एक सहकारीले भन्यो – ‘ललितपुरका राकेश शाक्यसँग होसियार रहनु’
काठमाडौं । मानसरोवर कृषि सहकारी संस्थाले ललितपुरका राकेश शाक्यसँग होसियार रहन आग्रह गरेको छ । सहकारी संस्थाले पूर्व कर्मचारी ललितपुर महानगरपालिका ११ का राकेश शाक्यसँग होसियार रहन आग्रह गरेको हो । शाक्य गैरकानुनी क्रियाकलाप र जानाजान ठगीमा संलग्न रहेकाले मानसरोवर कृषि सहकारीको कुनै कागजपत्र, चेकबुक वा मुद्दती बचत रसिद ल्याएर कारोबार गर्न खोजेको खण्डमा कारोबार नगर्न आग्रह गरेको हो । सहकारीका अनुसार ललितपुर महानगरपालिका ११ घर भई हाल गोदावरी नगरपालिका १० बस्ने शाक्य वि.सं. २०७६ साउन १ गतेका दिन प्रबन्धक पदमा नियुक्त भए । उनले वि.सं. २०७७ भदौ १ गतेदेखि स्वेच्छाले संस्थाको जागिर छाडेका थिए । संस्था छाडेर जाँदा आफ्नो जिम्मेवारीमा संस्थाको चलअचल सम्पत्ति बुझाई, हरहिसाब फरफारक गरेर जानुपर्ने हो । तर, उल्टै कृषि विकास बैंकको चापागाउँ शाखामा रहेको यस संस्थाको बैंक खातामा दस्तखत चल्ने सञ्चालकहरुले दस्तखत गरिसकेको चेक नं. १२९८४७०१ चोरेर लगी ४६ लाख ५० हजार रुपैयाँको चेक काटेर त्यसलाई बाउन्स गराए । त्यस्तै, उनले संस्था सञ्चालक समितिका सदस्यहरुलाई कालोसूचीमा राख्न सम्बन्धित निकायमा निवेदन समेत दर्ता गराए । खाता सञ्चालनमा प्रयोग हुने दस्तखत वि.सं. २०७७ असोज ३० गते नै परिवर्तन भइसकेको थियो । तर, शाक्यले वि.सं. २०७९ चैत १३ गतेको मितिमा चेक काटेर त्यसलाई बाउन्स गराएर संस्थालाई बदनाम गराउने, दुःख दिने र आफूले गैरकानुनी लाभ लिने नियत रहेको संस्थाको आरोप लगाएको छ । त्यसैले शाक्यले आगामी दिनमा पनि यस्ता गैरकानुनी क्रियाकलाप गर्न सक्ने भएकाले संस्थासँग कारोबार गरिरहेका बैंक तथा वित्तीय संस्था, सहकारी संघ र संस्थाका सेयर सदस्यहरुलाई सजग रहन आग्रह गरेको हो । साथै, संस्थासँग लिएको ऋणको साँवा ब्याज भुक्तानी गर्न र हिनामिना गरेको रकमको हिसाब एक हप्ताभित्र बुझाउन भनेको छ । अन्यथा संस्थालाई पुर्याएको हानिनोक्सानी उपर कानुनी कारवाही अघि बढाउने सहकारीले चेतनावनी दिएको छ ।
सिटिजन लाइफको आईपीओ २५७ रुपैयाँमा खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले असार ३१ गतेदेखि प्रिमियम मूल्यमा बिक्री खुला गरेकोमा आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज साउन १४ गते आवेदन दिने अन्तिम दिन हो । कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको अंकित मूल्य १ सय रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँका दरले १ करोड १२ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम अधिकतम सम्पूर्ण ११ लाख २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी आइआर त्रिपलबी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको समयमा नै वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको सुरक्षित कम्पनीको रुपमा जनाउँदछ ।
‘वित्तीय क्षेत्रको स्वनियमनमा संस्थागत नैतिक अभ्यास अपरिहार्य’
काठमाडौं । बैंकिङ क्षेत्रमा अपनाउन थालिएको विनियमन (डिरेगुलेसन)को अभ्यास र बढ्दो सूचना प्रविधिको कारण बैंकिङ क्षेत्रका नैतिक अभ्यास अपरिहार्य बन्दै गएको राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन् । शुक्रबार मोर्गन इन्टरनेसनल कलेजले आयोजना गरेको ‘इथिकल बैंकिङ’ विषयक सेमिनारमा राष्ट्र बैंकका उपनिर्देशक डा. गुणराज भट्टले अबको बैकिङ प्रणाली नियम कानूनभन्दा बढी नैतिक अभ्यासबाट निर्देशित हुनुपर्ने बताए । काठमाडौंको बसुन्धारामा रहेको मोर्गन इन्टरनेसनल कलेजले नियमित श्रृङ्खला अन्तर्गत शुक्रबार बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा सेमिनार आयोजना गरेको हो । ‘बैंकले सर्वसाधारणको निक्षेपमा व्यवसाय गर्ने भएकाले अन्य संस्थाभन्दा बढी बैंकिङ क्षेत्रमै नैतिक अभ्यास आवश्यक पर्छ । सर्वसाधारणले पनि बैंक तथा वित्तीय संस्थाको नैतिक अभ्यासकै आधारमा मूल्याङ्कन गरेका हुन्छन्’, डा. भट्टले भने । राष्ट्र बैंकका अर्का उपनिर्देशक रामशरण पोखरेलले बैंक तथा वित्तीय संस्थालाई स्वनियमनमा ल्याउन वित्तीय संस्थामा हुने नैतिक अभ्यासले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । ‘बैंक तथा वित्तीय संस्थालाई पारदर्शी र जवाफदेही बनाउन राष्ट्र बैंकले निरन्तर काम गरिरहेको छ । अबको दिनमा बैंक तथा वित्तीय संस्थाहरु स्वनियमनमा रहनुपर्छ । त्यसलाई संस्था भित्रको नैतिक अभ्यासले सघाउँछ’, पोखरेलले भने । मोर्गन इन्टरनेसनल कलेजले विद्यार्थीहरुलाई बैंकिङ क्षेत्रको असल अभ्यास र आगामी दिनमा बैंक तथा वित्तीय क्षेत्रले ध्यान दिनुपर्ने विषयमा जानकारी गराउने उद्देश्यले सेमिनार आयोजना गरेको क्याम्पस प्रमुख डा. दीपेन्द्र भण्डारीले बताए । ‘विद्यार्थीहरुलाई व्यवहारिकरुपमै सक्षम बनाउनका लागि सेमिनारहरुले सहयोग गर्ने भएकाले नियमितरुपमा आयोजना गरिरहन्छौं । स्रोत व्यक्तिहरुको अनुभव विद्यार्थीलाई सुनाउँदा ज्ञान हासिल गर्न सक्छन् । सोही उद्देश्यका लागि सेमिनार आयोजना गरिएको हो’, डा. भण्डारीले भने । सेमिनारमा कलेजका स्नातक तहका विद्यार्थी, अध्यापक एवं कर्मचारीहरुको सहभागिता थियो ।