जीवन बीमा कम्पनीबाट बाहिरियो एक अर्ब बढी

काठमाडौं । जीवन बीमा क्षेत्रबाट एक महिनाको अवधिमा एक अर्ब बढी रकम बाहिरिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा मात्रै एक अर्ब २८ करोड ३३ लाख रुपैयाँ जीवन बीमा कम्पनीहरुबाट बाहिरिएको हो । सञ्चालनमा आएका १४ कम्पनीका बीमितहरुले समय अगावै बीमालेख अर्थात बीमा पोलिसी सरेन्डर गर्दा उक्त रकम जीवन बीमा क्षेत्रबाटै बाहिरिएको हो । समीक्षा अवधिमा १४ कम्पनीका कूल ९ हजार ७९८ जना बीमितले बीमा पोलिसी सरेन्डर गरेका तथ्यांकले देखाएको छ । अर्थात कम्पनीहरुमा एक महिनामै ९ हजार ७८९ वटा पोलिसी सरेन्डर भएका छन् । संख्या र रकम दुबैको आधारमा नेपाल लाइफको सबैभन्दा बढी पोलिसी सरेन्डर भएका छन् । एक महिनामै नेपाल लाइफको ३ हजार ३२४ वटा पोलिसी बीमितहरुबाट सरेन्डर भएको छ । सो मात्राको पोलिसी सरेन्डर हुँदा कम्पनीबाट ४७ करोड २३ लाख रुपैयाँ एक महिनामै बाहिरिएको छ । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को २ हजार २४ वटा पोलिसी सरेन्डर भएका छन् । बीमितहरुले उक्त मात्राको पोलिसी सरेन्डर गर्दा कम्पनीबाट ३१ करोड २५ लाख रुपैयाँ बाहिरिएको छ । अर्थात कम्पनीले बीमितलाई बुझाएको छ । अन्य बाँकी १२ वटा कम्पनीको भने एक हजारभन्दा कम पोलिसी सरेन्डर भएका छन् । तीमध्ये हिमालयन लाइफको सबैभन्दा बढी अर्थात ९ सय ८८ वटा पोलिसी सरेन्डर हुँदा १२ करोड २२ लाख रुपैयाँ कम्पनीबाट बाहिरिएको छ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थाबाट पनि एक महिनामै १० करोड ३२ लाख रुपैयाँ बाहिरिएको छ । संस्थानका बीमितले एक महिनामै सो रकम बराबरको ८६२ वटा पोलिसी समर्पण गरेका छन् । यता सबैभन्दा कम पोलिसी सरेन्डर गर्नेमा सन नेपाल लाइफ इन्स्योरेन्स छ । अधिकांश कम्पनीको करोडौं रकम बराबरको पोलिसी सरेन्डर हुँदा कम्पनीको ११ लाख ८७ हजार रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ । इन्स्योरेन्सका १३ जना बीमितले सो रकम बराबरको पोलिसी समय अगावै त्याग गरेका हुन् । प्राधिकरणको तथ्यांकअनुसार नेशनल लाइफका २९१ जना बीमितले ४ करोड ५५ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका छन् । मेट लाइफका ४६८ जना बीमितले ४ करोड ३९ लाख, एशियन लाइफका ७४४ जनाले ५ करोड ८४ लाख, आइएमई लाइफका १३३ जना बीमितले ९९ लाख, रिलायबल नेपाल लाइफका १६२ जना बीमितले ९० लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् । त्यस्तै, सिटिजन लाइफका १७६ बीमितले एक करोड १४ लाख, सूर्यज्योति लाइफका ४०८ बीमितले ७ करोड ४६ लाख र सानिमा रिलायन्सका १८० बीमितले एक करोड ५१ लाख रुपैयाँ बराबरको बीमालेख साउनको एक महिनामा त्यागेका छन् । जीवन बीमा क्षेत्रमा सरेन्डर बढ्नुको मूख्य कारण देशको आर्थिक मन्दी रहेको बीमाका जानकारहरु बताउँछन् । आर्थिक रुपमा सहज भएमात्रै बीमा गरिने भएकाले पनि त्यसमा मन्दी छाउँदा बीमा क्षेत्रमा सरेन्डरको दर बढ्ने उनीहरुको भनाई छ । बीमितको सधैँ एउटै मानसिकता नहुने भएकाले पनि सरेन्डरदर बढ्ने गरेको बीमा विज्ञहरु बताउँछन् ।

