नेपाल लाइफको ५ लाख २३ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरधनी प्रुडेन्सियल म्यानेजमेन्ट कम्पनीको नाममा रहेको ५ लाख २३ हजार ११२ कित्ता सेयर बिक्रीमा राखिएको हो । संस्थापक समूहको उक्त सेयरको मूल्य तोकिएको छैन । कम्पनीको सेयरमा संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन पेश गर्नु पर्नेछ । यदि सो अवधिमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले साढे ७ करोडको जग्गा बेच्दै, कुन ठाउँको कति ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको कबि साढे ७ करोड रुपैयाँ बराबरको गैर बैंकिङ्ग सम्पत्तिहरु जग्गा बिक्री गर्ने भएको हो । बैंकको शाखा कार्यालय अत्तरिया र गौरको नाममा रहेको ७ करोड ३५ लाख रुपैयाँको गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको हो । बैंकको अत्तरिया शाखा अन्तर्गत कैलालीका विभिन्न ठाउँको जग्गा बिक्रीमा राखेको हो । कैलालीको टिकापुर, चौमाला, भजनी, मसुरीया र हसुलिया लगायतका ठाउँमा रहेको ७ करोड १४ लाख ३६ हजार रुपैयाँ बराबरको जग्गा बिक्री गर्ने भएको हो । त्यस्तै, गौर शाखा अन्तर्गत गौर नगरपालिका वडानम्बर ३ र ८ का विभिन्न स्थानमा रहेको २० लाख ७० हजार रुपैयाँ बराबरको जग्गा बिक्री गर्ने बैंकले जनाएको छ । बैंकले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी १५ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।

नेशनल लाईफले ल्यायो स्मार्ट मोबाईल एप

काठमाडौं । नेशनल लाईफले स्मार्ट मोबाईल एपको शुरुवात गरेको छ । नेशनल लाईफ इन्स्योरेन्सले आफ्ना अभिकर्ता, ग्राहक हरुलाई सहज र सरल तरिकाले थप सेवा सुविधा उपलव्ध गराउने उदेश्यले स्मार्ट मोबाईल एपको शुरुवात गरेको छ । कम्पनीले काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रममा अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले कम्पनीको स्मार्ट मोवाइल एपको शुभारम्भ गरे । मोवाइल एपको शुभारम्भ गर्दै अध्यक्ष सिंहले कम्पनीले शुरु गरेको यस स्मार्ट मोवाईल एपबाट आफ्ना अभिकर्ता तथा बीमितहरुले घरबाटै आफ्नो बीमालेख सम्वन्धि सम्पुर्ण जानकारी प्राप्त गर्न सक्ने भएकोले कम्पनीको विश्वसनियतामा अझ वृद्धि हुने विचार व्यक्त गरे । यसै गरी प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ता सञ्जाललाई व्यवसायिक बनाउन थप लगानी गर्ने प्रतिवद्धत्ता अनुरुप कम्पनीले स्मार्ट मोवाईल एप लञ्च गरेको र यस एपको माध्यमबाट अभिकर्ता तथा ग्राहकहरुले डिजिटलाइजेसनको मार्फत छिटो छरितो कार्य सम्पादन गर्न सक्ने बताए । स्मार्ट एपको विशेषताका बारेमा कम्पनीका सहायक महाप्रवन्धक प्रज्वल सायमीले विस्तृत जानकारी गराउदै यस एपबाट अभिकर्ताले आफ्नो लगायत संजालको व्यवसाय साथै आफ्ना बीमितहरुको बीमालेख सम्वन्धमा आवाश्यक जानकारी प्राप्त गर्न सकिने र एप मार्फत नै आफ्ना बीमितहरुलाई सम्पर्क गरी बीमालेख व्यतित हुनबाट जोगाउन सक्ने व्यवस्था रहेका बारे जानकारी गराए । यसै गरी कम्पनीका बीमितहरुले एप मार्फत बीमाशुल्क नविकरणका सूचना प्राप्त गर्न सक्ने र एप मार्फत नै नविकरण बीमाशुल्क डिजिटल भुक्तानी गर्न सक्ने एवं सर्व साधारणहरुले पनि कम्पनीका बारेमा विविध महत्वपूर्ण सूचनाहरु प्राप्त गर्ने लगायतका धेरै विशेषताहरु एपमा रहेको जानकारी गराएका थिए ।