दशैंका लागि सर्वसाधारणले साढे १८ हजार नयाँ नोट साट्न पाउने, संख्या घटाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपटकको दशैंमा नयाँ नोटको छपाइ संख्या घटाउने भएको छ । अघिल्ला वर्षहरुमा जस्तो नयाँ नोटको संख्या बजारमा धेरै नपठाउने तयारी राष्ट्र बैंकले गरिरहेको बताइएको छ । राष्ट्र बैंकको प्राथमिकता नगद कारोबार घटाउँदै वित्तीय क्षेत्रमा डिजिटल कारोबार बढाउने भएकाले यसपटक बजारमा नयाँ नोटको संख्या कम पठाउने तयारी गरेको हो । पछिल्लो समय डिजिटल कारोबार बढेसँगै नयाँ नोटको सख्या पनि बजारमा कम पठाउने तयारी रहेको राष्ट्र बैंकका सहप्रवक्ता डा.डिल्लीराम पोखरेलले बताए । हालसम्म दशैंका लागि नयाँ नोटको संख्या बजारमा कति पठाउने र कहिलेदेखि वितरण गर्ने भनेर निर्णय नभएको उनको भनाइ छ । गत वर्ष दशैं, तिहार लगायतका चाडपर्वमा झण्डै ५६ अर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही भएको थियो । तर, यसपटक भने सो आकारमा नयाँ नोट बजारमा नपठाउने उनले बताए । उनका अनुसार नयाँ नोटको संख्या बजारमा कम पठाएपनि प्रतिव्यक्ति भने साढे १८ हजार रुपैयाँ नै दिने तयारी रहेको छ । राष्ट्र बैंकका दुर्गम ठाउँ लगायतका स्थानमा रहेका नोट कोषमा नयाँ नोटको संख्या कति रहेको छ भनेर तथ्याङ्क निकाल्ने काम भइरहेको उनले बताए । सो तथ्याङ्क आइसकेपछि मात्रै राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट बजारमा पठाउने निर्णय गर्ने उनको भनाइ छ । ‘नोट कोषमा नयाँ नोटको संख्या कति रहेको छ भनेर तथ्याङ्क निकाल्ने काम भइरहेको छ, त्यसमा नयाँ नोट कति छन् भनेर भेरिफाइड भइरहेको छ, कति नयाँ नोट चाहिने हो भनेर नोट व्यवस्थापन विभागले निर्णय गर्छ, त्यसपछि नयाँ नोटका लागि सूचना आह्वान गर्छाैै,’ उनले भने । यसपटकको दशैंमा पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ नै बाँड्ने तयारी रहेको उनले बताए । डिजिटल कारोबार बढिसकेको हुँदा कूल रकम घट्न सक्ने उनको भनाइ छ । राष्ट्र बैंकले यसपटक पनि प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका नयाँ नोट उपलब्ध गराउने छ । गत वर्ष दशैं छिटै परेको हुँदा भदौ २९ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरूले नयाँ नोट सटही सुविधा प्रदान गरेका थिए ।

नेपाल लाइफले केन्द्रिय कार्यालयको लागि घरजग्गा किन्दै

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नै केन्द्रिय कार्यालय भवन निर्माण गर्ने भएको छ । काठमाडौंको लाजिम्पाट, बालुवाटार, पुतलीसडक, विशालनगर, कमलादी, कमलपोखरी, थापाथली, नयाँ बानेश्वर, पुरानो बानेश्वर, दरबारमार्ग, नक्साल, पाटन, गहनापोखरी, टंगाल, महाराजगंज, भाटभटेनी क्षेत्रमा घर तथा जग्गा खरिद गर्ने कम्पनीले जनाएको छ । नेपाल बीमा प्राधिकरणबाट जारी भएको निर्देशनको अधिनमा रही केन्द्रिय कार्यालयको लागि घरजग्गा खरिद गर्ने कम्पनीले जनाएको छ । घरजग्गा बिक्री गर्न इच्छुक व्यक्ति÷संघसंस्थाले २१ दिनभित्र केन्द्रिय कार्यालय कमलादी काठमाडौंमा आवेदन पेश गर्न आग्रह गरेको छ । उक्त घरजग्गा करिब ८ मिटरको मुल सडकसँग जोडिएको हुनु पर्नेछ ।

प्रभु इन्स्योरेन्सले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं । प्रभु इन्स्योरेन्स केही संख्यामा कर्मचारी मागेको छ । कम्पनीले विभिन्न प्रदेशका लागि कर्मचारी मागेको हो । कम्पनीका अनुसार बिरगंज शाखामा (प्रदेश अफिसर) एसिस्टेन्ट वा डेपुटी म्यानेजर तथा म्यानेजर पदका लागि एक जना र जुनियर अस्टिेन्ट वा सिनियर अफिसरका लासग केही संख्यामा कर्मचारी मागेको हो । त्यस्तै, कटारी शाखाका लागि (सब ब्रान्च अफिसर) जुनियर अफिसर एक जना र जुनियर वा सिनियर असिस्टेन्ट पदका लागि केही संख्यामा कर्मचारी मागेको हो । त्यस्तै, धरान शाखा, चपुर शाखा दमौली शाखा र जनकपुर शाखा कार्यालयका लागि पनि केही संख्यामा कर्मचारी मागेको हो । कम्पनीका अनुसार उक्त पदका लागि कम्तिमा पनि स्नताक तह शैक्षिक योग्यता हुनु पर्नेछ । इच्छुक ब्यक्तिले १५ दिनभित्र आवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ ।