सनराइज बैंकका सीईओ शर्मासहित ५० जनाले रोजे भिआरएस, ३६ महिनाको सुविधा

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक मर्जर भएपछि साविक सनराइज बैंकका सीईओ सुमन शर्मासहित ५० जनाले स्वेच्छिक अवकास सुविधा (भिआरएस)का लागि निवेदन दिएका छन् । दुवै बैंकको एकीकृत कारोबारपश्चात् खुला गरेको भिआरएसमा हालसम्म ५० जना कर्मचारीले निवेदन पेस गरेको बैंक स्रोतले विकासन्युजलाई जानकारी दिएको छ । स्रोतकाअनुसार साउन १५ गतेसम्म भिआरएसका लागि  निवेदन दिने समय छ । निवेदन दिने अन्तिम दिनसम्म भिआरएसका लागि निवेदन दिनेकाे स‌ंख्या बढ्न सक्ने बैंक स्राेतले बताएकाे छ । ‘भिआरएसका लागि आवेदन दिने समय सकिएको छैन । अहिलेसम्म ५० जनाले भिआरएसका लागि निवदेन दिएका छन् । तर, समय नसकिएको हुँदा यो संख्या बढ्न सक्छ,’ स्रोतले भन्यो । भिआरएस सुविधाका लागि हालसम्म साविक सनराइज बैंकबाट ४० जना र साविक लक्ष्मी बैंकबाट १० जनाले निवेदन पेस गरेको बैंक स्रोतले बताएको छ । साविक सनराइज बैंकबाट सीईओ शुमन शर्मा, नायव महाप्रबन्धक (डीजीएम) रोविन नेपाल र प्रमुख प्रबन्धक प्रितम लाल श्रेष्ठले भिआरएसका लागि निवेदन दिएका छन् । साथै, अन्य कर्मचारीहरुमा जुनियर लेभल र सपोर्टेड तहका रहेकाे स्रोतको भनाइ छ । नेपाल र श्रेष्ठले अवकाश पाउने बेला भएकाले भिआरएस सुविधा लिएका हुन् । ‘साविक सनराइज बैंकबाट भिआरएस राेज्ने अधिकांश कर्मचारी जुनियर लेभलका छन् । ड्राइभर, सेक्युरीटी गार्डहरुले पनि भिआरएसका लागि निवेदन दिएका छन् । सिनियर लेभलका कर्मचारी भने त्यति धेरै छैनन्,’ स्रोतले भन्यो । साविक लक्ष्मी बैंकको सिनियर लेभलबाट भने एक जनासहित जुनियर तहका कर्मचारीले निवेदन दिएकाे स्राेतले बताएकाे छ। स्रोतकाअनुसार सहायक महाप्रबन्धक (एजिएम) सञ्‍जीवराज जोशीले भिआरएस सुविधा लिन खोजेका हुन् । जोशी साविक लक्ष्मी बैंकबाट भिआरएस लिने सबैभन्दा सिनियर कर्मचारी हुन् । के-के पाउँछन् सुविधा ? भिआरएसमा बाहिरीने कर्मचारीले २४ महिनासम्मको तलब सुविधा पाउने छन् । तर, सपोर्टेड (कन्ट्र्याक्ट)कर्मचारीलाई भने ३६ महिनासम्मको तलव सुविधा दिइनेछ । सीईओ शर्माले पनि २४ महिनाको तलब पाउने छन् । तर, उनले सवारी साधन भने नपाउने भएका छन् । ‘भिआरएसमा घोषणा गरेअनुसारको सुविधा पाउँछन् । सपोर्टेड स्टाफहरु ड्राइभर, सेक्युरीटी गार्डहरुले ३६ महिनाको सुविधा पाउने छन्,’ स्राेतले भन्याे, ‘सिनियर लेभलको कर्मचारीले भिआरएस लिएको भए धेरै खर्च हुन्थ्यो तर, जुनियर लेभलको कर्मचारीले भिआरएस राेजेकाे हुँदा धेरै खर्च आउँदैन ।’ सिनियर डीसीईओमा भट्टराई नियुक्त मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकमा तीन जना नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) नियुक्त भएका छन् । साविक लक्ष्मी बैंकबाट सुमेद भट्टराई, साविक सनराइज बैंकबाट आरती राणा र अपचबहादुर यादव डीसीईओ बनेका हुन् । उनीहरु साविक बैंकको डीसीईओ थिए । बैंकमा ३ जना डीसीईओ भएपछि उमेर र अनुभवका आधारमा भट्टराईलाई सिनियर डीसीईओमा नियुक्त गरिएको हो । स्रोतका अनुसार डीसीईओ राणा र यादवले भने हालसम्म भिआरएस सुविधाका लागि निवेदन पेस गरेका छैनन् । ‘मर्जरपछि ३ जना डेपुटी सीईओ बन्नुभयो । ३ जनामध्ये भट्टराई सर सिनियर डेपुटी सीईओमा नियुक्त हुनुभयो,’ उनले भने, ‘डीसीईओ राणा र यादवले राम्रो रेस्पोन्सिबिलीटी पाउनु भएको छ । उमेर पनि छदैँछ । उहाँहरुलाई भिआरएस लिनु पर्ने बाध्यता छैन ।’ मर्जरपश्चात् कर्मचारी समायोजन सन्तुलित रुपमा गरेकाे बैंकले बताएको छ । सबै कर्मचारीलाई सहज वातावरण हुने गरी व्यवस्थापन गरेको बै‌ंकका अधिकारीहरु बताउँछन् । ‘सबै कर्मचारीले राम्रो रेस्पोन्सिबिलीटी पाउनुभएको छ । सहजरुपमा काम गर्ने वातावरण छ । दुबै बैंकका कर्मचारीलाई भेदभावरहित व्यवस्थापन गरिएको हो । कर्मचारी व्यवस्थापनमा लक्ष्मी सनराइज बैंक उदाहरणीय हुनसक्छ । दुवै बैंकका कर्मचारी खुशी नै रहेको रेस्पोन्स आइरहेको छ,’ उनले भने ।

