सिटिजन्स बैंकको नाफामा छलाङ, वितरणयोग्य नाफा १ अर्ब बढी
काठमाडौं । सिटिजन्स इन्टरनेशनल बैंकले गत वर्ष करिब सवा २ अर्ब रुपैयाँ नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब २१ करोड ४४ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ५६ लाख १० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष बैंकले १०.४१ प्रतिशत बढी नाफा गरेको हो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १७.३० प्रतिशत बढेर ५ अर्ब ८५ करोड ७२ लाख ७४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ९९ करोड ३४ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिसन आम्दानी ०.८८ प्रतिशत बढेर ८७ करोड ६७ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १०.७७ प्रतिशत बढेर ६ अर्ब ९३ करोड ९८ लाख रुपैयाँ, सञ्चालन नाफा १३.३९ प्रतिशत बढेर ३ अर्ब ७ करोड २७ लाख रुपैयाँ र वितरण योग्य नाफा १ अर्ब ३ करोड ७२ लाख ७६ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको चुक्ता पूँजी १४ अर्ब २० करोड रुपैयाँ, जगेडा कोष ६ अर्ब ७४ करोड रुपैयाँ, निक्षेप संकलन १०.५० प्रतिशत बढेर १ खर्ब ६८ अर्ब ८४ करोड २१ लाख रुपैयाँ र कर्जा प्रवाह ६.९० प्रतिशत बढेर १ खर्ब ४० अर्ब ४० करोड १५ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १.४७ रुपैयाँ बढेर १५ रुपैयाँ ५९ पैसा रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात ११.१० गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५०.०८ रुपैयाँ रहेको छ । तथ्याङ्क अनुसार बैंकको खराब कर्जा ३.१९ प्रतिशत पुगेको छ । गत वर्ष बैंकको एनपीएल २.२२ प्रतिशत थियो । यस्तै, बैंकको सीडी रेसियो ८२.४० प्रतिशतमा झरेको छ । बैंकको लागत ८.३४ प्रतिशत र आधार दर १०.५१ प्रतिशत छ ।
वार्षिकोत्सवमा ज्योति विकास बैंकले गर्यो सामाजिक उत्तरदायित्वका कार्यक्रम
काठमाडौं । ज्योति विकास बैंकको १५औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्धन कोष’ मार्फत देशभरिका विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयबाट संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । वातावरण, स्वास्थ्य, सशक्तीकरण लगायतका विभिन्न क्षेत्रहरुमा सहयोग पुर्याउने हेतुले ती कार्यहरु गरिएको हो । शारीरिक तवरले फरक बालबालिकाका लागि कृत्रिम हात प्रदान गर्न इनेबल नेपालसँग सहकार्य गर्न बैंकले सम्झौता गरेको छ । इनेबल नेपालसँगको सहकार्यमा बैंकले १५ जना बालबालिकाहरुलाई थ्री डी प्रिन्टेड प्रोस्थेटिक ह्यान्ड्स प्रदान गर्नेछ । यी हातले बालबालिकलाई दैनिक जीवनका सामान्य काम गर्न मद्दत पुर्याउनेछ र समान अवसर प्राप्ति गरी जीवन गुणस्तर परिवर्तनमा सहयोग हुनेछ । ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा इनेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ३३ वर्षदेखि जनस्वास्थ्य सरोकारका कार्यक्रम र सेवा सञ्चालन गर्दै आएको फेक्ट नेपालसँगको सहकार्यमा बैंकले १५ विभिन्न ठाउँहरुमा स्वास्थ्य सम्बन्धि कार्यक्रमहरुको आयोजना गर्न सम्झौता गरेको छ । फेक्ट नेपालको प्राविधिक सहयोगमा स्वस्थ जीवनयापनको सचेतनामूलक कार्यक्रमदेखि निःशुल्क स्वास्थ्य शिविर जस्ता विभिन्न कार्यक्रम बैंकले गर्ने प्रतिबद्धतासहितको सम्झौता गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा फेक्टका कार्यकारी निर्देशक गौरी प्रधानले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । वार्षिकोत्सवका अवसरमा बैंकको धनगढी शाखाले हरियाली प्रवृधनका लागि वृक्षरोपण कार्यक्रम पनि आयोजना गरेको छ । धनगढी उपमहानगरपालिकासँगको समन्वयमा बैंकले वृक्षारोपण गरेको हो । सोही वार्षिकोत्सवका अवसरमा बैंकको मुर्गिया शाखाले सैनामैना नगरपालिक वडा नम्बर ५, ६ र ७ का सार्वजनिक स्थानका लागि ५० थान डस्टबिन वितरण गरेको छ । स्वच्छ र सफा समुदायको लागि बैंकको मुर्गिया शाखाको सक्रियतामा उक्त कार्यक्रम गरिएको हो । सोही अवसरमा बैंकको हसुलिया शाखा र केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम पनि गरिएको थियो । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा यी दुई स्थानमा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा ७५ जनाले रक्तदान गरे । वार्षिकोत्सवमा बैंकले लमजुङस्थित अपाङ संरक्षण समाजसँगको साझेदारीमा अपांगता भएका व्यक्तिलाई विभिन्न सहायता सामग्री प्रदान गरेको छ । बेँसीसहर शाखा कार्यालयमा वार्षिकोत्सव कार्यक्रमको अवसरमा बैंकले उक्त सहायता सामग्री वितरण गरेको हो । खुद नाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदालाई सधैं उच्च प्राथमिकतामा राखेको बैंकले जनाएको छ । ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
आँखुखोला जलविद्युतले हकप्रद निष्काशन गर्ने, ब्रिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिंग
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्काशन गर्नका लागि ब्रिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिंगलाई नियुक्त गरेको छ । आज सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा आँखुखोला जलविद्युत कम्पनीको तर्फबाट कम्पनीका अध्यक्ष राम श्रेष्ठ तथा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रतिक्षा शर्मा र नबिल इन्भेष्टमेन्ट बैंकिंगको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी बीच हस्ताक्षर गरेका हुन् । आँखुखोला जलविद्युत कम्पनीको संचालक समितिको निर्णयानुसार आफ्ना सेयरधनीहरुलाई १ः१.५ को अनुपातमा निकट भविष्यमा हकप्रद निष्काशन गर्नेछ । काठमाडोंबाट करिब १३२ किलोमिटर टाढा धादिङ्ग जिल्लामा अवस्थित आँखुखोला बुढीगण्डकी नदीको प्रमुख सहायक नदीहरु मध्ये एक हो । आँखुखोलाको क्याचमेन्ट क्षेत्र करिब ६३३ किलोमिटर छ । औसत बार्षिक प्रवाह ५८.३८ क्युमेक अनुमान गरिएको छ । ३४.५ क्युमेकको डिस्चार्ज ४० प्रतिशत भन्दा बढी सम्भाव्यता भएको मानिएको छ । कम्पनीको विद्युत उत्पादन क्षमता ८.४ मेगावाट रहेको छ र उक्त उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जडान गरिएको छ ।