सुनको आयात कोटा दोब्बरले बढाइयो, अब दैनिक २० केजी

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा बढाएको छ । स्रोतका अनुसार बैंकहरुले दैनिक आयात गरिने सुनको कोटा दोब्बरले बढाएको हो । राष्ट्र बैंकको सो निर्णय गरेसँगै अब वाणिज्य बैंकहरुले प्रतिदिन २० केजी सुन आयात गर्न पाउने छन् । यसअघि वाणिज्य बैंकहरुले प्रतिदिन १० केजी सुन आयात गरिरहेका थिए । नेपाल सरकारको सिफारिसमा बजारमा सुनको आपूर्ति सहज बनाउन दैनिक आयात हुने सुनको कोटा बढाउने निर्णय गरिएको राष्ट्र बैंक उच्च स्रोतले बतायो । राष्ट्र बैंकले कोटा वृद्धिको निर्णय कार्यान्वयनका लागि परिपत्र जारी गर्नु पर्ने हुन्छ । तर, राष्ट्र बैंकले हालसम्म परिपत्र गरेको जारी गरेको छैन । यसअघि वि.सं. २०७८ फागुनमा नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै सुन आयातको दैनिक कोटा १० केजीमा झारेको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुनको आयात कोटा बढाउने निर्णय गर्दै कार्यान्वयको लागि राष्ट्र बैंकलाई पत्रचार गरेको थियो ।

एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त भएका छन् । असोज ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पौडेललाई संस्थाको कम्पनी सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि संस्थाको कम्पनी सचिवको जिम्मेवारी सम्हालेका विशाल उप्रेतीको राजिनामा स्वीकृत भएसँगै पौडेलले संस्थाको कम्पनी सचिव पदको जिम्मेवारी पाएका हुन् । पौडेल यसअघि संस्थाको प्रमुख रणनीति अधिकृतको रुपमा कार्यरत थिए ।

स्टार हस्पिटलले सेयर जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । स्टार हस्पिटलद्वारा साधारण सेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । बिहीबार आयोजित एक कार्यक्रममा स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोर कुमार महर्जन र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । स्टार हस्पिटलले ४० करोड रुपैयाँ शेयर पूँजी बराबरको १०० रुपैयाँ अँकित दरको ४० लाख कित्ता शेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागेको हो । करिब ६९ करोड चुक्ता पूँजी भएको यस हस्पिटल संग २५ प्रतिशत अग्राधिकार शेयर सहित ८५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको अवस्थामा यो निष्कासन संगै केही संस्थागत लगानीकर्ताहरु, बीमा कम्पनीहरु, प्राइभेट इक्विटी कम्पनीहरु तथा नीजि संस्थागत लगानीकर्ताहरु समेतको गरी चुक्ता पूँजी २ अर्ब रुपैयाँ भन्दा माथि हुने जानकारी गराईएको छ । यस थप पूँजी लगानीबाट अस्पतालले आधुनिक उपकरणहरु सहित नयाँ उपचार सेवाका विधाहरु जस्तै क्यान्सर सेवा, क्ष्ख्ँ सेवा र अधिराज्यका विभिन्न स्थानहरुमा उपचार सेवा केन्द्र विस्तार गर्ने योजना रहेको बताइएको छ । यथाशक्य चाँडै नै अन्तराष्ट्रिय बैँक संग समेत सहकार्य गर्ने सिलसिलामा केही प्रख्यात विदेशी अस्पतालसंग सहकार्य गरी सेवा विस्तार गर्ने योजना समेत रहेको बताइएको छ । स्वास्थ्य क्षेत्रमा काम गर्ने यो हस्पिटल सर्वसाधारणहरुलाई शेयर जारी गर्ने पहिलो संस्था हुने जानकारी गराईएको छ ।