क्रिकेट खेलाडीलाई सिटिजन लाइफको पाँच लाख पुरस्कार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले एसिया कप क्रिकेट खेलिरहेका नेपाली खेलाडीहरुको लागि पुरस्कारको घोषणा गरेको छ । सिटिजन लाइफले एसिया कप अन्तर्गत नेपाल र भारतको खेलमा विकेट जित्नेलाई हरेक विकेट बराबर पाँच लाख रूपैयाँ, हरेक छक्कामा एक लाख रुपैयाँ र हरेक चौकामा ५० हजार रुपैयाँ बराबरको पुरस्कारको घोषणा गरेको छ । सोमबार श्रीलङ्कामा नेपालले एसिया कप क्रिकेटको दोस्रो खेल खेलिरहेको छ । सिटिजन लाइफले उक्त पुरस्कार बराबरको रकमबाट विकेट जित्ने, छक्का र चौका हान्ने सम्बन्धीत खेलाडीको जीवन बीमा गरिदिने बताएको छ ।

बैंकिङ्ग कारोबारमा ग्लोबलले ल्यायो नयाँ प्रविधि, एटीएमबाटै चेक र नगद खातामा जम्मा गर्न सकिने

काठमाडौं । चेक र नगद बैंकमा जम्मा गर्न बैंकको काउन्टरमै पुगेर लाइन लाग्नुपर्ने झन्झटको अन्त्य भएको छ । अब एक/डेढ मिनेटमै चेक र नगद आफ्नो खातामा जम्मा गर्न सकिन्छ, त्यो पनि बैंक बाहिर बाटै । तर, कसरी ? विदेशमा अत्याधुनिक सुविधा उपयोग गरिरहेका बैंकले जस्तै नेपालमा पनि ग्लोबल आइएमई बैंकले एटीएम मेसिनमार्फत चेक र नगद बैंक खातामा जम्मा गर्न मिल्ने सुविधा ल्याएको हो । बैंकले सोमबारदेखि चेक र क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । बैंकले एकै साथ पाँच वटा चेक र नगद जम्मा गर्ने मेसिन सञ्चालनमा ल्याएको हो । बैंकका हेड अफ ट्रान्जएक्सन बैंकिङ्ग प्रमुख प्रकाश पौडेलले ग्लोबल आइमएई बैंकले सोमबारदेखि चेक र नगद डिपोजिट गर्ने मेसिनबाट डिजिटल इनोभेसनको सुरुवात गरेको बताए । ग्लोबल आइमएई बैंकको ग्राहक अब चेक र नगद डिपोजिट गर्न बैंकको शाखामा पुगिरहनु नपर्ने उनले बताए । ‘नगद जम्मा र चेक जम्मा गर्न बैंकमै आउनु पर्ने अवस्था बिस्तारै कम हुँदैछ, ग्राहकले बैंकभित्र नगई सेवा लिन पाउन भन्ने उद्देश्यले यो प्रविधिको सुरुवात गरेका हौं,’ उनले भने । बैंकका अध्यक्ष चन्द्र ढकालले ग्राहकलाई छिटो सेवा दिने उद्देश्यले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने मेसिन जडान गरेको बताए । मेसिन जडानसँगै बैंकले ग्राहकलाई तत्काल सेवा दिने र बैंकमा हुने लाइन कम गर्न सहयोग पुग्ने उनको भनाइ छ । साथै, पूँजी, सेवा, टेक्नोलोजी, नेटवर्क र पहुँच लगायत हरेक हिसाबले ग्लोबल आइएमई नम्बर वान बैंक रहेको उनले बताए । ‘सबैका लागि बैंक भन्ने नाराका साथ बैंक सञ्चालनमा आएको छ, वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै पूँजी भएको बैंक हो, आकार, सेवा, प्रविधि, नेटवर्क पहुँच लगायतको हिसाबले नम्बर वान बैंकका रुपमा अघि बढिरहेको छ, सोही मध्येको एउटा काम यो पनि हो,’ उनले भने । ‘७७ जिल्लामै साना तथा ठूला ऋणीहरुलाई बैंकिङ्ग सेवा दिइरहेको छ, ग्राहकहरुलाई छिटोभन्दा छिटो सेवा दिनका लागि क्यास डिपोजिट मेसिन र चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएका हौं’, ढकालले भने । चौबिसै घण्टा चेक डिपोजिट गर्न सकिने हेड अफ ट्रान्जिक्सन बैंकिङ्ग प्रमुख प्रकाश पौडेल चेकमार्फत् हुने कारोबारमा देखिएका समस्या समाधान चेक डिपोजिट मेसिनले गर्ने दावी गर्छन । अब बैंकको शाखा कार्यालयको काउन्टर बन्द भएको समयमा पनि चौविसै घण्टा चेक डिपोजिट गर्न सकिने उनले बताए । ‘चेकको कारोबार ग्राहकमैत्री बनाउन बैंकमा नगएर २४ सै घण्टा सेवा दिन मेसिन सञ्चालनमा ल्याएको हो, अब जुनसुकै समयमा एटीएममार्फत खातामा चेक र नगद जम्मा गर्न सकिन्छ, यो प्रविधि चेक डिपोजिट मात्रै नभएर सुरक्षाका हिसाबले पनि अत्यन्तै मजबुत छ,’ उनले भने, ‘यसमा चेक जम्मा गर्न आउने मान्छेको विवरण अनलाइनबाट डिजिटल भेरिफाइ हुन्छ, कसले चेक डिपोजिट गरिरहेको छ भनेर अनलाइनबाट नै भेरिफाइ हुने भएकाले विवरण पत्ता लगाउन पनि सजिलो छ ।’ चेक डिपोजिट गर्दा सबै गतिविधि डिजिटल रेकर्ड हुने भएकाले भोलिका दिनमा तथ्याङ्क खोज्न वा रेकर्ड निकाल्न गाह्रो हुँदैन । साथै, यो मेसिन पूर्णरुपमा पेपरलेस भएकाले वातावरणमैत्री रहेको उनको दाबी छ । ‘एउटा चेक जम्मा गर्न एकदेखि डेढ मिनेट लाग्छ, पहिला काउन्टरमा जम्मा गर्दा चेकमा हस्ताक्षर गरिन्थ्यो, अब यहाँ हस्तार हुँदैन, त्यसको सट्टा मोबाइल नम्बर आवश्यक पर्छ, नम्बरमा ओटिपी पठाएर भेरिफाइ गर्छाैं, त्यो भेरिफाइड गरेर मात्रै चेक जम्मा हुन्छ,’ उनले भने । अहिलेका लागि ग्लोबल आइएमई बैंक बाहेकको चेक मात्रै एटीएम मेसिनमार्फत जम्मा गर्न सकिन्छ । तर, दोस्रो चरणमा भने ग्लोबल आइएमई बैंकको चेक पनि जम्मा गर्न मिल्ने व्यवस्था गर्ने उनले बताए । हाल चेक डिपोजिट मेसिन काठमाडौं उपत्यकाभित्र कमलादी, न्यूरोड र कुलेश्वर शाखाबाट सञ्चालनमा आएका छन् । उपत्यका बाहिर भने वीरगञ्ज र पोखराबाट पनि उक्त मेसिन सञ्चालनमा छन् । अब बैंकमा लाइन लाग्नु पर्दैन हेड अफ ट्रान्जएक्सन बैंकिङ्ग प्रमुख पौडेलका अनुसार बैंकको शाखा कार्यालयमा अहिले पनि नगद कारोबार गर्नेको भीड लाग्ने गरेको छ । अब भने एटीएम मेसिनबाटै बैंक खातामा रकम जम्मा गर्न सकिन्छ । तर, क्यास डिपोजिट गर्न आउँदा मोबाइल भने अनिवार्य बोक्नु पर्ने हुन्छ । ‘अहिले पनि बैंकमा नगद जम्मा गर्नेको लाइन लाग्छ, नगद जम्मा गर्दा बैंकमा आउनु पर्ने, भौचर भर्नु पर्ने, लाइन लाग्नु पर्ने, टोकन लिनु पर्ने बाध्यता थियो, ती सबै काम गर्न समय लाग्ने गरेको छ,’ उनले भने, ‘अब मोबाइल नम्बर र एकाउन्ट नम्बर राखेकै आधारमा सिस्टमले भेरिफाइ गरेर खातामा रकम जम्मा गर्न सकिन्छ, अब नोट पनि सुरक्षित हुन्छन् ।’ उनका अनुसार नेपाल राष्ट्र बैंकले जारी गरेका निर्देशन विपरित कुनै ग्राहकले नक्कली नोट जम्मा गर्न खोज्यो भने मेसिनले पत्ता लगाएर सो नोट फिर्ता पठाई सक्कली नोट मात्रै जम्मा हुने उनले बताए । साथै, मेसिनले हरेक नोटको सिरियल नम्बर रेकर्ड राख्ने भएकाले कारोबार गर्न पनि सुरक्षित रहेको उनको भनाइ छ । ‘जस्तो ‘ए’ भन्ने मान्छेले नक्कली नोट जम्मा गर्न खोज्यो भने मेसिनले पत्ता लगाएर फिर्ता पठाउँछ, मेसिनभित्र एआई जडान गरिएको हुँदा नक्कली र सक्कली छुट्याउँछ, एक हजार र पाँच सयको नोटलाई च्यातेर जोडेर जम्मा गरेपनि पत्ता लगाउँछ,’ उनले भने, ‘एक पटकमा ९५ हजार रुपैयाँसम्म नगद जम्मा गर्न पाइन्छ, किनभने ९५ हजार भन्दा बढी रकम जम्मा गर्ने हो भने ग्राहकको परिचयपत्र अनिवार्य भेरिफाइ गर्नुपर्ने राष्ट्र बैंकको प्रावधान छ ।’ हाललाई एक हजार र पाँच सय रुपैयाँ दरका नोटलाई मात्रै जम्मा गर्ने व्यवस्था मिलाइएको छ । आवश्यकता अनुसार अन्य नोट पनि जम्मा गर्ने व्यवस्था मिलाइने उनले बताए ।