख्य समस्याहरू न्यून राजस्व उठ्नु र सहकारी क्षेत्रमा देखिएको सङ्कट पनि राष्ट्र बैंक नहेर्ने उनले बताए । सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नका लागि र रोजगारी सिर्जनाका लागि कुन क्षेत्रमा कर्जा विस्तार बढाउने भनेर हेरिने शिवाकोटीको भनाइ छ । त्यस्तै, नियामकीय भूमिकामा नेपाल राष्ट्र बैंक कमजोर भएको पनि उनले स्वीकार गरे । बैंकहरूले हाउजिङ क्षेत्रमा काठमाडौँ उपत्यकाभित्रका लागि मूल्याङ्कनको ३० प्रतिशत र उपत्यका बाहिरका लागि ४० प्रतिशत कर्जा दिइरहेकामा त्यसलाई बढाउन सकिने पनि उनको भनाइ छ । त्यस्तै, पूँजी बजारका क्षेत्रमा यसअघि लिइएका नीतिको समीक्षा र नतिजा हेरेर अघि बढ्नुपर्ने बेला आएको उनले बताए । त्यस्तै, पुनरकर्जा थप दिन सकिने अवस्थामा राष्ट्र बैंक नरहेको पनि शिवाकोटीले स्पष्ट पारे । आगामी आर्थिक वर्षको मौद्रिक नीति धेरै कडा वा लचिलो नभई सन्तुलितरूपमा मध्यस्थ खालको आउनेतर्फ पनि उनले सङ्केत गरे । ‘मौद्रिक नीतिले डिजिटल इकोनोमी, इनोभेसनका कुरामा लगानी बढाउने विषयलाई केन्द्रमा राख्छ । काउन्टर साइक्लिङ बफर लागू गर्ने समय अझै एक वर्ष पर सार्नुपर्ने हो कि भनेर विचार गर्नुपर्ने बेला आएको छ । चालु पूँजी कर्जा कार्यविधि कार्यान्वयनको विषयलाई पनि केही समय थाँती राखेर यसको सम्बोधन गर्न सकिन्छ,’ शिवाकोटीले भने, ‘मौद्रिक नीतिले ठूला ऋणीलाई कसरी नियमन गर्ने भन्नेबारे पनि सोच्नुपर्ने बेला भइसकेको छ । पुनरकर्जा, पुनर्तालिकीकरण, वैदेशिक मुद्रा सटहीमा दिइरहेको सुविधा लगायतका विषयमा राष्ट्र बैंकले आवश्यक र उपयुक्त निर्णय लिन्छ ।’ त्यस्तै, हरेक वर्ष मौद्रिक नीति ल्याउनका लागि निश्चित समय तोकेर नेपाल राष्ट्र बैंक ऐन संशोधन गर्ने निर्णय सञ्चालक समितिबाट भएको पनि उनले बताए । सरकारले सङ्घीय बजेट ल्याएको ७ कार्य दिनभित्रमा मौद्रिक नीति जारी गर्ने व्यवस्थासहित कानून संशोधन प्रस्ताव गरिएको शिवाकोटीको भनाइ छ ।
नेपाल इन्स्योरेन्सले न्यूरोडको ५ तले घरसहित ४ ठाउँको घरजग्गा बेच्दै
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको सम्पत्ति घरजग्गा बिक्री गर्ने भएको छ । इन्स्योरेन्सको आफ्नो स्वामित्वमा रहेका ४ वटा जिल्लाका घर र जग्गा लिलामीमा बिक्री गर्ने भएको हो । इन्स्योरेन्स कम्पनीले काठमाडौं, मोरङ्ग, पर्सा र चितवन जिल्लाका ४ वटा ठाउँको घरजग्गा बिक्री गर्ने जनाएको छ । साविक काठमाडौं महानगरपालिका २३, न्यूरोडस्थित कित्ता नम्बर १३५ मा रहेको ५७.६३ वर्गमिटर क्षेत्रफलमा बनेको ५ तले घर बिक्री गर्ने छ । यस्तै, मोरङ्गको साविक बिराटनगर उपमहानगरपालिका ११ स्थित कित्ता नम्बर ९ मा रहेको १ हजार ७६०.८० वर्गमिटर क्षेत्रफल जग्गा, पर्साको साविक बिरगन्ज उपमहानगरपालिका १४ स्थित कित्ता नं. ६५ मा रहेको १ हजार २५.२० वर्गमिटर क्षेत्रफलमा बनेको ३ तले पक्की घर र ट्रष्टको घर बिक्री गर्नेछ । यस्तै, चितवनको साविक भरतपुर नगरपालिका ५ स्थित कित्ता नम्बर ४२३५ को १ हजार ३०३.७० वर्गमिटर क्षेत्रफल भएको जग्गा बिक्री गर्नेछ । कम्पनीले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी २१ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।