रिलायबल लाइफले साउन २३ गतेदेखि २५७ रुपैयाँमा आईपीओ बिक्री गर्ने
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारण लगानीकर्तालाई साउन २३ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेर बाँडफाँट पश्चात् सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीका लागि र बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । कर्मचारीले भने प्रतिकित्ता १ सय रुपैयाँमा खरिद गर्न पाउने छन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले छिटोमा साउन २६ गते र ढिलोमा भदौ २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ ।
एलआईसी नेपालको साधारण सभाको समय परिवर्तन
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले साधारण सभाको समय परिवर्तन गरेको छ । इन्स्योरेन्स कम्पनीले यसअघि अपरान्ह ४ बजे गर्ने भनेको वार्षिक साधारण सभा अब बिहान ११ बजेबाट सुरु हुने छ । इन्स्योरेन्स कम्पनीको २० औं वार्षिक साधारण सभा साउन १७ गते बोलाएको छ । कम्पनीको सभाले हाल कायम चुक्ता पूँजी संरचनामा संस्थापक र साधारण सेयरको ७०ः३० को अनुपातलाई परिवर्तन गरी ६५ः३५ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७७÷७८ को सञ्चालक समितिकिो प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७८÷७९ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा साढे १९ करोड, वितरणयोग्य नाफा कति ?
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा २३.३९ प्रतिशत घटेर १९ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २५ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष लघुवित्तको व्यवसाय खुम्चिएपछि नाफामा धक्का लागेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.८७ प्रतिशत बढेर ४३ करोड ३४ लाख ३४ हजार रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ४२ करोड ५४ लाख ७२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत असार मसान्तसम्म लघुवित्तको खुद फि तथा कमिशन आम्दानी ४०.८२ प्रतिशत घटे ४ करोड १२ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ४.१४ प्रतिशत घटेर ४७ करोड ४७ लाख रुपैयाँ, सञ्चालन नाफा २३.४२ प्रतिशत घटेर २८ करोड ४७ लाख रुपैयाँ र वितरणयोग्य नाफा १७ करोड ७१ लाख रुपैयाँ रहेको छ समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १९ प्रतिशत बढेर १ अर्ब १४ करोड ७७ लाख रुपैयाँ, जगेडा कोष ०.६६ प्रतिशत बढेर ४३ करोड ४६ लाख रुपैयाँ, सापटी २१.०७ प्रतिशत घटेर ७ अर्ब ४६ करोड ५० लाख रुपैयाँ र कर्जा लगानी २६.३३ प्रतिशत घटेर ७ अर्ब ६५ करोड ६२ लाख रुपैयाँ छ । असार मसान्तसम्म लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी ९.४९ रुपैयाँ घटेर १७.१६ रुपैयाँमा झरेको छ । असार मसान्तसम्म लघुवित्तको मूल्य आम्दानी अनुपात ४१.९१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३७.८६ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ०.६६ प्रतिशत, कस्ट अफ फण्ड १२.०२ प्रतिशत र आधार दर १२.६ प्रतिशत पुगेको छ । लघुवित्तका अनुसार अघिल्लो आर्थिक बर्ष अन्त्यको तुलनामा यस त्रैमास मसान्तमा तरलता मौज्दातमा १८८ प्रतिशतले बृद्धि, संचित नाफा तथा जगेडा कोषमा ०.६६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा नाफा घटेपनि गत तेस्रो त्रैमासको तुलनामा १ प्रतिशत नाफा बढेको लघुवित्तले जनाएको छ । कर्जा असूलीको रकमबाट ब्याजदर लागत बढी भएको ऋण सापटी चुक्ता गर्नुका साथै तरलता व्यवस्थापन गरिएको छ ।