३७० रुपैयाँमा आशा लघुवित्तको १ लाख ३० हजार कित्ता सेयर बिक्रीमा
काठमाडौं । आशा लघुवित्त वित्तीय संसथाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले संस्थापक समूहको १ लाख ३० हजार कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । लघुवित्तका अनुसार संस्थापक समूहका केही संस्थापक सेयरधनीहरुले उक्त सेयर बिक्री गर्न लागेका हुन् । बैंकको सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७० रुपैयाँ तोकेको छ । इच्छुक जोकोही लगानीकर्ताले सो मूल्य वा सोभन्दा बढी तोकि निवेदन पेश गर्नु पर्ने लघुवित्तले जनाएको छ । लघुवित्तले यसअघि ३५ दिनभित्र संस्थापक सेयरधनीलाई बिक्री गरेको थियो । तर, सो समयमा कसैको पनि आवेदन नपरेपछि सर्वसाधारणलाई पनि बिक्री खुला गरेको हा ।
माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश पाउन आजसम्म सेयरधनी बन्नु पर्ने
काठमाडौं । माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज ८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज असोज ७ गते आइतबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् । बैंकले २५ औं वार्षिक साधारण सभा असोज १८ गते पोखरामा बिहान ११ बजे बोलाएको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । त्यसैगरी, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
गोदावरी नगरपालिकाले घर बीमा र कृषि तथा पशुपन्छी बीमालाई जोड दिने
काठमाडौं । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले कृषि तथा पशुपन्छी बीमा र घरबीमालाई योजनावद्ध किसिमले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । बिहीबार नेपाल बीमा प्राधिकरणले आयोजना गरेको ललितपुर जिल्लास्थित गोदावरी नगरपालिकासँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो प्रतिवद्धता गरेका हुन् । साथै, प्रमुख महर्जनले राहतको व्यवस्थाले समस्याको समाधान नहुने भएकाले जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्न बीमा नै गर्नुपर्ने बताए । बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले नगरपालिकाका सेवासँग बीमालाई आवद्ध गर्न आग्रह गर्दै बीमाबाट घर लगायत सम्पत्तिको जोखिम बीमा कम्पनीमा हस्तान्तरण भई आर्थिक सुरक्षण हुने बताए । निर्देशक लालले घटना कतिखेर हुन्छ भन्ने थाहा नहुने भएकाले दुर्घटना बीमा र कृषि तथा पशुपन्छी बीमालाई प्रोत्साहित गर्न तथा विपन्न बर्गको बीमा नगरपालिकाले नै गरिदिने व्यवस्था गर्न आग्रह गरे । गोदावरी नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरु तथा बीमा कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीले बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुती गरेका थिए । कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक निश्चल राज बानियाँले गरेका थिए ।