कामना सेवाले एनईभी नेपालको विद्युतीय गाडी किन्न कर्जा दिने
काठमाडौं । कामना सेवा विकास बैंकले एनईभी नेपालको विद्युतीय सवारी साधान किन्नेलाई सस्तोमा कर्जा दिने भएको छ । सो सम्बन्धमा विकास बैंक र एनईभी नेपालबीच भदौ २६ गते नै सम्झौता गरेका हुन् । उक्त सम्झौता पत्रमा कामना सेवा विकास बैंकका तर्फबाट नायव कार्यकारी अधिकृत विनय दाहाल र एनईभी नेपालको तर्फबाट कार्यकारी अधिकृत सबिता कुमारी क्षेत्रीले हस्ताक्षर गरेका हुन् । यससँगै एनईभी नेपालका विद्युतीय सवारी साधन खरिद गर्न चाहाने ग्राहकले कामना सेवा विकास बैंकबाट सस्तो ब्याजदरमा कर्जा सुविधा पाउने भएका छन् ।
प्रदेश सरकारमार्फत् दुर्गममा बीमा पहुँच पुर्याउन बागमती सरकार तयार
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दुर्गम स्थानमा रहेका पालिकाहरूमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि र पहुँच विस्तारका लागि सहकार्य गर्न तयार रहेको बताएका छन् । नेपाल बीमा प्राधिकरणले आयोजनामा गरेको प्रदेश सरकार र बीमा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले यस्तो बताएका हुन् । मुख्यमन्त्री जम्कट्टेलले ग्रामीण क्षेत्रका नागरिकसम्म बीमाको पहुँच पुर्याउन र बीमा दाबी भुक्तानी प्रक्रियालाई सरल एवम् सहज बनाउन समेत प्राधिकरणको ध्यानाकर्षण गराए । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेश बीमा नीति निर्माणका साथै बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको बताए । अध्यक्ष सिलवालले प्रदेश सरकारले अनुदानको रकम घटाएर विपन्न बर्गको बीमा गर्नु उपयुक्त हुने सुझाव दिए । बीमाबाट विपन्न बर्गको आर्थिक रक्षावरण हुनुका साथै गरीबी न्यूनीकरणमा समेत योगदान पुग्ने उनको भनाइ छ । कार्यक्रममा सहभागीहरूले बीमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बीमाका बारेमा नागरिकलाई जानकारी दिई बीमा गर्न प्रेरित गर्नुपर्ने, प्रदेश सरकारले नै लोपोन्मुख जातिको बीमा गर्नु उचित हुने, बीमा दाबी भुक्तानी प्रक्रिया सरल एवम् सहज हुनुपर्ने, बीमा कम्पनी गाउँ–गाउँमा जानुपर्ने, बीमा कम्पनीले निर्जीवन बीमा खुशी भएर गर्ने तर बीमा दाबी दिँदा भने दुःख दिने प्रवृत्ति हटाउनुपर्ने, बीमा लेखलाई सरल र छोटो बनाउनुपर्ने लगायतका धारणा राखेका थिए ।
एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक, १ सय प्रतिशत क्यास ब्याक
काठमाडौं । एनएमबि बैंकले ‘एनएमबि बुद्ध भिसा डेबिट कार्ड’को शुभारम्भ गरेको छ । बैंकले बिहीबार एक कार्यक्रमको आयोजना गरी ‘एनएमबि बुद्ध भिसा डेबिट कार्ड’ सञ्चालनमा ल्याएको हो । हवाई सेवा कम्पनी बुद्ध एयरसँगको सहकार्यमा बैंकले सो कार्ड सञ्चालनमा ल्याएको जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुनिल केसी र बुद्ध एयरका अध्यक्ष विरेन्द्र बहादुर बस्नेतले संयुक्त रुपमा उक्त कार्डको उद्घाटन गरेका हुन् । पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले कार्ड सञ्चालनमा ल्याएको सीईओ केसीले बताए । उनका अनुसार यदि प्लेन छुट्यो भने अथवा ढिला हुने भयो भने कार्डहोल्डरहरुले निःशुल्क टिकट रद्द गर्न सक्ने व्यवस्था रहेको छ । साथै, एनएमबि बुद्ध भिसा डेबिट कार्ड’ बाहक ग्राहकहरुले बुद्ध एयरमार्फत् आन्तरिक यात्रा गर्दा थप ५ केजी थप सामान निःशूल्क लिन पाउने छन् । बैंकले लञ्च गरेको उक्त कार्ड जुनसुकै एटिएममा पनि निःशुल्क चलाउन पाउने छन् । हाल एनएमबि बैंकको कार्ड प्रयोग गरिरहेका ग्राहकहरुले पनि परिवर्तन गरी ‘एनएमबि बुद्ध भिसा डेबिट कार्ड’ लिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । को–ब्रान्डेड डेबिट कार्डबाहक ग्राहकहरुले काठमाडौं उपत्यकाभित्र रहेका बुद्ध एयरका काउन्टर एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १० प्रतिशत छुट पाउने छन् । एनएमबि बुद्ध भिसा डेबिट कार्ड प्रयोेग गर्ने ग्राहकहरुलाई शत प्रतिशत भाडा (१ सय प्रतिशत क्यास ब्याक) फिर्ता गर्नु कार्डको मुख्य विशेषता रहेको बैंकले जनाएको छ । बुद्ध एयरका अध्यक्ष बस्नेतले एनएमबी बैंकसँगको सहकार्य २६ वर्षअघिदेखी रहेको बताए । चाइनाबाट नेपालमा पैसा ट्रान्सफर गर्न वीच्याटको पनि सुविधा रहेको उनको भनाइ छ । एनएमबि बैंकसँगको सहकार्यले आन्तरिक पर्यटनमा वृद्धि हुने अपेक्षा रहेको उनले बताए । बैंकले हाल देशभरी २०१ शखा कार्यालय, १४६ एटिएम मेशिन र १२ एक्सटेन्सन काउन्टरमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।