एक सहकारीले धितोमा रहेका ४ वटा सवारी साधन बेच्दै
काठमाडौं । अमृत बचत तथा ऋण सहकारी संस्थाले धितोमा राखिएका ४ वटा सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । सहकारी संस्थाबाट लिएको कर्जा पटकपटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि धितो राखिएका सम्पत्ति बिक्री गरेर असुल गर्ने जनाएको छ । सहकारी संस्थाबाट कर्जा लिएका ३ जना ऋणीको नाम र धितो सार्वजनिक गर्दै साँवा ब्याज तथा हर्जना लगायतको रकम १५ दिनभित्र नतिरेमा धितो लिलाम बिक्री गरेर असुल गर्ने बताएको हो । सहकारीबाट ऋण लिँदा धितो राखिएका सवारी साधन बिक्री गर्ने जनाएको छ । सहकारीका अनुसार ऋणी नयाँपाटी ५ काठमाडौंका अजित पण्डितको बा २ ख ५९४२ र बा २ ख ७१९८ नम्बरका बस, पिस्कर ५ सिन्धुपाल्चोकका सुभाष गुरुङको बा २ ख ५१४३ नम्बरको बस र तसर्पु ४ धादिङका चन्द्र बहादुर तामाङको बा १७ ख ३३२८ नम्बरको हात्ती गाडी लिलाममा राखिएको हो । सहकारी ऐन, सहकारी नियमावली, संस्थाको विनियम, कर्जा प्रवाह, लगानी तथा असुली निर्देशिका र अन्य प्रचलित कानून अनुसार सहकारी संस्थासँग भएको कर्जा लिखतको शर्त अनुसार कारबाही गरी धितो सुरक्षण दिएका सवारी साधनबाट असुल गर्ने संस्थाले बताएको छ । यदि उक्त उक्त सवारीबाट रकम असुल नभएमा ऋणीले एकाघर सँगोलको सदस्यहरूको नाममा रहेको चलअचल सम्पत्तिबाट असुल उपर गर्ने सहकारीले चेतावनी दिएको छ । अमृत बचत तथा ऋण सहकारी संस्था काठमाडौंको किर्तिपुर १ अमृतनगरमा रहेको छ ।
एनपीएल बढेपछि हिमालयनको नाफामा गिरावट, ईपीएस २० रुपैयाँ घट्यो
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थ (साविकको सिभिल लघुवित्त)को गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा ७८.५० प्रतिशत घटेर १ करोड ५३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ७ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको असारसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी २४.५२ प्रतिशत घटेर २० करोड २३ लाख ५२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले २६ करोड ८० लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी १६.३३ प्रतिशत घटेर २७ करोड २५ लाख ७६ हजार रुपैयाँ, सञ्चालन नाफा ७९ प्रतिशत घटेर २ करोड १९ लाख ९२ हजार रुपैयाँ र वितरणयोग्य नाफा ६० लाख रुपैयाँ छ । असारसम्म लघुवित्तको चुक्ता पूँजी ११ प्रतिशत बढेर ३१ करोड ९८ लाख रुपैयाँ, जगेडा कोष ११.२२ प्रतिशत घटेर १३ करोड ९६ लाख रुपैयाँ, सापटी रकम १९.३१ प्रतिशत बढेर ४ अर्ब १६ करोड ४४ लाख रुपैयाँ र कर्जा १५.०८ प्रतिशत बढेर ४ अर्ब ४३ करोड ७७ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । असारसम्म लघुवित्तको प्रतिसेयर आम्दानी २०.१ रुपैयाँ घटेर ४.८१ रुपैयाँमा झरेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात १५६.७६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३४.८५ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा १.४७ प्रतिशतबाट बढेर २.३७ प्रतिशत पुगेको छ । लघुवित्त कस्ट अफ फण्ड ११.३४ प्रतिशत र आधार दर १८.