कामना सेवाको वार्षिकोत्सवमा ट्राफिक सचेतना बोर्ड हस्तान्तरण
काठमाडौं । कामना सेवा विकास बैंकले स्थापनाको १७औं वर्षमा प्रवेशको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवालाई ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ । बुटवल-भैरहवा-सुनौली सडकखण्डका विभिन्न स्थानमा ती बोर्ड राखिने जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवाका प्रहरी निरीक्षक बजिरसिंह विष्टले जानकारी दिए । बैंकका सञ्चालक भीमप्रसाद तुलाचनको उपस्थितिमा सम्पन्न कार्यक्रममा बुटवल क्षेत्रका क्षेत्रीय प्रमुख खिमलाल भुसाललगायतका कर्मचारीको सहभागिता थियो । त्यस्तैगरी, बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरी कार्यालय वालिङलाई ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ । वालिङ क्षेत्रका विभिन्न स्थानमा ती बोर्ड राखिने बैंकले जनाएको छ । बैंकका पोखरा क्षेत्रका क्षेत्रीय प्रमुख विष्णुप्रसाद गौतमले ती बोर्ड ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरेका छन् । बैंकको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बुटवल हिलपार्कस्थित कामना सेवा पार्कमा सरसफाइ कार्यक्रम गरिएको छ । स्वच्छ वातावरण र हरियालीलाई संरक्षण गर्ने उद्देश्यले निर्माण गरिएको उक्त पार्कलाई कामना सेवा विकास बैंकले संरक्षण र प्रवर्धन गर्दै आएको छ । सरसफाइ कार्यक्रममा बुटवल क्षेत्रका कर्मचारीको उपस्थिति थियो । बैंकले १७औं वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी रुपमा १७ कार्यक्रम गरिरहेको छ । बैंकले शुक्रबारदेखि विभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ । कार्यक्रम बिहीबारसम्म हुने बैंकले जनाएको छ ।
सिद्धार्थ बैंकको लाभांश पाउन आजसम्म सेयरधनी बन्नु पर्ने
काठमाडौं । सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कात्तिक २१ गते एक दिनका लागि सेयर दाखिला खारेज (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले आज कात्तिक २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त तथा साधारणसभामा सहभागी हुन पाउने छन् । बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजीको ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले लाभांश वितरण प्रस्ताव पारित गर्न मङ्सिर ५ गते काठमाडौंको बालुवाटार स्थित आम्रपाली ब्यान्क्वेटमा बिहान १० बजे २२औँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ५ ठाउँमा घरजग्गा किन्दै
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले घरजग्गा तथा जग्गा खरिद गर्ने भएको छ । कम्पनीले कार्यालय प्रयोजनका लागि विभिन्न ७ स्थानमा घर तथा जग्गा खरिद गर्ने भएको हो । कम्पनीले विराटनगर महानगरपालिका, वीरगंज महानगरपालिका, बुटवल उपमहानगरपालिका, सिद्धार्थ नगरपालिका र नेपालगन्ज उपमहानगरपालि क्षेत्रभित्र घरजग्गा खरिद गर्ने जनाएको छ । कम्पनीका अनुसार डेढ कठ्ठा वा ५ हजार ४६७.५ वर्गफुटदेखि ३ कठ्ठा वा १० हजार ९३५ वर्गफुटसम्म भएको क्षेत्रफल भएको हुनु पर्नेछ । नेपाल बीमा प्राधिकरणबाट जारी निर्देशिका तथा शैद्धान्तिक स्वीकृतिको अधिनमा रही सो क्षेत्रमा घरजग्गा खरिद गर्न लागेको कम्पनीले बताएको छ । इच्छुक घरजग्गाधनीले २१ दिनभित्र बोलपत्र पेश गर्नु पर्ने कम्पनीले जनाएको छ ।