काठमाडौं । नेपालको अर्थतन्त्रमा सेवा क्षेत्र हाबी बन्दै गएको देखिन्छ भने कृषि क्षेत्रको योगदान प्रत्येक वर्ष घट्दै गएको छ । राष्ट्र बैंकले तथ्याङ्क अनुसार सेवा क्षेत्रको योगदान प्रत्येक वर्ष बढेको छ ।
गत वर्ष कृषि क्षेत्रको योगदान र वृद्धिदर दुवै घटेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष सेवा क्षेत्र र उद्योग क्षेत्रको वृद्धिदर घटेको भएपनि योगदान भने बढेको देखिन्छ ।
कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान गत वर्ष २४.१२ प्रतिशत छ । जबकी अघिल्लो वर्ष २४.६७ प्रतिशत र आर्थिक वर्ष २०७७/७८ मा २५.८० प्रतिशत योगदान कृषि क्षेत्रको योगदान थियो । यस्तै, उद्योग क्षेत्रको योगदान अघिल्लो वर्ष १४.०९ प्रतिशत रहेकोमा गत वर्ष घटेर १३.४५ प्रतिशत मात्रै छ । आर्थिक वर्ष २०७७÷७८ मा भने उद्योग क्षेत्रको योगदान १३.८२ प्रतिशत थियो ।
यस्तै, कूल ग्राहस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान अघिल्लो वर्ष ६१.२४ प्रतिशत रहेकोमा गत वर्ष बढेर ६२.४३ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७७÷७८ मा सेवा क्षेत्रको योगदान ६०.३८ प्रतिशत थियो ।
राष्ट्रिय तथ्याङ्ग कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा आर्थिक वृद्धि उत्पादकको मूल्यमा १.८६ प्रतिशत रहने अनुमान छ । जसमध्ये कृषि क्षेत्रको वृद्धि २.७३ प्रतिशत, उद्योग क्षेत्रको ०.५९ प्रतिशत र सेवा क्षेत्रको वृद्धि २.३३ प्रतिशत रहने अनुमान छ । जबकी आर्थिक वर्ष २०७८/७९ मा कृषि क्षेत्रको वृद्धि २.२४ प्रतिशत, उद्योग क्षेत्रको १०.८० प्रतिशत र सेवा क्षेत्रको वृद्धि ५.३२ प्रतिशत रहेको थियो ।
गत असारसम्म कुल गार्हस्थ्य बचतको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ६.४१ प्रतिशत रहेको छ । कुल स्थिर पुँजी निर्माण र कुल राष्ट्रिय बचतको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात क्रमशः २५.२१ प्रतिशत र ३१.६६ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७९/८० मा कुल विद्युतको जडित क्षमता वृद्घि भई २६८४.४ मेगावाट पुगेको छ । जसमध्ये जलविद्युतको २५३७.९ मेगावाट, सोलारको ८७ मेगावाट, कोजेनेरेसनको ६.० मेगावाट र थर्मलको ५३.४ मेगावाट विद्युत उत्पादन क्षमता रहेको छ ।
गत वर्ष कुल पर्यटक आगमन संख्यामा उल्लेख्य वृद्धि भएको छ । समीक्षा अवधिमा ८ लाख ६२ हजार ९९२ जना पर्यटक नेपाल आएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा उक्त संख्या ३ लाख ७४ हजार १४७ जना मात्रै थिए ।