ग्लोबल आइएमई बैंकले जित्यो अन्तरबैंक महिला फुटसलको उपाधि

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८० को महिला तर्फको उपाधी ग्लोबल आइएमई बैंकले जितेको छ । संविधान दिवसको अवसरमा आयोजना गरिएको अन्तरबैंक फुटसल प्रतियोगिता २०८० मा महिलातर्फ २० वटा बैंक तथा वित्तीय संस्थाहरु सहभागी भएका थिए । उक्त प्रतियोगितामा पुरुष र महिलातर्फ खेल भएको थियो । प्रतियोगितामा महिलातर्फको बिजेता हुनुका साथै सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकको उपाधिसमेत जितेको छ । फाइनल खेलमा ग्लोबल आइएमई बैंकले स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई २-१ ले हराएको हो । प्रतियोगिता भरी ग्लोबल आइएमई बैंकले आफनो सम्पूर्ण खेलहरुमा सहज जित निकालेको थियो । त्यस्तै, सर्वाधिक गोलकर्ताको उपाधी ग्लोबल आइएमई बैंकका चन्द्रिका भट्टले हात पारेकी छिन । उनले ७ गोल गरी सर्वाधिक गोलकर्ताको उपाधी पनि जितिन् । साथै, बैंकका तर्फबाट गोल रक्षक केष माया गुरुङ्गले सबै खेलहरुमा उत्कृष्ट बचाउ गर्नुका साथै फाइनल खेलमा आफ्नो टिमको तर्फबाट पेनाल्टी हाल्ने अवसरलाई गोलमा परिणत गरी टिमलाई बिजेता बनाउन महत्वपूर्ण भूमिका खेलिन् । बिजेता ग्लोबल आइएमई बैंकको तर्फबाट टिम कप्तान चन्द्रिका भट्टको नेत्तृवमा लुनिभा भुजुँ, पुष्पा कोईराला, शुभेक्षा बिडारी, राम कुमारी लिम्बु, केष माया गुरुङ्ग र शोभा न्यौपाने सहभागि भएका थिए । टिम व्यवस्थापकको भूमिकामा गुन्जिता शर्मा र प्रशिक्षकमा सागरबहादुर सिंहको सहभागिता थियो । टिम प्रशिक्षक सिंहले उक्त प्रतियोगितामा आफ्नो टिमलाई विजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।  

आईएमई गरेको पैसा अब सिधै शाइन रेसुंगाको खातामा

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आईएमईसँगको सहकार्यमा मोबाइल बैंकिङ एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ । यससँगै ग्राहकले अब कुनै पनि समयमा आईएमई रेमिट्यान्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्ने भएका छन् । आधुनिक बैंकिङलाई आत्मसात् गर्दै डिजिटल बैंकिङलाई प्राथमिकतामा राखेको बैंकले ग्राहकलाई अनलाइनबाटै रेमिट्यान्स रकम भुक्तानी लिन सकिने व्यवस्था गरेको हो । यसअघि, शाइन रेसुंगाले आफ्नो मोबाइल बैंकिङ एपमा ईसेवा रेमिट्यान्स (ईएमटी) सेवालाई पनि एकीकृत गरेको थियो, आगामी दिनमा अन्य रेमिट्यान्स सेवा पनि एकीकृत गर्ने योजना बैंकले बनाएको छ । सन् २००१ मा स्थापित आइएमई विप्रेषण सेवाप्रदायक नेतृत्वदायी रेमिट्यान्स कम्पनी हो ।

आइएमई मार्फत सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा सुरु

काठमाडौं । आइएमई मार्फत सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा सुरु गरेको छ । आइएमईले विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूले आफ्नो सामाजिक सुरक्षा कोषमा योगदान बापतको रकम जम्मा गर्न मिल्ने सेवा सुरु गरेको हो । कम्पनीका अनुसार विदेशमा रहेका नेपालीहरूले अब विदेशस्थित आइएमई रेमिटेन्स पार्टनर मार्फत सजिलै यो सुविधा लिन सक्नेछन् । यो सेवा सुरु गर्दै सामाजिक सुरक्षा कोषलाई रेमिटेन्स प्लेटफर्ममा एकीकृत गर्न आइएमई पहिलो  रेमिटेन्स कम्पनी बनेको छ । आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले यो सुविधा मार्फत विदेशमा रहनुभएका  नेपालीको भरोसालाई कायम राख्न थप सेवा प्रदान गरिएको बताएका छन् । कोषले अघि बढाएको वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा योजनाको प्रवर्द्धनका लागि समेत आइएमईको सेवाले सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरेका छन् । यसअघि सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका नागरिकले सामाजिक सुरक्षा योजना अन्तर्गत कम्तीमा नेपाल सरकारबाट तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् हाल न्यूनतम दुई हजार दुई मासिक रूपमा र अधिकतम न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणा सम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुनसक्ने व्यवस्था मिलाएको थियो ।