प्राइम बैंकका सबै ग्राहकहरुको खाता नम्बर परिवर्तन, एक दिन सेवा बन्द
काठमाडौं । प्राइम कमर्सियल बैंकले ग्राहकहरुको खाता नम्बर परिवर्तन गर्ने भएको छ । बैंकमा खाता सञ्चालन गरिरहेका ग्राहकहरूको खाता नम्बर भदौ २३ गते शनिबारदेखी परिवर्तन गर्ने जनाएको छ । सम्पूर्ण ग्राहकहरूको खाता नम्बर १० अङ्क तथा अक्षरबाट परिवर्तन गरी २० अङ्कको कायम गरिने बैंकले बताएको छ । नयाँ खाताको कारोबार ग्राहकहरुसँग हाल भइरहेको चेक तथा एटिएम कार्डबाट नै गर्न सकिने छ । साथै, मोबाइल बैकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस लगायतका सेवाहरूमा प्रयोग भएका साबिकको खाता नम्बरहरू प्रतिस्थापन गरी बैंकबाट नै नयाँ खाता नम्बर अद्यावधिक गराउने बैंकले जनाएको छ । साथै अन्य सबै निकायहरू जस्तैः स्टक ब्रोकर तथा डिम्याट खातमा ग्राहकहरु आफैंले नयाँ खाता नम्बर अद्यावधिक गराउनु पर्ने बैंकले जनाएको छ । साथै नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । यस्तै, प्राइम बैंकको बैंकिङ्ग सेवा एक दिन बन्द हुने भएको छ । बैंकका अनुसार कोर बैंकिङ सिस्टम (सीबीएस) अद्यावधिक गर्नु पर्ने भएकाले एक दिन बैंकको सम्पूर्ण सेवा बन्द रहनेछ । भदौ २२ गते शुक्रवार राति १० बजेदेखि १२ बजेसम्म कोर बैंकिङ अद्यावधिक हुने भएकोले एटिएम, मोबाइल बैंकिङ लगायत सम्पूर्ण सेवाहरू बन्द हुने बैंकले जनाएको छ ।
रिलायबल नेपाल लाइफले काठमाडौंसहित सातै प्रदेशमा जग्गा र भवन किन्दै
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले घरजग्गा खरिद गर्ने भएको छ । इन्स्योरेन्सले काठमाडौंसहित सातै प्रदेशमा जग्गासहित घर पनि खरिद गर्ने भएको हो । कम्पनीका अनुसार काठमाण्डौं उपत्यकामा ज्ञानेश्वर, पुतलिसडक, नक्साल, बानेश्वर लगायत चक्रपथ भित्रका उपयुक्त व्यवसायिक स्थानमा न्यूनतम १२ आना जग्गा वा सोमा बनेको भवन खरिद गर्ने छ । त्यस्तै, गण्डकी प्रदेशको पोखरा, गैंडाकोटमा न्यूनतम १२ आना जग्गा किन्ने कम्पनस्ले बताएको छ । यस्तै, कोशी प्रदेशको विर्तामोड, इटहरी, विराटनगर, मधेश प्रदेशको लहान, जनकपुर, बर्दिवास, बागमति प्रदेशको चितवन, लुम्बिनी प्रदेशको बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, कणाली प्रदेशको बिरेन्द्रनगर बजार र सुदुरपश्चि प्रदेशको अत्तरीया, धनगढी, महेन्द्रनगरमा न्यूनतम १÷१ कट्टा जग्गा वा सो जग्गामा भवन समेत खरिद गर्ने बताएको छ । बिक्री गरिने जग्गा ४० फिट मुल सडकसँग जोडिएको तथा मुख्य बजार क्षेत्रभन्दा ५०० मिटर भित्र, तराइको हकमा कम्तिमा २० मिट फराकिलो तथा उपत्यकाको हकमा कम्तिमा १६ फिट फराकिलो बाटो भएको हुनुपर्नेछ । उक्त स्थानहरुमा जग्गा वा जग्गामा बनेको भवन बिक्री गर्न इच्छुक धनीहरुले ३५ दिनभित्र बोलपत्र पेश गर्न कम्पनीले आग्रह गरेको छ ।
महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले संस्थापक समूहको १४ हजार कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । लघुवित्तका अनुसार संस्थापक सुरत लाल चौधरीको नाममा रहेको ६ हजार कित्ता, कविता कुमारी चौधरीको ४ हजार र पन्ना लाल चौधरीको ४ हजार कित्ता गरी कूल १६ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । लघुवित्तले उक्त सेयरको मूल्य तोकेको छैन । लघुवित्तको सेयरमा संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिन सक्ने छन् । यदि सो समयभित्र आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गर्ने लघुवित्तले जनाएको छ ।