आइएमई पेबाट हवाई टिकट काट्दा २०० रुपैयाँ क्यासब्याक
काठमाडौं । ‘आइएमई पे’ ले आन्तरिक हवाई उडानमा फ्ल्यास सेल्सको अफर सार्वजनिक गरेको छ। यस अफरमा सेवाग्राहीले प्रत्येक दिन साँझ ४ बजे देखि ६ बजेसम्म आन्तरिक उडानका एयरलाइन्सको टिकट काट्दा २०० रुपैयाँ क्यासब्याक पाउने छन् । यो अफर साउन ७ देखि साउन २६ सम्म चल्ने छ । उक्त छुट सेवाग्राहीले आइएमई पेमा भएका सम्पूर्ण आन्तरिक एयरलाइन्सको टिकटमा प्राप्त गर्न सक्नेछन् । सो अफर अवधि भित्रमा एयरलाइन्सको टिकट काट्ने सेवाग्राहीले साबिकमा चलिरहेको क्यासब्याक तथा प्रोमो कोडको प्रयोग गरी पाइने छुट सहित अहिलेको क्यासब्याक पनि पाउन सक्ने कम्पनीले जनाएको छ ।
कर्जा लिँदा ऋणीले प्यान नम्बर अनिवार्य लिएको हुनु पर्ने
काठमाडौं । २५ लाख रुपैयाँ भन्दा बढी कर्जा लिने ऋणीलाई स्थायी लेखा नम्बर (प्यान) नम्बर अनिवार्य गरिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एकीकृत निर्देशन जारी गर्दै २५ लाख रुपैयाँ वा सो भन्दा बढी कर्जा लिएका ऋणीलाई प्यान नम्बर अनिवार्य गरेको हो । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले छुट्टा छुट्टै वा एकमुष्ट गरी २५ लाख रुपैयाँ वा सो भन्दा बढी रकमको कर्जा कुनै व्यक्तिलाई प्रवाह गर्नु परेमा त्यस्तो व्यक्तिले अनिवार्य रुपमा स्थायीलेखा नम्बर (एब्ल्) लिएको हुनुपर्नेछ । साथै ऋणी एउटै समूह अन्तर्गत पर्ने भएमा त्यस्तो समूहले २५ लाख रुपैयाँ वा सोभन्दा बढी रकमको कर्जा लिएको अवस्थामा उक्त समूह अन्तर्गतको कुनै व्यक्तिलाई २५ लाख भन्दा कम रकमको कर्जा प्रवाह गर्नुपरेको अवस्थामा समेत अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक, आवाजबाटै भुक्तानीको जानकारी
काठमाडौं । एनआईसी एशिया बैंकले क्युआर कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै तत्काल प्राप्त हुने विशेषतासहितको स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गरेको छ । जसअनुसार बैंकको क्युआर कोड भुक्तानी प्रणालीमा आबद्ध भएका मर्चेन्टहरूले आफ्ना सेवाग्राहीबाट उक्त प्रणालीमा भुक्तानी लिँदा एसएमएस वा ईमेल अलर्टको अतिरिक्त अब यो डिभाइसमार्फत आवाजबाटै भुक्तानी प्राप्त भएको पुष्टि गर्न सक्नेछन् । डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ यो डिभाइसको सुरुवात गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकले ल्याएको स्मार्ट अडियो अलर्ट डिभाइसमा रहेको क्युआर कोडमार्फत कारोबार गरेपछि मर्चेन्ट तथा ग्राहकहरूले भुक्तानी सफलतापूर्वक भएको सूचना तत्काल प्राप्त गर्न सक्नेछन् । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा ल्याएको यस डिभाइसमा नेपाल पे क्युआरबाट भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुनेछ । यस्तै निकट भविष्यमा अन्य भुक्तानी नेटवर्कबाट भुक्तानी गर्दा समेत यस्तै सूचना दिने व्यवस्थाको तयारी गरिरहेको बैंकले जनाएको छ । क्युआर कोडमा आधारित भुक्तानीको तत्काल प्रमाणीकरण गरेर हजारौं मर्चेन्टहरू तथा लाखौं ग्राहकहरू बीच डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने मात्र नभई समग्र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न सो डिभाइस क्रान्तिकारी सावित हुने विश्वास बैंकले लिएको छ ।