९२ प्रतिशत पुगेको छ । वित्तीय क्षेत्रमा फैलाइएको नकारात्मक तथा भ्रामक सन्देशको कारणले समग्र देशकै बैंकिग तथा लघुवित्त सेवा प्रभावित भएको लघुवित्तले जनाएको छ । जसको कारण कर्जा असुलिमा नकारात्मक असर परी निष्कृय कर्जामा वृद्धि हुन गई कर्जा नोक्सानी ब्यवस्थामा वृद्धि भएको लघुवित्तको भनाइ छ । ऋणी सदस्य संख्या, सदस्यहरुबाट प्राप्त हुने बचत, कर्जा लगानी तथा कोष लागतमा भएको परिवर्तनले संस्थाको कारोवार, मौज्दात र आम्दानीमा परिवर्तन देखिएको लघुवित्तले बताएको छ ।
सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिन्छ : मुख्यसचिव अर्याल
काठमाडौं । मुख्यसचिव डा.वैकुण्ठ अर्यालले मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य जरुरी रहेको बताएका छन् । बैँक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) र फेडेरेसन अफ नेपाल एक्सपोट्र्स एशोसियशनले संयुक्त रूपमा आयोजना गरेको ‘आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरू’ विषयक पुस्तक विमोचन कार्यक्रममा उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि निर्यातलाई बढावा दिनुपर्ने बताए । मुख्यसचिव डा.अर्यालले मुलुकले निर्यातजन्य वस्तु विकासमा जोड दिनसके बजारीकरणको समस्या नहुने उल्लेख गरे । निर्यात बढाउनका लागि निर्यात घर स्थापना राम्रो काम भएको बताउँदै निर्यात घर स्थापनाका लागि सरकार लाग्ने स्पष्ट गरे । उनले विदेशमा निर्यात हुने वस्तुलाई स्वदेशी बजारमा समेत प्रयोग गर्नसके राम्रो हुने बताए । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले नेपालमा उत्पादित वस्तुलाई निर्यात गर्नका लागि पुस्तक मार्गदर्शन हुने बताए । उनले निर्यातजन्य वस्तुमा गुणस्तरलाई ध्यान दिन आम व्यवसायीलाई आग्रहसमेत गरे । परराष्ट्र सचिव पौडेलले विदेशस्थित नेपाली नियोगमार्फत निर्यात प्रवद्र्धन गर्न सकिने उल्लेख गर्दै त्यसमा परराष्ट्र मन्त्रालयले समेत सहजीकरण गर्ने बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपालमा उत्पादित वस्तुलाई विदेशसम्म निर्यात गर्न सकेमात्र नेपालको अर्थतन्त्र बलियो हुने धारणा राखे । सरकारले विदेशमा निर्यात हुने वस्तुलाई पहिचान गरिरहेको उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्व अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाललगायतले दिगो विकासको लक्ष्य पूरा गर्न नेपालको मौलिक उत्पादनलाई बढावा दिई विदेशमा निर्यात गर्नुपर्ने बताएका थिए । बैंक तथा वित्तिय संस्था परिसङ्घ नेपालका अध्यक्ष पवनकुमार गोल्यानले आकाशिँदो आयात र बढ्दो व्यापार घाटालाई कम गरी मुलुकमा रोजगारी प्रदान गर्नका लागि निर्यातलाई बढाउनुपर्ने बताए । उनले मौलिक उत्पादनलाई विकास गरेर विदेशमा निर्यात गर्न सके २ वर्षमा ८ लाख रोजगारी सिर्जना गर्न सकिने धारणा राखे । डा.गोपालप्रसाद तिवारी, उत्तमप्रसाद गौतम र कृष्णराज बजगाईंद्वारा लिखित उक्त पुस्तकमा नेपाली हाते कागज, अल्लो, वस्त्र, उनी फेल्ट, धनियाँ, अलैँची, जडीबुटी, बेसार, अदुवा, धूपरअगरबत्ती र बास्केटलाई विदेशमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिने बताइएको छ ।