सानिमा रिलायन्स लाइफको नयाँ बोनस दर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८÷७९ सम्मको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले उक्त आवको आर्थिक लेखा जोखा तथा दायित्व मुल्याङ्कन गरी कम्पनीको बिमाङ्कीबाट तयार गरिएका बिमाङ्कीय प्रतिवेदन अनुसार सो मात्राको बोनस दर निर्धारण गरेको हो । सो प्रतिवेदनलाई प्राधिकरणले भदौ १९ गते गते स्वीकृत गरिसकेको इन्स्योरेन्सले जनाएको छ । इन्स्योरेन्सले सावधिक जीवन (रेगुलर) बीमा योजनामा बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस तोकेको छ । जसमध्ये शुन्यदेखि ९ वर्ष अवधि र १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ र २५ वर्षदेखि माथिको ७० रुपैयाँ बोनस दर निर्धारण गरिएको छ । कम्पनीका अनुसार सावधिक जीवन बीमा योजनामा १३ हजार ९५२ बीमा लेख संख्या जारी गरेका छन् । यस्तै, सावधिक जीवन (एकल) बीमा योजनामा कम्पनीले बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने भएको हो । जसमध्ये शुन्यदेखि ९ वर्ष अवधि र १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४३ रुपैयाँ र २५ वर्षदेखि माथिको ७० रुपैयाँ बोनस दर निर्धारण गरिएको छ । यस योजना अन्तर्गत कम्पनीले ७९६ बीमा लेख जारी गरेको छ । यस्तै, त्रिपल सावधिक बीमा योजनामा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म बोनस दर तोकिएको छ । जसमध्ये १० देखि १४ वर्ष अवधि र १५ देखि १९ वर्ष अवधिको २० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको २५ रुपैयाँ र २५ वर्षदेखि माथिको ३० रुपैयाँ बोनस दर प्रदान गर्नेछ । सो योजनाअन्तर्ग कम्पनीले ७९६ बीमा लेख बिक्री गरेको छ । यस्तै, कम्पनीको दम्पत्ति सावधिक बीमा योजनामा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँ बोनस दर प्राप्त गर्न सकिनेछ । जसमध्ये १५ देखि १९ वर्ष अवधिको २० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको २५ रुपैयाँ र २५ वर्षदेखि माथिको ३० रुपैयाँ बोनस दर प्रदान गर्ने भएको हो । कम्पनीका अनुसार यस योजनामा २ हजार ७२ बीमा लेख जारी गरेको छ । त्यसैगरी सावधिक तथा आजीवन बीमा योजनामा कम्पनीले बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ । जसमध्ये शुन्यदेखि ९ वर्ष अवधिको र १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ र २५ वर्षदेखि माथिको ७० रुपैयाँ बोनस दर निर्धारण गरिएको छ । सावधिक तथा आजीवन बीमा योजनाका २ हजार ९९९ वटा बीमा लेख जारी गरेको छ । यस्तै, अग्रिम भुक्तानी बीमा योजनामा बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ४१ रुपैयाँसम्म बोनस दर निर्धारण गरिएको छ । जसमध्ये १० देखि १४ वर्ष अवधिको ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३७ रुपैयाँ र २० देखि २४ वर्ष अवधिको ४२ रुपैयाँ बोनस दर तोकेको हो । वार्षिक अग्रिम भुक्तानी बीमा योजनामा प्रतिहजार न्यूनतम १९ रुपैयाँदेखि अधिकतम २१ रुपैयाँसम्म बोनस दर तोकिएको छ । जसमध्ये १५ देखि १९ वर्ष अवधिको १९ रुपैयाँ र २० देखि २४ वर्ष अवधिको २१ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ । कम्पनीका अनुसार अग्रिम भुक्तानी योजनाका १ हजार ४२४ र वार्षिक अग्रिम भुक्तानी योजनाका ४ हजार ६३५ बीमा लेख जारी गरेको छ । कम्पनीले सार्वजनिक गरेको बोनस दर मृत्यु दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी, अवधि भुक्तानी दाबी र चालु बीमालेखहरुमा लागू हुने जनाएको छ । साथै, कम्पनीका अनुसार आगामी बीमाङ्कीय मूल्याङकन नभएसम्मका लागि सोही बोनस दर लागू हुनेछ ।
नबिल बैंक भोजपुर शाखा स्थानान्तरण, भाडामा भवन खोज्दै
काठमाडौं । नबिल बैंकको भोजपुर शाखा स्थानान्तरण गरिने भएको छ । बैंकले हाल सञ्चालन भइरहेको भवनबाट स्थानान्तरण गरी नयाँ भवनबाट शाखा सञ्चालन गर्ने हो । उक्त शाखा स्थानान्तरण गर्ने भएकाले बैंकलाई नयाँ कार्यालय भवन आवश्यक परेको हो । बैंकका अनुसार भोजपुर नगरपालिका ७ क्षेत्रमा १ हजारदेखि १ हजार ५ सय वर्गफिट क्षेत्रफल भएको भवन आवश्यक परेको हो । प्रमुख व्यापारिक तथा बजार क्षेत्रमा शाखा कार्यालय संचालनका लागि भुईं तल्ला वा पहिलो तल्ला भएको भवन हुनु पर्ने बैंकले जनाएको छ । प्रस्तावित भवनहरुमा पानी, बिजुली तथा पार्किङ्गको सुविधासहित मोटर बाटो हुनुपर्ने, भवन सकड विस्तार योजनामा नपरेको हुनुपर्ने र भुकम्प प्रतिरोधात्मक भवनलाई प्राथमिकता दिइने बैंकले जनाएको छ । भवनको भूईं तल्लामा एटीएम तथा जेनेरेटर राख्नका लागि स्थान उपलब्ध, कम्तीमा १५ वर्षको लागि भवन उपलब्ध गराउनुपर्ने बैंकले जनाएको छ । बैंकले घरभाडा भुक्तानी गर्दा प्रचलित कानून अनुसार सम्पूर्ण कर कट्टी गरिने बताइएको छ ।
१५ लाख बढीले भरे सिटिजन लाइफको आईपीओ, कहिले हुँदैछ बाँडफाँड ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओमा १५ लाख बढीले आवेदन दिएका छन् । भदौ १५ गतेदेखि बिक्री खुला भएको उक्त आईपीओमा १५ लाख १० हजार ६९३ जनाले आवेदन दिएका हुन् । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटलका अनुसार आवेदकले १ करोड ६७ लाख ९० हजार १८० कित्ता सेयर माग गरेका छन् । प्रिमियममा निष्काशन भएको उक्त आईपीओमा ४ अर्ब ९ करोड ६८ लाख ३ हजार ९२०० रुपैयाँ बराबरको आवेदन परेको छ । उक्त आईपीओ आगामी साता बाँडफाँड हुने बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले विकासन्युजलाई जानकारी गराएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँको आईपीओ बिक्री गरेको हो । कम्पनीले अंकित मूल्य दर १ सय रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा १ करोड १२ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये ११ लाख २५ हजार कित्ता विदेशमा रोजगारीमा रहेका नेपाली, ५ लाख ६२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ५ लाख ६२ हजार ५ सय कित्ता कर्मचारीलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ ।