शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड बचत हुँदा चालु खाता कति ?
काठमाडौं । दुई महिनाको अवधिमा चालु खाता २३ अर्ब ५० करोड रुपैयाँ बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार दुई महिनाको अवधिमा चालु खाता साढे २३ अर्ब रुपैयाँ बचतमा रहेको बताएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३६ अर्ब ८४ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २८ करोड ९० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १७ करोड ७७ लाखले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । साथै, समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४१.७ प्रतिशतले कमी आई ८५ करोड ८ लाख रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्बले धनात्मक रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्व ४६ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाख रुपैयाँले ऋणात्मक रहेको थियो । यस्तै, समीक्षा अवधिमा शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोड रुपैयाँ घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १६ करोड ३४ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४० करोड ५६ लाखले बचतमा रहेको छ । यस्तै, गत असारसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३.९ प्रतिशत बढेर भदौसम्म १५ खर्ब ९८ अर्ब ९० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा भने २.६ प्रतिशत बढेर १२ अर्ब १ करोड पुगेको छ ।
आरविवि मर्चेन्टले १३.१६ प्रतिशत लाभांश दिने
काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको प्रस्तावित १३.१६ प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न बैंकको ८ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको आठौं वार्षिक साधारण सभा सोमबार सम्पन्न भयो । सञ्चालक समितिका अध्यक्ष देवेन्द्र रमण खनालको अध्यक्षतामा सम्पन्न साधारण सभाले आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु, आ.व. २०७९/०८० को नाफाबाट कम्पनीको चुक्ता पुँजीको १३.१६ प्रतिशत नगद लाभाशं (कर सहित) र आ.व. २०८०/८१ को बाह्रय लेखापरिक्षक नियुक्त गर्ने प्रस्तावहरु पारित गरेको छ ।
महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाल प्रहरीलाई सहयोग गरेको छ । महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउलाई सामाजिक जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर प्रदान गरिएको छ । बैंकको कार्यालय, दरबारमार्गले प्रहरी वृत्त मालीगाँउलाई चाडपर्वको समयमा हुनसक्ने अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न, सार्वजनिक सुरक्षा तथा अमनचयन कायम राख्न, सम्भावित अपराधको रोकथाम, तथा नियन्त्रण कार्यमा सहयोग पुर्याउने उद्देश्यले जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर हस्तान्तरण गरेको हो । यसबाट मालीगाँउ वडा क्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास बैैंकले लिएको छ । प्रहरी वृत्त मालीगाँउका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्र प्रसाद सुवेदी र सामुदायिक प्रहरी सेवाकेन्द्र, कालोपुलका बरिष्ठ प्रहरी नायब निरीक्षक बसन्त थापालाई बैैंकका निक्षेप बजारिकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । विगत देखि नै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहकको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।