जीवन बीमा व्यवसायमा देखियो चरम मन्दी, सीईओहरु भन्छन् : चालु आर्थिक वर्षमा गति लिन्छ

काठमाडौं । पछिल्लो समय जीवन बीमा क्षेत्रमा मन्दी देखिएको छ । बजारमा तरलता अभाव हुनु र निरन्तर रुपमा महँगी बढेसँगै त्यसको असर आम मानिसको प्राथमिकतामा नपर्ने जीवन बीमा क्षेत्रमा परेको हो । आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष (२०७९/८०) को असार मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आम्दानी २४.७२ प्रतिशतले घटेको छ । कम्पनीहरुले गत आर्थिक वर्ष (आव) मा ३१ अर्ब २० करोड रुपैयाँ प्रथम बीमाशुल्कबापत संकलन गरेका छन् । जबकी अघिल्लो आवमा कम्पनीहरुबाट ४१ अर्ब ४४ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन भएको थियो । गत आवमा संकलित प्रथम बीमाशुल्कमध्ये नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी छ । इन्स्योरेन्सले एक वर्षको अवधिमा ६ अर्ब ५७ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १०.८७ प्रतिशतले घटी हो । त्यस्तै, समीक्षा अवधिमा सबैभन्दा बढी प्रथम बीमाशुल्क संकलन गर्नेको दोश्रोमा नेशनल लाइफ, तेश्रोमा सूर्यज्योति, चौथोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन र पाँचौंमा हिमालयन लाइफ इन्स्योरेन्स रहेका छन् । यीमध्ये सूर्यज्योति र हिमालयन लाइफ मर्जरमा गएका कम्पनी हुन् । १५ वटा जीवन बीमा कम्पनीमध्ये साविकको प्रभु लाइफको प्रथम बीमा शुल्क सबैभन्दा बढी प्रतिशितले घटेको छ । साविकको महालक्ष्मी लाइफसँग मर्ज भएको साविकको प्रभु लाइफको प्रथम बीमाशुल्क गत वर्षमा ५६.०४ प्रतिशतले घटेर ६३ करोड ५८ लाख रुपैयाँमा झरेको हो । त्यस्तै, साविकको महालक्ष्मी लाइफको पनि ४०.७५ प्रतिशतले प्रथम बीमाशुल्क आर्जन घटेको छ । त्यस्तै, साविकको प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मर्ज भई बनेको हिमालयन लाइफको प्रथम बीमाशुल्क ४८.३७ प्रतिशतले घटेको छ । जुन प्रतिशतका आधारमा साविकको प्रभु लाइफ पछिको धेरै हो । राष्ट्रिय बीमा संस्थानको भने सबैभन्दा कम प्रतिशतले प्रथम बीमाशुल्क घटेको छ । समीक्षा अवधिमा संस्थानको बीमाशुल्क १.१३ प्रतिशतले घटेर ९५ करोड ३० लाख रुपैयाँमा झरेको छ । अघिल्लो आवमा संस्थानले ९६ करोड ३९ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेको थियो । सीईओहरु भन्छन् : नयाँ आवमा गति लिन्छ जीवन बीमा क्षेत्रमा गत आर्थिक वर्ष शुरु भएदेखि नै मन्दी देखिन थालेको हो । कोभिड १९ को महामारीमा पनि प्रभावित नभएको यो क्षेत्र पछिल्लो समय चरम मन्दीमा छ । अर्थतन्त्र सुस्ताउँदै गएसँगै जीवन बीमा व्यवसाय पनि घट्दै गएको जानकारहरु बताउँछन् । बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु भने अबको त्रैमासमा जीवन बीमा व्यवसायले गति लिनेमा आशावादी छन् । पछिल्लो समय बैंकिङ क्षेत्रमा तरलता बढ्न थालेसँगै बीमा व्यवसाय पनि बढ्ने उनीहरुको भनाई छ । जीवन बीमक संघका अध्यक्ष समेत रहेका पोषकराज पौडेल नयाँ वर्षमा नयाँ बिजनेसले गति लिने बताउँछन् । ‘गत वर्ष नयाँ बिजनेस स्लो भएपनि समग्रमा जीवन बीमा व्यवसाय राम्रै भएको छ, अब नयाँ आर्थिक वर्षमा नयाँ बिजनेस पनि राम्रो हुने छ भन्नेमा हामी आशावादी छौं,’ सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेत रहेका पौडेलले विकासन्युजसँग भने । त्यस्तै, तीन कम्पनी मर्ज भई बनेको हिमालयन लाइफ इन्स्योरेन्सका मनोज कुमार लाल कर्णले बजारमा तरलता अभाव भएकोले बीमा क्षेत्रमा मन्दी देखिएको बताउँछन् । ‘बजारमा तरलता अभाव भएकोले अन्य क्षेत्रसँगै यो क्षेत्रमा पनि मन्दी छाएको हो,’ विकासन्युजसँग बोल्दै उनले भने- ‘यो केही समयलाई हो, अब विस्तारै बढ्छ, चालु आवको पहिलो त्रैमासमै जीवन बीमा व्यवसायले गति लिन्छ ।’

पिजफाइर रेष्टुरेन्टमा प्रभु बैंकका ग्राहकलाई छुट

काठमाडौं । प्रभु बैंकका ग्राहकले काठमाडौंको पुतलीसडक स्थित पिजफाइर रेष्टुरेन्टका विभिन्न सेवाहरुमा आकर्षक छुट पाउने भएका छन् । रेष्टुरेन्टले उपलब्ध गराउने विभिन्न सेवामा उपलब्ध गराउने छुटसम्बन्धी सम्झौतामा दुवै पक्षबीच ८ साउनमा सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट वरिष्ठ बजार व्यवस्थापक शेखरराज वस्ताकोटी र पिजफाइर रेष्टुरेन्टका तर्फबाट कार्यकारी निर्देशक तथा प्रोप्राइटर महेश खत्रीले हस्ताक्षर गरे । प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहक एवम् बैंकका कर्मचारीहरुले सो रेष्टुरेन्टले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । बैंकले दिने सेवामा छुट पाउनका लागि प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको क्यूआर कोड, डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलमार्फत बिल भुक्तानी गर्नुपर्ने छ ।